मध्यसहरमा आर्मी हेडक्वार्टर किन?
चोभारबाट पानी बगेपछि काठमाडौं खाल्डोमा जे रह्यो, त्यो होचा–अग्ला थुम्का उठेको फराक चउर थियो।
हाम्रा पुर्खा दूरदर्शी थिए। चउरमा खेती गरे, थुम्कामा बस्ती बसाए। जब बस्ती साँघुरियो, अर्को थुम्कातिर लम्के। चउर मासेनन्।
काठमाडौं सभ्यतासँग गाँसिएका चउर आज डोब मात्र बाँकी छन्। कति शासकले खाए, कति व्यापारिक स्वार्थमा विलिन भए।
हामी कुरा गर्दैछौं टुँडिखेलको, जुन सर्वसाधारणको सम्पत्ति भइकन सर्वसाधारणकै भोगचलनबाट खोसिएको छ।
पछिल्लो समय दुइटा मुद्दा बहसमा छन् — रानीपोखरीलाई मल्लकालीन स्वरुपमा फर्काउने र सार्वजनिक स्थलहरू जोगाएर धूलोधुवाँले आक्रान्त काठमाडौंलाई सास फेर्न खुला ठाउँ दिने।
टुँडिखेलसँग यी दुवै मुद्दा जोडिन्छन्।
पहिलो, मल्लकालीन स्वरूपमा फर्काउन रानीपोखरी जिर्णोद्धार गरेर पुग्दैन। यो टुँडिखेल मैदानको सानो हिस्सा मात्र हो।
सन् १८५० दशकमा प्रकाशित ‘स्केचेज अफ नेपाल’ किताबअनुसार टुँडिखेल उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको थियो। लेखक हेनरी एम्ब्रोस ओल्डफिल्डले यसलाई ‘एसियाकै ठूलो परेड मैदान’ भनेका छन्।
दोस्रो, काठमाडौंमा मान्छे र धूलोधुवाँ सराबरी छ। सहर स्वस्थ राख्न खुला ठाउँको दरकार पर्छ। टुँडिखेलले यसमा भरथेग गर्न सक्छ।
रानीपोखरीदेखि रंगशालासम्म बनेका संरचना भत्काएर मल्लकालीन चउर ब्युँताउन सकिन्छ। आधाभन्दा बढी हिस्सा मिचेको सैनिक ‘हेडक्वार्टर’ देखि सैनिक मञ्च र बसपार्कसम्म यसमा पर्छन्।
यति ठूलो चउरमा वारिदेखि पारिसम्म झ्याम्म रूखविरुवा रोपेर सहरी पार्क बनाउने हो भने काठमाडौं उकुसमुकुस गुम्सिने छैन। सहरलाई पुग्ने अक्सिजन टुँडिखेलले प्रवाह गर्नेछ।
यो लेखमा हामी मुख्यगरी तीन विषयमा चर्चा गर्नेछौं।
टुँडिखेल कसरी बन्यो?
टुँडिखेल कसरी मासियो?
र, के यसलाई पुरानै स्वरुपमा फर्काउन सम्भव छ?
सुरु गरौं, मध्यसहरमा यति ठूलो चउर कसरी बन्यो?
‘टुँडिखेल काठमाडौंको आँगन हो,’ सम्पदाविद् प्राध्यापक सुदर्शनराज तिवारी भन्छन्, ‘दुई हजार वर्ष पुरानो प्राचीन सभ्यताको हिस्सा।’
उनका अनुसार किराँतकालमा सहरी योजना तीन घेराको थियो। पहिलो घेरामा पर्थ्यो, डाँडामाथिको झुरुप्प बस्ती। दोस्रो घेरामा बेसीको उर्वर भूमि, जहाँ बाह्रै महिना खेती हुन्थ्यो। त्योभन्दा पर, तेस्रो घेरामा थियो– नदी, वनजस्ता प्राकृतिक स्रोत।
किराँतकालीन सहरी योजनाको झलक आज पनि देखिन्छ। काठमाडौं होस्, ललितपुर वा भक्तपुर होस्, चाहे कीर्तिपुर वा साँखु– सबै पुराना बस्ती डाँडाका थुम्कामा छन्। आज पनि यी थुम्कालाई बागमती, टुकुचा, नख्खु, कोड्कूजस्ता नागबेली नदीले घेरेको हामी देख्छौं।
यो संरचनामा टुँडिखेल कहाँ पर्छ त?
