• Trending News

    राजदूत लक्की शेर्पाः सौभाग्यदेखि दुर्भाग्यसम्म !


    २० मंसिर, काठमाडौं । अष्ट्रेलियामा कार्यरत नेपाली राजदूतको नाम हो – लक्की शेर्पा । अंग्रेजीमा ‘लक्की’को अर्थ ‘भाग्यमानी’ हो । तर, राजदूत लक्कीका लागि अहिले दुर्भाग्यका दिन सुरु भएका छन् ।
    राजदूत लक्कीले विगतमा नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ ।
    यसैवीच परराष्ट्र मन्त्रालयले यो प्रकरणबारे अष्ट्रेलियास्थित नेपाली दूताबाससँग जवाफ माग्दै पत्राचार गरिसकेको छ ।
    अघिल्लो हप्ता एउटा टेलिभिजन कार्यक्रममा अस्ट्रेलियाबाट टेलिफोनमा प्रस्तुत भएका राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।
    आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै आफूलाई रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारी चालकले लगाएका छन् ।
    पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाइएको वाङछुले आरोप लगाएका छन् ।
    अष्ट्रेलिया पठाउने भन्दै पैसा उठाएर फिर्ता नगरेको आरोपमा हाल वाङछुकी श्रीमती काठमाडौंमा जेलमा छिन् । वाङछु भने अष्ट्रेलियाको नेपाली दूताबास छाडेर सिडनीमा बस्दै आएका छन् ।
    वाङछु शेर्पाले आफूलाई दुताबासभित्र श्रम शोषण भएको पनि आरोप लगाएका छन् । उनले आफू अस्ट्रेलियन सरकारको शरणमा गएको बताएका छन् । उनले आफ्नी श्रीमतीलाई नेपालमा रिहाइ गरिदिएर आफू सुरक्षित छु भन्ने प्रत्याभूति दिई आफूमार्फत् लिएको रकम फिर्ता गरेमा आफू स्वदेश र्फकन तयार रहेको पनि बताएका छन् ।
    सन् २०१७ को जून ९ तारेखमा लक्की शेर्पासँगै अर्दलीका रुपमा अष्ट्रेलिया आएका वाङछु शेर्पाले करिब ४ महिनासम्म दूताबासमा काम गरे । चार महिनापछि आफू असुरक्षित भएको भन्दै दूताबासबाट बाहिरिएका उनी एक वर्षदेखि अष्ट्रेलियामै शरण लिएर बस्दै आएका छन् ।
    उनीसँग जोडिएको आर्थिक लेनदेन लगायतको विषयमा अहिले नेपाल र अष्ट्रेलिया दुबैतर्फ मुद्दा चलिरहेको छ ।
    के भन्छन् वाङछु शेर्पा ?
    राजदूतका पूर्वसवारी चालक एवं दूताबासमा भान्छे काम गरेका वाङछु शेर्पाले अष्ट्रेलियाको एमएन टीभीलाई लामो अन्तरवार्ता दिएका छन् । सो अन्तरवार्तामा उल्लेख भएअनुसार वाङछुको भनाइको सार यस्तो छः
    मेरी श्रीमती अहिले काठमाडौंको सेन्ट्रल जेलमा छिन् । हप्तामा एकचोटि उनले मलाई फोन गर्छिन् । बैदेशिक रोजगारीको कागज गर्न लगाएर उनलाई त्यहाँसम्म पुर्‍याइएको छ । जेलभित्रको माहोल ठीक छैन । तीन हप्ताजति भो, श्रीमतीले मलाई फोनमा आत्महत्या गर्छु भनिन् । मैले लिएको पैसा फिर्ता गर्छु भनेर सही गरेपछि मेरी श्रीमती जेल परेकी हुन् ।
    सन् २०१६ तिर लक्की शेर्पाका श्रीमानसँग सोनामसँग मेरो चिनजान भएको हो । म साङदेन शेर्पाको घरमा रंग लगाउन गएको थिएँ । उनले हातमा सीप भएको मान्छे विदेशमा कमाउन जाँदा राम्रो हुन्छ, मेरो एकजना साथी छ अमेरिका पठाइदिन्छ भनेर उनीसँग चिनजान गराएका हुन् । उनले अमेरिका पठाएको २४ लाख लिन्छन् भने । मैले हुन्छ, अमेरिका जान्छु भनें । यसरी राजदूतका श्रीमानले अमेरिका पठाउने भनेपछि मेरो उनीसँग भेट भयो ।
    उहाँले राष्ट्र संघको कार्यक्रमका लागि मिलाएर जानुपर्छ भन्नुभएको थियो । तर, मेरो अमेरिकाको भिसा लागेन । रिजेक्ट भयो ।
    त्यसपछि सोनामले मेरी श्रीमती अष्ट्रेलियाको राजदूत हुँदैछ, तिमीले सँगै गयौ भने अष्ट्रेलियामा ४ वर्ष काम पाउँछौ, पछि १० लाख रुपैयाँ थप्नुपर्छ भने ।
    अमेरिकाको प्रोसेसिङका लागि मैले सुरुमा श्रीमतीको सुन बेचेर २ लाख ५० हजार दिएको थिएँ । सोनाममा भाइ निमा र दाबाले गौशालाको इन्भेस्टमेन बैंकबाट ११ लाख लगे । अहिले उसले तिनीहरु मेरा भाइ होइनन् भन्दैछन् ।
    मैले अहिलेसम्म लक्कीको परिवारलाई लगभग ३३ लाख बुझाएको छु । नयाँपाटीको जग्गामा करिब ११ रुपैयाँ बराबरको खर्च गरेर वाल लगाइदिएको छु । ७ लाख ५० हजार लक्कीकी आमाले लगेकी हुन् । ३३ लाखमध्ये बाँकी रकम लक्कीका श्रीमान सोनामले लगेका हुन् । मैले यो रकम आफन्त र विभिन्न व्यक्तिहरुबाट ऋण लिएर लक्कीको परिवारलाई बुझाएको हुँ ।
    लक्की शेर्पाको खण्डन
    वाङछु शेर्पाको गम्भीर आरोपको नेपाली दुताबास क्यानबेराले खण्डन गरेको छ । गत बर्ष नोबेम्बरमा दुताबासबाट बाहिरिएका चालक वाङछु शेर्पाले मूल्यवान गहना चोरेर भागेको प्रत्यारोप पनि दुताबासले लगाएको छ ।

    No comments

    Like Us