नारायण ढकाललाई बागी विद्वान मन पर्छ, मुख्यमन्त्री चाहिएन !

दुर्भाग्य ?
हो दुर्भाग्य । सायद यो ज्ञान नभएका भए नारायण ढकाल योबेला पुनः राजनीतिक खेलाडीका रुपमा सांसद भएर मन्त्रीको सूचीमा पर्थे या प्रदेश सभाको मुख्यमन्त्री वा अन्य पदका दाबेदार बन्थे ।
यो ज्ञान नभएको भए प्रज्ञा प्रतिष्ठानका प्रस्तावित कूलपतिमा आफ्नो नाम दाबी गरिरहेका हुन्थे । र, यो ज्ञान नभएको भए उनी वाम गठबन्धनको एउटा कडीका रुपमा अघि बढिरहेका हुन्थे ।
साहित्यकार ढकाल यी सब केही गरिरहेका छैनन् । केवल लेखिरहेका छन् । ५ उपन्यास, ६ कथा संग्रह, २ वाल कथा संग्रह, २ अनुवाद कृति र दुई निबन्ध संग्रह गरी १७ वटा कृति लेखिसकेका नारायण ढकाल १८ औं कृतिका रुपमा छैठौं उपन्यास लेख्न थालेका छन् । जबकि १५ दिनअघि मात्रै उनको उपन्यास ‘हजार माइलको बाटो’ बजारमा आएको छ ।
ढकालमा लेखन मोह कति गहिराइमा पुगेको छ भने नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको बारम्बार आग्रहमा पनि उनले प्रदेश सभामा उम्मेद्वारी दर्ता गरेनन् । एकेडेमीमा जानुपर्छ भन्ने ‘पार्टीका साथीहरु’ को आग्रहलाई पनि टार्दै आएका छन् । लाग्छ, उनी लोभ र मोहबाट मुक्त हुन थालेका छन् र आत्यात्मिक व्यक्तिले भन्ने गरेको कुनै ‘दिव्य संसार’ को खोजीमा छन् । भलै उनी भौतिकवादी हुन् ।
नयाँ उपन्यास ‘हजार माइलको बाटो’ का विषयमा कुराकानी गर्न गत बुधवार मूलपानीस्थित ढकालको घर पुग्दा उनी नयाँ उपन्यासको टिपोट गरिरहेका भेटिए । पुस्तक निस्किएपछि पाठकको प्रतिक्रिया कस्तो आउला भन्ने डर र बधार्इमा पाइरहने खुसीको मिश्रण उनको अनुहारमा झल्किएन ।
दुई तल्ले घरको छतमा कलिलो घाम तापेर एकोहोरो मूलपानीको बस्ती नियालिरहेका ढकालले भने, ‘यहीँबाट मूलपानीलाई हेरेर सम्झिएँ बालापन र कल्पना गरेँ– म जन्मनुअघिको यो काँठ । त्यसपछि पुराना पुस्ताको अन्तरवार्ता र इतिहासको अध्ययनपछि लेखेँ– प्रेतकल्प ।
म हुर्कदै गर्दा पञ्चायत पनि हुर्कंदै थियो र त्यसबेला म र मेरो पुस्ताले जे भोग्यो र देख्यो, त्यो मनको स्मृतिमा रहेको दराज खोलेँ र लेखेँ—वृषभवध ।