सर्सती आँखा दौडाउने हो भने उपत्यकाका पुराना बस्तीको बाहिरी घेरामा हामी चउर देख्छौं। पाटनको लगनखेल र जावलाखेल, भक्तपुरको सैनिक स्कुल मैदान, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय मैदान र काठमाडौंको टुँडिखेल।
यी तत्कालीन समयका चरणक्षेत्र हुन्। समयक्रममा मिचिए। मिचिएका सबै चउर पुरानै स्वरुपमा फर्काउन सम्भव छैन। ठूलै संरचना भत्काउनुपर्छ। टुँडिखेल तैबिसेक जोगिएको छ। जनतालाई एकरत्ति मर्का नपारी सार्वजनिक पार्क बनाउन सकिन्छ।
किराँतकालका यी चरणक्षेत्रले लिच्छवि हुँदै मल्लकालसम्म आइपुग्दा परिस्कृत रूप लिए।
‘मल्ल शासकहरू सहरी आर्किटेक्चरमा सार्वजनिक स्थानलाई महत्व दिन्थे,’ इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन तिवारीले भने, ‘घनाबस्तीमा खुला ठाउँ नभई हुँदैन भन्ने बुझेका थिए। तह–तहका खुला ठाउँ छाड्ने चलन थियो, जहाँ झुरुप्प सहरले सास फेर्न पाउँथ्यो।’
दरबार क्षेत्रको खुला ठाउँ सहरकै ठूलो सार्वजनिक स्थानमा पर्छ। जस्तो, वसन्तपुर दरबार स्क्वायर। भित्री सहरका सबैजसो साना–ठूला सडकको मोहडा यहाँ खुल्छ। मुख्य जात्राहरू वसन्तपुर डबलीमै हुन्छन्।
दरबार स्क्वायरपछि इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोक पर्छन्। यी मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्। त्यसपछि आउँछन् बहाल, जहाँ सामाजिक जमघट हुन्छ।
सहरभित्रका यी खुला स्थान कति मिचिए, कति जस्ताका तस्तै छन्। कति ठाउँमा सवारी पार्क बनाएर विरुप पारिएको छ।
सहर किनारका खुला चउर जलवायु र पर्यावरण दृष्टिले महत्वपूर्ण थिए। मल्लहरूले सहरमा पानी आपूर्ति गर्न चउरमा पोखरी बनाए। जावलाखेल पोखरीको अवशेष चिडियाखानामा बाँकी छ। लगनखेल पोखरी सैनिक तालिम केन्द्रले मास्यो। भक्तपुरको सिद्धपोखरी पुरानै अवस्थामा छ। काठमाडौं टुँडिखेलमा रानीपोखरी छँदैछ। दशरथ रंगशाला भएको ठाउँमा पनि दुइटा साना पोखरी थिए।
यी पोखरीमा पानी भर्न राजकुलो बनाइएको थियो। काठमाडौंका लागि बुढानिलकण्ठ, भक्तपुरलाई बागेश्वरी र पाटनमा टीकाभैरवदेखि पानी ल्याएर पोखरी भरिन्थ्यो। भरिएपछि सहरभित्रका ढुंगेधारा र इनार रसाउँथे। खानेपानी अभाव हुन्थेन।
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार खुला चउरले जमिनमा पानीको सतह कायम राख्छ।
‘खुला ठाउँमा बर्खाको पानी सिञ्चित हुन्छ। जति सिञ्चित भयो, जमिन उति ‘रिचार्ज’ हुन्छ। इनार र ढुंगेधारा रसाउँछन्,’ काठमाडौं संस्कृतिमा दख्खल राख्ने श्रेष्ठले भने, ‘चउरले सहरमा ‘एयरकन्डिसन’ को काम गर्छ। हावाले खेल्ने ठाउँ पाउँछ। पोखरी र हरियोपरियो चउरले नै त्यतिबेला यहाँको मौसम अहिलेभन्दा चिसो भएको हुनसक्छ।’
यसरी पर्यावरण र जलवायुसँग जोडिएको टुँडिखेलले लामो समय काठमाडौंलाई अक्सिजन छर्ने काम गरिरह्यो।
कुनै पनि ठाउँ वा स्मारक जोगाउनुछ भने त्यसलाई किम्बदन्तीले उनिन्छ। किम्बदन्तीमा जात्रा चल्छ। जात्रा सुरु भएपछि त्यही किम्बदन्ती संस्कृतिको हिस्सा बन्छ। संस्कृति मास्न सजिलो हुन्न।
टुँडिखेल पनि कथा र किम्बदन्तीले धनी छ। अरू ठाउँको किम्बदन्ती प्रायः देउतासँग जोडिएको हुन्छ, टुँडिखेलको राक्षससँग जोडिएको छ।
भद्रकाली मन्दिरनिर खरीको बोट छ। त्यो ‘गुरुमापा’ राक्षसको घर हो भन्ने स्थानीय कथन छ।
किम्बदन्तीअनुसार गुरुमापाले काठमाडौंका जनतालाई दुःख दिएछन्। भुराभुरी टपक्क टिपेर आहारा बनाउँदा रहेछन्। त्रसित जनताले उपाय झिके। गुरुमापालाई टुँडिखेलको खरीबोटमुनि बसोबासको चाँजो मिलाए। वर्षको एकचोटि सिंगो राँगोको मासु र दस पाथी चामलको भात खुवाउन थाले।
रैथाने बूढापाका अझै पनि टुँडिखेललाई ‘राक्षसको चउर’ मान्छन्। र, ‘तिनिख्य’ भन्छन्।
‘त्यो रुखको फेदमा दुइटा इँटा जोडेर राखे गुरुमापा राक्षसले छुट्टयाइदिन्छ भनिन्थ्यो,’ ८० वर्ष नाघेका तीर्थबहादुरले टुँडिखेल किम्बदन्तीसँग जोडिएको अनुभव सुनाए, ‘हामी खेल्न जाँदा इँटा जोडेर आउँथ्यौं। भोलिपल्ट छुट्टिएको हुन्थ्यो।’
‘अहिले पनि काठमाडौंमा गुरुमापाको नाम लिएर केटाकेटी तर्साइन्छ। भात खान आनाकानी गरे ‘गुरुमापा वल (आयो)’ भन्दै डर देखाइन्छ। गुरुमापा खुसी पार्न फागू पूर्णिमाको दिन राँगो र भात खुवाउने चलन छँदैछ,’ उनले भने।
टुँडिखेलसँग टुँडिल देवीको किम्बदन्ती पनि जोडिएको छ।
कुनै समय यहाँ टुँडिल देवीको बासस्थान थियो रे। स्थानीयले ‘टुँडी ख्य’ भन्न थाले। नाउँ अपभ्रंश हुँदै टुँडिखेल रहन गएको जनविश्वास छ। नेवारी भाषामा ‘ख्य’ भनेको ‘चउर’ हो।
यो त भयो टुँडिखेल बनेको कुरा। अब चर्चा गरौं, मध्यसहरको यो चउर कसरी मासियो?
