भारतमा जस्तै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’ राख्ने प्रधानमन्त्रीको तयारी

राज्यसत्ताको अभ्यास गर्ने गरी प्रधानमन्त्री ओलीले आफू मातहत केही शक्तिशाली निकायहरु खडा गर्दैछन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारतमा जस्तै कार्यालय नै खडा गर्ने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार राख्ने परामर्श भइरहेको छ । यसका लागि प्रधानमन्त्रीको टिमले गृहकार्य थालेेको छ ।
भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकार मन्त्रीभन्दा शक्तिशाली र सिधै प्रधानमन्त्रीलाई ब्रिफ गर्ने महत्वपूर्ण व्यक्ति मानिन्छन् ।
नरेन्द्र मोदी सत्तामा आएपछि अजित डोबलले सुरक्षा सल्लाहकार छन्, जसलाई नेपालमा संविधान जारी भएपछि लगाएको नाकाबन्दीका आर्किटेक्ट मानिन्छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकारले मन्त्रिपरिषद् बैठकमा समेत सहभागिता जनाउने हैसियत राख्छन् । भारतमा त्यहाँको खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ (रअ) को गोप्य रिपोर्ट राष्ट्रिय सुरक्षा सल्लाहकारले बुझ्ने गर्छन् ।
नेपालमा पनि गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइसकिएको छ । जासुसी संयन्त्रलाई बलियो र प्रभावकारी बनाउन अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा ल्याइएको हो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा, इन्टिलिजेन्स र अनुसन्धान जस्ता विभागहरुलाई राष्ट्रिय सुरक्षा सल्लाहकार कार्यालयको छातामुनि राख्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा, इन्टिलिजेन्स र अनुसन्धान जस्ता विभागहरुलाई राष्ट्रिय सुरक्षा सल्लाहकार कार्यालयको छातामुनि राख्ने तयारी गरेका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकारले सुरक्षा मामिला र विदेश मामिला सम्बन्धी सरकारको नीति कार्यन्वयन गर्नेछन् ।
एमाले नेता तथा नेपाल-भारत प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार हुन सक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार आन्तरिक तथा बाहृय मामिलामा प्रधानमन्त्रीका तर्फबाट डिल गर्ने जिम्मेवारी सुरक्षा सल्लाहकारलाई दिइनेछ ।
प्रधानमन्त्रीले आफू मातहतमै रहने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अलग्गै मन्त्री राख्ने तयारी गरेका छन् । सातै प्रदेशको समन्वय गर्ने साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत सञ्चालन गर्ने गरी नयाँ मन्त्री राख्न खोजिएको हो । यस्तो मन्त्रीले सबै मन्त्रालयको समन्वय गर्नेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई खारेज गरेर अर्को मन्त्रालय बनाउने हो भने त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेल जाने सम्भावना छ ।
सबै मन्त्रालयहरुबाट क्याबिनेटमा जाने प्रस्तावहरु यही मन्त्रीले अध्ययन गरेरमात्र बैठकमा पेश हुनेछन् । यसअघि मुख्य सचिवले प्रधामनन्त्रीलाई प्रस्तावहरुबारे बि्रफ गर्ने चलन रहेकोमा प्रधानमन्त्रीले नयाँ संरचना खडा गर्न लागेका हुन् ।
एमाले सचिव प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी मन्त्री बनाउने योजनामाथि पनि छलफल भइरहेको एमाले स्रोत बताउँछ । त्यसो भएमा संघीय मामिला मन्त्रालय कायमै हुन्छ ।
सबै संरचनाबारे छलफल चलिरहे पनि प्रधानमन्त्री केपी ओलीको योजनाले ठोस आकार लिन केही समय लाग्ने एक नेताले बताए
Onlinekhabar
No comments