समाजसँग घुलमिल भइरहँदा प्रत्यक्ष रााजनीतिमा लागेँ र भएँ यही क्षेत्रको प्रतिनिधिसभा सदस्य अर्थात सांसद । त्योबेला मैले संसदमा जे देखेँ । त्यो लाजमर्दो अवस्था र त्यसलाई केन्द्रमा राखेर सुरु भएको माओवादी शसस्त्र द्वन्द्व र त्यसबाट पीडित नेपाली समाज । जब माओवादी शक्तिमा आयो र उसले जसरी आफ्नो लक्ष छाड्यो, त्यसपछि लाग्यो, यो पनि लेख्नुपर्छ । त्यसपछि लेखियो–हजार माइलको बाटो ।
तर, अहिले यहाँ (मूलपानीमा) सहर पसेको छ । न यो गाउँ रह्यो, किनभने सहर पसेको छ । न सहर भयो किनभने यहाँको एउटा दलित आज पनि सार्वजनिक पसलमा हामीसँगै बसेर चिया खान सक्दैन । यही कारण अब लेख्दैछु– सहर पसेको गाउँ ।’
००००
नारायण ढकाल गम्भीरतापूवर्क उपन्यास लेख्छन् । तर, विमोचन गर्ने बेलामा सबैभन्दा विरोधी व्यक्तिलाई उपन्यासका विषयमा ‘क्रिटिक’ गर्न बोलाउँछन् । उनले काँठका बाहुनक्षेत्री र राजनीतिका विषयमा लेखिएको उपन्यास ‘दुर्भिक्ष’ को विमोचनमा जातिवादी नेता तथा अध्यापक कृष्ण भट्टचनलाई बोलाएका थिए । जसले मञ्चबाटै पुस्तकको धज्जी उडाएका थिए ।
पछिल्लो कृति ‘हजार माइलको बाटो’मा माओवादी नेता तथा अध्येता ‘आहुति’लाई पुस्तकका बारेमा बोल्न लगाएका थिए । माओवादी द्वन्द्वको विरोध गरिएको उक्त पुस्तकको आहुतिले प्रशंशा गर्ने कुरै थिएन । त्यसैले नारायण ढकालको नयाँ कृति पढ्न उपस्थित सयौं पाठकहरुको मन भड्किने गरी आहुतिले बोलिदिए ।
आखिर सबै लाभका पद छाडेर वर्षौं साधना गरेर लेखेको पुस्तककै मानमर्दन गर्न उनी किन चाहन्छन् ?
यो प्रश्नमा उनी बच्चाजस्तै मुस्कुराए । र, भने, ‘यही कारण म राजनीतिज्ञ होइन । राजनीतिज्ञ प्रशंशाको भिड चाहन्छ, लेखक आलोचकको । मलाई बागी विद्वान मनपर्छ । म कति राम्रो लेख्छु मलाई थाहा छ, तर कति नराम्रो सोच्छु, बागीहरुलाई थाहा हुन्छ । मलाई निर्वाचन जित्नु छैन, त्यसैले भोट घट्ला भन्ने पीर छैन । यही कारण सधैंंभरि मञ्चमा बागी विद्वानलाई सजाउन चाहन्छु ।’
अर्को कुरा, कुनै पनि विचार शास्वत छैनन् । चाहे त्यो महान भनिएको माओवादी युद्ध होस् अथवा मार्क्सवादीले सोच्ने गरेको मार्क्सवाद । यही शास्वत नभएकै कारण मैले विरोध गरेको हुन्छु । तर त्यसको अर्को पाटोमा के छ, त्यो बागी विद्वानहरुले भन्नुहुन्छ ।’
००००
आख्यानकार नारायण ढकाल नेपाली समाज लेखिरहेका छन् । तर, उनका धेरैजसो पात्र काँठका हुन्छन् । धेरै उपन्यास र कथाहरुको मूल विषय उनी जन्मे–हुर्केको काँठ क्षेत्र नै हुने गरेको छ । आखिर किन ?