शासकका आँखा परेपछि देउता र राक्षसको बल पनि फिक्का हुँदो रहेछ। गुरुमापाको डर र टुँडिल देवीको प्रतापले पनि दुई हजार वर्ष पुरानो टुँडिखेल जोगाउन सकेन।
कालान्तरमा यो सेनाको शक्ति प्रदर्शन गर्ने मुकाम बन्यो।
काठमाडौंमा जन्मे–हुर्केका तीर्थबहादुर अतिक्रमणमा पर्नुअघिको टुँडिखेल देख्ने सायद अन्तिम पुस्ताका हुन्।
वीर अस्पतालबाट बीस कदम दुरीको महाबौद्ध चैत्यनिर उनको पुर्ख्यौली घर थियो। प्रत्येक बिहान आँखा मिच्दै निद्राबाट ब्युँझदा झ्यालबाहिर टुँडिखेल देख्थे। त्यो उनको आँगनजस्तै थियो, जहाँ उनी हरेक साँझ तेलकासा, छोइडुम खेल्न जान्थे।
‘टुँडिखेलका सबै ठाउँ हामीलाई आफ्नैजस्तो लाग्थ्यो,’ उनले सम्झे, ‘चउर बीचको खरीबोट जान भने डराउँथ्यौं।’
खेल्दाखेल्दै बालमस्त गोडा जब बोटछेउ पुग्थे, अनुहारमा सनसनी दौडिन्थ्यो। गोडाले निषेधित क्षेत्र नाघेको भान हुन्थ्यो। उनले त्यसको इतिहास सुनेका थिए। केही दृश्य पछि आफैंले देखे।
त्यो टुँडिखेलमा सेना प्रवेशको इतिहास थियो।
सुरुआत भिमसेन थापाले गरे, सन् १८१३ मा।
उनले लगन टोलमा दरबार बनाए। सेना सहर नजिक आयो। टुँडिखेलको पूर्वी किनारमा हातहतियार राख्ने कोतघर बन्यो। न्युरोड गेटदेखि सुन्धारासम्म तन्किएको एकतले कोतघर तीर्थबहादुरको बाल्यकालसम्मै थियो।
‘हामी केटाकेटी हुँदा सिपाहीहरू कोतघर गएर आफ्नो नम्बरअनुसार हतियार लिन्थे र ड्युटीमा खटिन्थे,’ उनले भने।
जंगबहादुर राणा शक्तिमा आएपछि सेनाको अतिक्रमण बढ्यो।
त्यसअघि सैनिक परेड छाउनी मैदानमा हुन्थ्यो। जंगबहादुरले टुँडिखेल सारे। घोडेजात्राका दिन टुँडिखेलमा सेनाको तामझाम देखाउने चलन सुरु गराए। नभए यो चाडको साँस्कृतिक महत्व देखिन्न। बरु अघिल्लो दिन काठमाडौंका नेवार परम्परागत पाँहाचरे पर्व मनाउँछन्। यस दिन असन, इन्द्रचोक, महाबौद्ध, नरदेवी लगायत भित्री सहरमा जात्रा हुन्छ। इन्द्रजात्राजस्तै देवी–देवतालाई खटमा राखेर जुधाइन्छ।
‘स्थानीयका घरमा डेरा बस्ने सिपाहीहरूले यही जात्राको देखासिकी टुँडिखेलमा घोडा कुदाएका हुनसक्छन्,’ श्रेष्ठले भने, ‘बेलायतबाट फर्केका जंगबहादुरलाई सैनिक परेड गराएर शक्ति देखाउने हुटहुटी जाग्यो। उनले घोडेजात्राको दिन छानेर सैनिक उत्सव सुरु गराए। त्यसपछि बल्ल घोडेजात्राले महत्व पायो।’
त्यो दिन टुँडिखेलको वल्लोबाट पल्लो किनारसम्म घोडा र साइकल दौडाइन्थ्यो। पछि साइकल कुदाउन बन्द भयो। घोडाका नाममा सेनाले तामझाम देखाउने क्रम चलिरह्यो।
जंगबहादुरले शाही घोषणा र दरबारका महत्वपूर्ण निर्णय टुँडिखेलबाट सार्वजनिक गर्ने थिति बसाले। निर्णय सार्वजनिक गर्दा खरीबोटको चौतारी वरिपरि सेनाले पहरा दिन्थ्यो। राणा प्रधानमन्त्री चौतारीमा उभिन्थे, जहाँ अगाडि पर्न बालखा तीर्थबहादुर र उनका साथीहरूका गोडा काम्थे।
जंगबहादुरले यही ठाउँमा उभिएर सन् १८४८ मा तत्कालीन राजा राजेन्द्र शाहविरुद्ध सेना एकत्रित गरे। वीरशमशेरले सन् १८८५ मा आफूलाई श्री ३ घोषणा गरे। सन् १९२४ मा चन्द्रशमशेरबाट दासप्रथा उन्मूलनको शाही घोषणा जारी भयो। सन् १९४५ मा दोस्रो विश्वयुद्ध लडेर फर्केका नेपाली सिपाहीको सम्मान गरियो।
विदेशी पाहुना आउँदा स्वागत गर्ने ठाउँ पनि टुँडिखेल थियो। सन् १९५१ मा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु आउँदा उनको स्वागत यहीँ गरियो।
