• Trending News

    यसरी फँसाउँछन् विज्ञापनले तपाईँलाई, विज्ञापनबाट जनता ठग्ने चार उपाय

    विज्ञापनका सम्बन्धमा Jeremy Clarke को एउटा भनाई निकै प्रख्यात छ। उनी भन्छन्-


    “Advertising is like an addiction – it can run and ruin your life”

    अर्थात् विज्ञापनले तपाईँको जीवन बनाउन पनि सक्छ, बिगार्न पनि। बनाउने विज्ञापनको कुरा गर्दा जागिरकै विज्ञापनलाई उदाहरणका रुपमा लिन सकिन्छ। कसैलाई जागिरको अवसर विज्ञापन हेरेरै जुरेको हुनसक्छ।
    बिगार्ने विज्ञापनहरुको बारेमा चाहिँ सचेत हुनुपर्छ है। रमेश बान्तवाले आफ्ना साथीभाइ र परिचितलाई ठग्ने, बिगार्ने चार विज्ञापनको उदाहरण भेट्टाएका छन्।

    विज्ञापन नम्बर १ : वैदेशिक रोजगार

    एक जना मित्र ‘वैदेशिक रोजगारको सुवर्ण अवसर’ विज्ञापन हेरेर त्यसैको चक्करमा परी तीन लाख नगद र एक वर्ष समयसमेत स्वाहा पारेका छन्।

    विज्ञापन नम्बर २ : कलाकार चाहियो

    अर्का मित्रलाई अभिनयको निक्कै सोख थियो। ”कलाकार चाहियो ” को विज्ञापन देख्यो कि सम्पर्क गरिहाल्थे। एक दिन एनटिभी टुमा प्रसारण भइरहेको धारावाहिकमा काम गर्न इच्छुक ”कलाकार चाहियो’ ‘को विज्ञापन देखेर सम्पर्क गर्दा तु. आउन भनेछन्।
    उनी हतारिँदै पुतलीसडक पुगे। निर्देशकसँग कुरा हुँदा त रोल नै उनैलाई भनेर लेखिएको जस्तो परेछ। सुटिङ भोलि बिहान ५ बजेदेखि हुने पक्का भो।
    पहिलो एपिसोडको पारिश्रमिक नपाउने साथै एउटा फर्म भर्नुपर्ने र दस्तुर बापत रु ३५०० तिर्नुपर्ने रहेछ। अनि सुटिंग स्थलमा खानको लागि रु. एक हजार अलग्गै बुझाउनु पर्ने भनेपछि तीन छक्क परेछन्। कहाँ काम गरे बापत् पारिश्रमिक पाउनुपर्नेमा उल्टो आफूले पो व्यहोर्नु पर्ने बुझेपछि अक्क न बक्क भएछन्।

    विज्ञापन नम्बर ३ : अंग्रेजी टाइप गर्न जान्ने चाहियो

    कम्प्युटरमा हल्का दख्खल भएका अर्का एकजनाले ‘अंग्रेजी टाइप गर्न जान्ने भए दिनको रु. ८०० – देखि एक हजारसम्म कमाउन सक्ने’ विज्ञापन देखे। फोन गरे।
    पहिले तीन दिन तालिम लिनु पर्ने भनियो। ल त नि भनेर २५०० बुझाए। तर काम पाउने आशमा बसेको पनि तीन महिना भइसक्यो। तर काम चैँ छैन, दाम चै स्वाहा।

    विज्ञापन नम्बर ४ : घरमै बसी काम गर्न सकिने

    मेरा एक परिचित जागिरे छन्। दुई सन्तानको लालनपालन एवं घर खर्चको जिम्मेवारी छ। एक्लैको कमाईले धान्न धौ-धौ पर्ने भएपछि श्रीमतीलाई पनि कतै अल्झाउन पाए अलिक सजिलो हुने सोचेर लागे कामको खोजीमा। अनि देखे विज्ञापन ”विदेशी माला बनाउने कामदार चाहियो, घरमै बसी काम गर्न सकिने, बोनस, भत्ता लगायत महिनाको १५ देखि २० हजार”
    अनि त के खोज्छस् कानो …..झैँ भो तुरुन्त सम्पर्क गरेपछि ”काम गर्नुभन्दा पहिले तालिम लिनु जरुरी हुने तर सो बापत रु. ३५०० + फर्मको रु. १०० लाग्ने” बुझेपछि चुपचाप छन्।
    यथार्थमा तालिमको नाममा रकम असुल्ने र झुलाउने मात्र रहेछ।
    यी हुन् विज्ञापनद्वारा हुने ठगीका केही नमूनाहरु जसलाई म ठगी नै हो भन्न रुचाउँछु। तपाईँले पनि यस्तै केही भोग्नुभएको भए तल कमेन्टमा बाँड्नुस् है।

    No comments

    Like Us