‘म जहाँ जन्मिएँ, पहिले त्यो गाउँलाई जगराबोट भनिन्थ्यो । गाउँको एउटा विन्दुमा जगरको अग्लो रूख भएकाले जगराबोट नाम रहेको थियो । पछि गाउँको नाम बदलियो र मूलपानी बन्यो । मैले यहाँको धूलो, हिलो, हुरीबतास, असिना, अकाल, प्रलय, बाढी, सुक्खा, जाडो, गर्मी, मनोरम वसन्त, भोक, तृप्ति, अतृप्ति, सुख, दुस्ख, गरिबी, प्रेम, घृणा, सहयोग, विश्वासघात सबै नजिकबाट भोगेको छु । मैले यहाँका असल र खराब भनिएका अनगिन्ती चरित्रलाई नजिकबाट चिनेको छु । यहाँ सधैं उदाउने र अस्ताउने सूर्यलाई म राम्ररी बुझ्छु । यहाँको आकाशमा पाक्षिक तालिकामा टाँगिने चन्द्रमाको बानीबेहोरा पनि थाहा छ । यहाँको प्रकृति, समाज, राजनीति, मूल्यव्यवस्था, अर्थव्यवस्था, परिवारव्यवस्था, जातजाति, संस्कृति आदि विषयमा पनि मेरो रामै्र परिचय छ । यसैले आख्यानको अर्को संसार रचना गर्न म यही जमीनमा उभिँदा मात्र मेरो कलात्मक आवेग बलशाली बन्छ ।’
सायद उनी लेखक हुनै जन्मेका थिए । तर, दुर्भाग्यले उनलाई राजनीतितिर आकर्षित गर्यो । जुनबेला उनी ७ वर्ष जतिका थिए, त्योबेला पञ्चायती व्यवस्था सुरु भएको थियो । त्योबेला पञ्चायतको जय जय गान गाइरहेका हुन्थे, तर पनि उनलाई के के नमिलेजस्तो लाग्थ्यो ।
पञ्चहरुको युवा संगठनको नाम थियो, नेपाल युवक संगठन । त्यो संगठनमा अलिकति पैसा हुने, पद हुने र गाउँमा रबाफ जमाउनेहरुका सन्तानहरु माथिल्लो ओहदामा चुनिएका हुन्थे । स्वभाविक हो, उनीहरुमा शक्तिको दम्भ हुन्थ्यो । पञ्चायती व्यवस्थामा महिलाहरुको पनि संगठन थियो । उक्त संगठनमा प्रधानमञ्च र उनका वरपरका मान्छेका श्रीमतीहरु पदमा थिए । पञ्चायतले चाहेको निर्णय नै युवा संघ र महिला संघको निर्णय हुन्थ्यो । उनी यही नमिलेको कुरा नै लेख्न थाले । तर, उनलाई यो पञ्चायतको विरोध थियो भन्ने नै थाहा थिएन ।
००००
नारायण २२ वर्ष जतिका थिए, कलेज पढ्दै गृहमन्त्रालयमा खरिदारको जागिर खाँदै गर्दा । त्यहीबेला स्वतन्त्र देश सिक्किममा भारतले हस्तक्षेप गर्यो र आफ्नो २२ औं प्रान्त घोषणा गरिदियो । भावुक कविमनले सोच्यो, ‘नेपाल पनि सिक्किमजस्तै सानो राष्ट्र हो । आज सिक्किम लानेले भोलि नेपाल पनि खोस्न सक्छ ।’ यही भावावेशमा भारतीय दूतावासको नाममा एउटा कडा विज्ञप्ति तयार पारे र कलेजका साथीभाइ जम्मा गरेर दूतावासमा पत्र दिन गए । तत्कालीन कम्युनिस्ट दलका युवा सदस्यहरु पनि त्यहाँ पुगेका रहेछन् । जसले नारायणको विज्ञप्तिमै आफ्नो दलले उठाएको विरोधको सार देखे । यसरी समूहमा दूतावासको विज्ञप्ति बुझाइरहँदा आफू देशको गृह मन्त्रालयको कर्मचारी भएको भुसुक्क बिर्सिदिए ।
विज्ञप्ति बुझाएर दरबारमार्ग पुग्दानपुग्दै उनीलगायत कलेजका सोझा विद्यार्थी पक्राउ परे । तर, क्रान्तिकारी दलका विद्यार्थी नेता खुसुक्क लाखापाखा लागे । तत्कालीन अञ्चलाधीश कमानसिंह लामाले उनलाई थुन्ने आदेश मात्र दिएनन्, भएको जागिर पनि खाइदिए ।