‘त्यो खरीबोटमा राणाहरू मात्र उक्लिन पाउँथे रे। उनीहरू यहीँ उभिएर शाही घोषणा जारी गर्थे। झ्याली पिटेर दरबारी निर्णय सुनाउँथे। सत्ता ‘कू’ हुँदा जनताले थाहा पाउने ठाउँ यही थियो,’ उनले भने, ‘जनताको एक मात्र सूचना केन्द्र।’
‘टुँडिखेलमा सैन्य गतिविधि गरेर राणा शासकहरू जनतामा त्रास जमाउन चाहन्थे। त्यही त्रासमा उनीहरूको सत्ता टिकेको थियो,’ श्रेष्ठले भने।
टुँडिखेलका चार कुनामा जंगबहादुर, रणोद्दिप सिंह, चन्द्रशमशेर, वीरशमशेर लगायत राणा प्रधानमन्त्रीहरूको घोडसवार सालिक शक्ति प्रदर्शनकै रूप हो।
तोप पड्काउने चलन पनि शक्ति प्रदर्शनसँग जोडिन्छ। देवशमशेरको पालादेखि टुँडिखेलमा तोप पड्काउन थालिएको हो। यसको उद्देश्य काठमाडौंका जनतालाई समय जनाउ दिनु थियो। यसले राणा शासनको त्रासदी झल्काउँथ्यो। घन्टाघर बनेपछि तोप पड्काइरहन जरुरी थिएन। तै सैन्य गर्जन रोकिएन।
तीर्थबहादुरलाई सम्झना भएसम्म सेनाले तोप घिसारेर रंगशाला भएको ठाउँमाथि ढिस्कोसम्म ल्याउँथे। ‘भद्रकालीनिर एउटा सिपाही बस्थ्यो, अर्को प्रदर्शनीमार्गनिर बस्थ्यो,’ उनले भने, ‘ती सिपाहीले पालैपालो ह्याट फुकालेर इसारा गरेपछि तोप पड्काइन्थ्यो।’
शक्ति प्रदर्शन केन्द्र बनेपछि टुँडिखेल सम्याउने काम पनि भयो। सैनिक परेड खेलाउन समथर मैदान चाहिन्थ्यो। उतिबेला चउर प्राकृतिक अवस्थामा थियो। राणाहरूले जनता परिचालन गरेर टुँडिखेल सम्याउन लगाएको इतिहास छ। उनीहरूले त्रिपुरेश्वर खाल्डोका दुइटा पोखरीसम्मै सम्याउन आँटेका थिए। सकेनन्। यो खाल्डोको भागलाई ‘सानो टुँडिखेल’ भनिन्थ्यो।
राणा शासन अन्त्यपछि तिनै पोखरी पुरेर दशरथ रंगशाला बनाइयो। काँडेतार लगाएर सर्वसाधारणको खुला प्रवेश निषेध गरियो।
पोखरी मासियो। टुँडिखेलको दक्षिणी हिस्सा खोसियो। बीचको ठूलो भागमा सैनिक परेडले जनताको प्रवेशमा आंशिक रोक लाग्यो। किराँतकालीन चरणक्षेत्रको पर्यावरणीय महत्व देखेर मल्ल राजाहरूले स्याहारेका थिए। शाह शासनमा संहार सुरु भयो।
पञ्चायतको छत्रछायाँमा अतिक्रमणले संस्थागत रूप लियो।
खरीबोट भत्कियो। सेनाको बलमा ‘कू’ गरेका राजा महेन्द्रले टुँडिखेलको सैनिक परेड बन्द गराए। खरीबोटको शाही घोषणा र पाहुना स्वागत पनि बन्द भयो। यसको अर्थ टुँडिखेलमा सर्वसाधारणले निर्वाध प्रवेश पाएका होइनन्। बरु निषेध अझ कडा पारियो।
सैनिक उत्सव मनाउन र विदेशी पाहुना स्वागत गर्न खरीबोट भएकै ठाउँमा ‘सैनिक मञ्च’ बन्यो। टुँडिखेल बीचको हिस्सा सेनाले खर्लप्पै खायो। काँडेतार लगाएर जनतालाई छिर्न दिइएन।
यता तोप पड्काउने ठाउँमा महेन्द्रकै पालामा सैनिक हेडक्वार्टर बन्यो। हेडक्वार्टर बनेपछि सहिदगेटको दक्षिण खण्डमा तारबार लगाइयो। त्यहाँ जनता छिर्न पाउँदैनन्।
रानीपोखरी डिलनिर पहिले ‘बाटुले चौतारो’ थियो। प्रशासनिक र व्यापारिक काम लिएर काठमाडौं आउनेहरू सहर छिर्नुअघि यहीँ बास बस्थे। रानी रत्नराज्यलक्ष्मी खुसी पार्न चौतारो मासेर उनकै नाउँमा रत्नपार्क बनाइयो। अहिले यहाँ पैसा तिरेर छिर्न पाइन्छ। लामो समय पर्खालबाहिरबाटै चित्त बुझाउनुपर्थ्यो।
ग्रामीण पाहुनालाई बास दिन विद्युत प्राधिकरण भएको ठाउँनिर टहरा बनाइएको तीर्थबहादुर सम्झन्छन्। ‘त्यही टहरा पनि बास बस्नेहरूले फोहोर गरेको भन्दै सरकारले कब्जामा लियो,’ उनले भने, ‘अहिले त्यहाँ पेट्रोल पम्प, आकासे पुलजस्ता संरचना छन्।’
