• Trending News

    नक्कली नेपाली रूपैयाँसहित ६ पक्राउ, पक्राउ परेका २ जना सेना र पूर्वप्रहरी


    प्रहरीले काठमाडौंको बल्खु र ललितपुरको सातदोबाटोबाट २१ हजार नक्कली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा धनुषाका धीरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरीका मनोज केसी, सोलुखुम्बुका भेषकुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझी छन्।
    शनिबार बल्खुस्थित कार्की फार्मेसीमा औषधी किन्न गएका धीरज र निगमले ५ सयका दुई वटा नोट दिएका थिए। फार्मेसी सञ्चालकलाई उक्त नोट नक्कली भएकाले शंका लागि नजिकै ड्यूटीमा रहेका प्रहरीलाई खबर गरे। प्रहरीले राई र ठकुरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थाल्यो।
    प्रहरीलाई उनीहरूले आफूले उक्त नोट गोदावरीका मनोज केसीबाट ल्याएको बयान दिए। केसी ललितपुरको सातदोबाटोमा मोटरसाइकल ग्यारेज चलाउने गरेका छन्। उनकै बयानका आधारमा प्रहरीले बाँकी ३ जनालाई समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
    पोखरेलका अनुसार पक्राउ परेकाको साथबाट पाँच सय र हजारका गरी २१ हजार नगद बरामद भएको छ। त्यसमा ३८ थान पाँच सयका नोट र बाँकी दुई थान हजारका नोट रहेको एसएसपी पोखरेलले जानकारी दिए।
    प्रहरीका अनुसार पक्राउ परेका भेषकुमार थापा नेपाली सेनाका जवान हुन्। नेमा तामाङ नेपाल प्रहरीका पूर्वजवान हुन्। तामाङ प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका चालकसमेत रहेको प्रहरीले जनाएको छ।
    उनीहरूकै लिङ्कमा अरू पनि नक्कली नोटका कारोबारी हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको एसएसपी पोखरेलले जानकारी दिए।
    setopati

    No comments

    Like Us