चौतारी भत्काएपछि नजिकैका महादेव मूर्ति र राजा प्रताप मल्ल हात्तीमा चढेको शालिक रानीपोखरीभित्र सारियो।
रानीपोखरी खुम्चियो। टुँडिखेलको पुरानो स्वरुप पनि मासियो।
अतिक्रमण रोकिएको छैन। देशमा गणतन्त्र छ, तै टुँडिखेलको लगभग आधा हिस्सामा सैनिक शासन चल्छ।
यहाँ सेनाको हेडक्वार्टर छ। खेल मैदान छ। त्यतिले नपुगेर सेनाले मनोरञ्जन निम्ति ‘आर्मी अफिसर्स क्लब’ बनाएका छन्। त्यसैलाई भाडामा लगाएर कमाइ गर्छन्। सयौंलाई भोज खुवाउन मिल्ने दुइटा पार्टी प्यालेस छन्। बिहे सिजनमा खाली हुँदैन। उच्च अधिकारीको ‘सोर्सफोर्स’ लगाएर पहिल्यै बुकिङ गर्नुपर्छ। आफ्नो पूर्वाधार क्षमताभन्दा बढी विद्यार्थी भर्ना गरेका स्कुलले अभिभावक दिवसको तामझाम यहीँ देखाउँछन्।
पछिल्लो समय चाइना टाउनअगाडि पुस्तकालय बनाइएको छ। सार्वजनिक जग्गाको यो पुस्तकालय सार्वजनिक प्रयोग निम्ति होइन।
हेडक्वार्टरभित्र व्यावसायिक पार्टी प्यालेस चलाउने सेनाले भद्रकालीबाट माइतीघर छिर्ने जनताको बाटो भने सुरक्षा कारण देखाउँदै बन्द गरेका छन्। माओवादी द्वन्द्व क्रममा बन्द बाटो अहिले पनि सेनाकै अधीनस्थ छ। जनदबाबपछि नजिकै दूरसञ्चार छेउबाट ‘बाइपास’ सडक भने खोलिएको छ।
टुँडिखेल मिच्नेमा सेना मात्र छैन।
रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्च अब आफ्नो नामअनुसार खुला रहेन। केही वर्षअघिसम्म यहाँ राजनीतिक दलका आमसभा हुन्थे। कार्यक्रम नहुँदा सर्वसाधारण सुस्ताउन आइपुग्थे। पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको यो चउर आफैं अतिक्रमणको शिकार छ।
दुई वर्षअघि काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दियो। निर्माण कम्पनीले धमाधम टावर ठड्याउँदैछ। सम्झौताअनुसार उसले ३० वर्ष यो ठाउँ भोगचलन गर्नेछ। जबकि, भोगचलनका हकदार सर्वसाधारण थिए। त्यसयता खुलामञ्चको चउर पार्किङ स्थल बनेको छ। यहाँ राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ। वीर अस्पतालको भण्डारण टहरा यहीँ बनाइएको छ।
टुँडिखेलबारे लेखेका बेलायती चिकित्सक हेनरी एम्ब्रोसले यो चउर करिब पाँच किलोमिटर लामो र तीन सय मिटर चौडा फैलिएको भनेका छन्। उत्तरपट्टि लश्करै रत्नपार्क, बसपार्क र सैनिक मञ्च तथा दक्षिणमा सैनिक हेडक्वार्टरले लगभग तीनचौथाइ खाइदिएपछि अब बीचको एकचौथाइ बाँकी छ।
सार्वजनिक प्रयोगमा आउने हिस्सा यत्ति हो। यत्ति भागमा जे–जस्ता सार्वजनिक गतिविधि हुन्छन्, त्यसले काठमाडौंमा खुला ठाउँको दरकार प्रस्ट गर्छ।
यहाँ मान्छे ‘मर्निङ वाक’ गर्न आउँछन्। युवा तथा केटाकेटी फुटबल र क्रिकेट खेल्छन्। साँस्कृतिक झाँकी प्रदर्शन हुन्छ। सांगीतिक कार्यक्रम हुन्छ। योग हुन्छ। महोत्सव हुन्छ। विदा बेला खुला स्थान खोज्दै आउनेको घुइँचै लाग्छ।
खुला ठाउँ यति अभाव छ, बन्दको दिन केटाकेटी सडकलाई नै आफ्नो आँगन बनाउँछन्। त्यहीँ क्रिकेट, ब्याडमिन्टन र फुटबल खेल्छन्। सार्वजनिक विदाको दिन सडक होलो हुँदा चोक–चोकमा मान्छे भेला भएर गफिएको हामीले देखेकै छौं।
यति महत्वको सार्वजनिक स्थान शासकहरूले शक्ति प्रदर्शनकै निम्ति मिचेका हुन् त? कि राजनीतिक कारण पनि छ?
काठमाडौंमा सधैं बाहिरबाट आएका शासकले राज गरे। मल्लकालसम्म जो–जो आए उनीहरूले काठमाडौं संस्कृति आत्मसात् गरे। काठमाडौंकै रैथाने भएर शासन गरे। यसले काठमाडौं सभ्यता मासिन पाएन।
शाहवंशले यो परम्परालाई निरन्तरता दिएन।
‘पृथ्वीनारायण शाहले काठमाडौं सभ्यता स्वीकारेनन्, आफ्नै गोरखा परम्परा लादे। उनले यहाँको संस्कृति आफ्नो ठानेनन्। राजा र रैतीको दुईखाले संस्कृति बन्यो,’ सहरी योजनाविद् पद्मसुन्दर जोशीले भने, ‘त्योभन्दा बढी त राणाहरूले बिगारे। उनीहरूले सार्वजनिक स्थान र कृषि जमिन मासेर दरबार बनाए।’
सिंहदरबार एउटै क्षेत्रभित्र पुरानो ठिमीको पूरै बस्ती अटाउँछ। यति ठूलो क्षेत्रफल चन्द्रशमशेरले आफ्नै निम्ति ओगटे।
२००७ सालपछि स्थिति झनै बिग्रियो। काठमाडौं सभ्यताको ज्ञान र विवेकले राज्यको महत्व पाएन। व्यापारिक स्वार्थमा चम्केका ‘लोभीपापी’ आँखा सार्वजनिक स्थानतिर सोझिए।
यसैको सिकार भयो, टुँडिखेल र काठमाडौंका अन्य थुप्रै सार्वजनिक स्थल।
‘काठमाडौंका जनताले आफ्नो संस्कृति र सभ्यतामाथिको अतिक्रमण टुलुटुलु हेरेर बस्नुको विकल्प थिएन। बन्द राजनीतिमा जनताले ‘संस्कृति किन मासिस्’ भनेर आवाज उठाउन सकेनन्,’ जोशीले भने, ‘आज लोकतन्त्र छ, गणतन्त्र आइसक्यो। अहिले पनि नबोले कहिले बोल्ने?’
सार्वजनिक र सरकारी जग्गाबीच भेद नबुझ्दा पनि यस्तो अतिक्रमण बढेको उनको ठहर छ।
सार्वजनिक जग्गा भनेको सरकारी होइन। सर्वसाधारणको हो। सिंहदरबार सरकारी स्वामित्वको हो। टुँडिखेल होइन। सरकारको काम सार्वजनिक जग्गा संरक्षण गर्ने हो। हामीकहाँ उल्टै सरकारले आफ्नैजस्तो ठानेर कुनै सेनालाई दियो, कुनै व्यापारीलाई सुम्प्यो।
‘जनताले भोगचलन गर्नुपर्ने सार्वजनिक जग्गा मन्त्रिपरिषदबाटै निर्णय गराएर दान दिइन्छ। टुँडिखेलमा त्यही भएको हो,’ जोशीले भने।
अब प्रश्न उठ्छ, हामीलाई मध्यसहरमा सैनिक हेडक्वार्टर चाहिएको छ कि खुला पार्क?
दुई हजार वर्ष पुरानो सार्वजनिक स्थान तारबार लगाएर सेनालाई तामझाम गर्न दिने कि जनतालाई सास फेर्न?
काठमाडौंलाई व्यापारिक टावर चाहिएको छ कि हाम्रा केटाकेटीलाई खेल्ने चउर?
त्यो चउर रत्नपार्कजस्तो पैसा तिरेर छिर्नुपर्ने बनाउने कि निःशुल्क?
मध्यसहरमा बसपार्क राखेर प्रदूषित बनाउने कि हरियो पार्क बनाएर सहरको धूलो सोस्ने?
विकासको नाममा सहर बाँच्नै नसक्ने गरी बर्बाद पार्ने कि फराक चउरको महत्व बुझेको काठमाडौं सभ्यता ब्युँताउने?
टुँडिखेल कसरी बन्यो र कसरी मासियो भन्ने पढेपछि माथिका यी छ प्रश्न मनन् गरौं।
सैनिक हेडक्वार्टर नै चाहिएको हो भने ठिक छ।
व्यापारिक टावर नै चाहिएको हो भने ठिक छ।
सहर बाँच्नै नसक्ने गरी प्रदूषित बनाउने हो भने पनि ठिक छ।
होइन, सबैभन्दा जरुरी खुला स्थान हो भने अर्को प्रश्न मनन् गरौं, के यो सम्भव छ?
हामीले सहरी योजनाविद् माधवभक्त माथेमासँग कुरा गर्यौं।
काठमाडौं जीवित राख्ने हो भने उनी यो आवश्यक बताउँछन्।
‘टुँडिखेल जनताको सम्पत्ति हो। सेनाले मिचेर हेडक्वार्टर बनाए। महानगरले बसपार्क बनायो। दुवै संरचना अन्यत्र सारेर टुँडिखेललाई पुरानै स्वरुपमा फर्काउन सकिन्छ,’ लामो समय सरकारी सेवामा रहेका माथेमाले भने, ‘हराभरा टुँडिखेलले काठमाडौंको रूपै फेर्नेछ।’
‘आज हाम्रा नेता रेल ल्याउने कुरा गर्छन्। ल्याउन सकिएला, खुला ठाउँ एकचोटि मासिएपछि फेरि फर्काउन सकिन्न। अहिल्यै जोगाएर नराखे भोलि रेल त आउला, त्योसँगै ओइरिने मान्छेलाई सास फेर्ने खुला ठाउँ हुँदैन,’ उनले भने।
माथेमा सुर्खेत सहरका योजनाकारमध्ये एक हुन्। व्यवस्थित सहरी विकासको अन्तर्राष्ट्रिय अनुभव पनि छ।
उनले टुँडिखेल विस्तारको खाका बताए।
रत्नपार्क र सहिदगेटको सडकले टुँडिखेललाई तीन भागमा बाँडेको छ। रानीपोखरीदेखि रंगशाला जोड्न दुवै सडक व्यवस्थापन गर्नुपर्छ।
दुइटा विकल्प छन्।
पहिलो, दुवै ठाउँमा सडक ‘अन्डरग्राउन्ड’ लग्न सकिन्छ। भूमिगत मार्ग हुँदै भोटाहिटीबाट बागबजार र सुन्धाराबाट सिंहदरबार जोड्ने हो भने टुँडिखेलको स्वरुप बिग्रन्न।
दोस्रो विकल्प, दुवै सडक जस्ताको तस्तै राखेर आकासे पुलले टुँडिखेल जोड्न सकिन्छ। त्यो आकासे पुलमा अपांगता भएकाले सहजै वारपार गर्न सक्नुपर्छ। वृद्धवृद्धा, केटाकेटी र गर्भवती निम्ति अनुकूल हुनुपर्छ। साइकल यात्रुसमेत मूलसडक छिर्दै नछिरी एउटा खण्डबाट अर्कोमा पुग्न सक्नुपर्छ।
‘विदेशमा यी दुवै विकल्प बराबरी प्रयोगमा आएका छन्,’ माथेमाले भने।
उनले सिंगापुरको उदाहरण दिए, जहाँ मान्छे सडकमा पाइलै नटेकी पार्कमा हिँडेर सहर वारपार गर्न सक्छन्। त्यहाँ पार्कहरू कतिपय ठाउँमा आकासे पुलले जोडिएका हुन्छन्।
बाटो व्यवस्थापनपछि कुरा आउँछ, पार्कमा रूपान्तरणको।
‘टुँडिखेल वरिपरि सहरी वनस्पति रोपेर हराभरा पार्क बनाउन सकिन्छ,’ उनले भने, ‘कहीँ केटाकेटी खेल्ने, कहीँ व्यायाम गर्ने, कहीँ जमघट त कहीँ लेखपढ गर्ने ठाउँ बनाउन सकिन्छ। साइकल लेन र पैदल मार्ग बनाएर गुड्ने र हिँड्ने दुवैथरीलाई सुविधा दिन सकिन्छ।’
पार्कमा कस्ता बिरुवा लगाउने त?
हामीले वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठसँग कुराकानी गर्यौं।
काठमाडौंको मौसमअनुसार उनले केही वनस्पति सुझाए — काइँयोको बोट, मसला बोट, ज्याकरन्डा, खरीबोट, काब्रो, लहरेपिपल, वरपिपल आदि।
‘खरीबोट र ज्याकरन्डा काठमाडौंमा निकै फस्टाउँछ। दरबारमार्गमा ज्याकरन्डा फुल्दा सडकै हराभरा भएको हामी देख्छौं,’ उनले भने, ‘टुँडिखेलमा यस्तै रूख रोपेर हराभरा पार्क बनाउन सकिन्छ।’
काठमाडौंमा खरीबोटको विशेष महत्व छ। यसको फेदमा कुमारीको बास हुन्छ भन्ने स्थानीय कथन छ। अहिले पनि खरीबोट फेदमा कुमारी पूजा हुन्छ।
यो रूख सप्रिन स्याहारसुहार चाहिँदैन। जाडो याममा पात पूरै झर्छ, घाम छेक्दैन। गर्मीमा झ्याम्म पात पलाउँछ, घाम छेक्छ। त्यही भएर काठमाडौंका धेरै ठाउँमा खरीबोट देख्छौं। यसको आयु पनि लामो हुन्छ। औसत दुई सय वर्ष बाँच्ने श्रेष्ठ बताउँछन्।
‘सानो बीउ हुन्छ, सजिलै उम्रिन्छ,’ उनले भने, ‘यसमा लाग्ने फल चराले खान्छ। चराहरूको पर्यावरण जोगिन्छ। यति ठूलो चउर जोगिएपछि जमिनमा पानी ‘रिचार्ज’ हुन पाउँछ। हाम्रा इनार र ढुंगेधारा फेरि रसाउन सक्छन्।’
सबभन्दा ठूलो, यहाँको जलवायु नै फेरिन्छ। प्रदूषणले गर्मी बढेको काठमाडौं शितल हुने उनी बताउँछन्।
कल्पना गर्नुस् त, काठमाडौंको बीचमा रानीपोखरीदेखि रंगशालासम्म हराभरा आँगन छ।
चराको चिरबिर। शितल हावा। शुद्ध अक्सिजन।
पैदलमार्गमा मान्छेको स्याँस्याँ सुनिन्छ। साइकलयात्रु पाइडल मार्दै छन्। बीचमा खेल्ने चउर छ। केटाकेटीको किलकारी गुञ्जिन्छ। छेउमा आमाबाबु सुस्ताउँदै छन्।
उ पर त्यहाँ के हो?
ओहो ! प्रेमिल जोडी आफ्नै धूनमा मग्न रहेछ।
उ हेर त, चउरमा पल्टिएर कोही अध्ययनमा लीन छ!
कोही गफिँदैछन्। कोही ध्यानमा छन्।
रोकतोक छैन।
अनिता थापाले काठमाडौंमा यस्तै ठाउँ खोजेकी छन्।
उनी ग्रामीण केटीहरूको शिक्षामा काम गर्ने गैरसरकारी संस्था ‘हर टर्न’ (अब उनको पालो) मा आबद्ध छिन्।
‘बागमती नदी देख्दा मलाई पत्याउन मुश्किल पर्छ, कुनै बेला हामी बागमती नदी किनारमा स्कुल पिकनिक जान्थ्यौं,’ काठमाडौंमा जन्मे–हुर्केकी ३५ वर्षीया थापा भन्छिन्, ‘नदी सफा राखेर दुवै किनारका केही भाग खुला छाडिएको भए आज काठमाडौं सास फेर्न नसकिने उकुसमुकुस हुने थिएन।’
उनलाई आफूभन्दा चार वर्षीया छोरीको निम्ति खुला ठाउँ अभाव महशुस हुन्छ। बेलाबेला भृकुटीमण्डपको ‘फन पार्क’ लैजान्छिन्। त्यसले खुला पार्कमा गएको आनन्द उनलाई दिँदैन। न उनकी छोरी त्यहाँका सबै गतिविधिमा रमाउन सक्छे।
हामीकहाँ पार्क भनेकै रोटेपिङ खेल्ने र नानावली रमिता देखाउने ठाउँ भन्ने बुझिन्छ। त्यो त मेला भयो। फन पार्क पनि मेला हो, पार्क होइन।
पार्क त्यो हो, जहाँ सहरको गन्जागोलबाट शान्त सुस्ताउन पाइन्छ। जहाँ केटाकेटी आफ्नै तालमा रमाउन सक्छन्, अभिभावक आफ्नै सुरमा भुल्न सक्छन्। जहाँ केटाकेटीको मुहारमा चमक ल्याउन पैसा खर्च गर्नुपर्दैन। उनीहरूलाई प्रकृतिको बीचमा खुला हिँडाउन सकिन्छ। बागबानीदेखि इतिहास र कला बुझाउन सकिन्छ।
कला र संस्कृतिले धनी महानगरमा खै त्यस्तो ठाउँ?
‘कहिलेकाहीँ चिडियाखाना लग्छु। दरबार स्क्वायरतिर घुमाउँछु। सानी खुब रमाउँछे। गोदावरी, बूढानिलकण्ठ, दक्षिणकालीजस्ता ठाउँ छन्, तर टाढा भएकाले सधैं जान पायक पर्दैनन्। सडक सुरक्षाको कुरा पनि आउँछ,’ अनिताले भनिन्।
उनी आफू र आफ्नी नानीका लागि सहरबीचमै खुला आँगनको खोजीमा छिन्।
‘जहाँ बगैंचा होस्। हरियाली होस्। चराको चिरबिर सुनियोस्। जहाँ मेरी सानी खेल्न सक्छे, म केही बेर पढ्न सक्छु,’ उनले भनिन्, ‘म साताको केही घन्टा प्रकृतिसँग रमाउन चाहन्छु। साथीभाइसँग खुला ठाउँमा भेट्न चाहन्छु र आधा–एक घन्टा गफिँदै स्वच्छ हावामा हिँड्न चाहन्छु।’
‘स्वस्थ जीवन जिउन यस्तै ठाउँ चाहिएको छ। यो हाम्रो अधिकार हो,’ उनले भनिन्।
अनिताको माग टुँडिखेलले पूरा गर्न सक्छ।
लोकतन्त्रसँगै टुँडिखेल शासकले खोसेको थियो। जनताले लोकतन्त्र फिर्ता ल्याए। अब टुँडिखेलको पालो।
अब यहाँ सेनाले मार्चपास गरेको राम्रो कि हाम्रा नानीबाबु खेलेको?
बसको घाइँघुइँ सुनिएको राम्रो कि चरा चिरबिराएको?
हाम्रा पुर्खा दूरदर्शी थिए। चोभारबाट पानी बगेपछि काठमाडौं खाल्डोका थुम्कामा बस्ती बसाए। फराक चउरलाई सार्वजनिक स्थान बनाए। जब बस्ती साँघुरियो, अर्को थुम्कातिर लम्के। चउर मासेनन्।
पुर्खाले छाडेका ती चउर हामी मास्दैछौं।
हामी किन हाम्रा पुर्खाजत्तिकै दूरदर्शी हुन नसकेको?
setopati
No comments