अहिले उनी लामालाई धन्यवाद दिँदै भन्छन्, ‘म विद्यार्थी मात्रै हुँ भनेर जागिरको कुरा लुकाउन सक्थेँ र केही महिनादेखि जागिर पुनः सुरु गर्न सक्थेँ । तर, मलाई लामो राजनीतिक यात्रा गर्नु रहेछ । सायद यही कारण सरकारी जागिर गयो ।’
जेलमा रहँदा उनको कम्युनिस्ट नेताहरुसँग भेट भयो । फलस्वरुप उनी कम्युनिस्टका तत्कालीन नेता–कार्यकर्ता तारा न्यौपाने, शरणविक्रम मल्ल, प्रेम कैदी, चित्रकृष्ण तिवारी र तिलक पराजुलीको संगतमा पुगे । आज यी कुनै पनि नाम नेपाली राजनीतिको मूलधारमा सुनिँदैन । किनभने, उनीहरुले सत्ताका लागि राजनीति गरेका थिएनन् । सायद यही कारण हुनुपर्छ, नारायण ढकाल पनि राजनीतिको मूलधारमा छैनन् ।
००००
राजनीतिमा लाग्नु र तत्कालीन विद्रोही कवि एलेन गिन्सबर्गको प्रभावमा पर्नु नारायण ढकालको लेखनमा अर्को मोड आइदियो । ग्रिन्सबर्ग र उनका साथीहरुले एउटा घोषणापत्र जारी गरेका थिए, जसका ५ वटा बुँदाले उनको युवा मस्तिष्क हल्लाइदियो ।
खासमा उनले आफ्नो समाज वरपर जे महसुस गरेका थिए, ग्रिन्सबर्गले त्यसैलाई समेटेर आफ्नो घोषणापत्र बनाएजस्तो उनलाई लागेको थियो । ती पाँच बुँदा थिए—
१) यो समाज बनावटी छ । समाज व्यक्तिले चाहेजस्तो छैन । बरु समाजले मानिसलाई जवरजस्ती आफ्नो जस्तो बनाएको छ ।
२) परिवार व्यवस्था पनि बनावटी छ । विवाह मानिसले चाहेजस्तो छैन, बरु समाजले चाहेजस्तो छ । जहाँ प्रेम गर्ने वातावरण छैन, बरु प्रेम मुर्झाउने वातावरण छ ।
३) सरकार जनताका लागि होइन, बरु जनता सरकारका लागि बलिका बोका हुन् । सरकार जनताको शोषण गर्न बसेको कसाही हो ।
४) विपरीत लिङ्गी प्रेम झुट्टा हो । यो प्रेम यौनका कारण मात्र टिकेको छ । बरु सच्चा प्रेम समलिङ्गीहरु बीच हुन्छ ।
५) युद्ध अपराध हो । अमेरिका अपराधी हो ।
त्यसपछि त के थियो, उनी पनि ग्रिन्सवर्गजस्तै गाँजा खान थाले । लामो कपाल पालेर विद्रोही बने । यसले उनलाई एकसाथ भूमिगत राजनीति र त्यससँगै विद्रोही लेखक बनाइदियो । कम्युनिस्ट पार्टीको सदस्यसँगै तत्कालीन राष्ट्रिय परिषद् सदस्यसम्म बने । केन्द्रीय प्रचार विभागका सदस्य बने ।
नेताहरुकै निर्देशनमा प्रकाश साप्ताहिकका कार्यकारी सम्पादक बने । दृष्टि साप्ताहिक सुरु गरेर प्रधान सम्पादक बने । त्यसअघि उनी पार्टीकै निर्देशनमा जनपक्षीय उम्मेद्वारका रुपमा ०४३ सालमा प्रधानपञ्चमा निर्वाचन लडेर हारेका थिए । पछि ०४९ सालमा नेकपा (एमाले)का उम्मेद्वारका रुपमा गाविस अध्यक्ष बने । त्यसपछि जिविसमा पुगे । ०५६ सालको आम निर्वाचनमा अत्यधिक बहुमतले सांसद जिते । तर, जुन दिनदेखि सांसद बने, राजनीतिप्रति उनको मोहभंङ्ग हुन थाल्यो ।
‘खासमा अपराधको मुख्य जरो त्यहीँ रहेछ । चाकडी, चाप्लुसी र भ्रष्ट्राचार सबैभन्दा बढी त्यहीँ हुँदोरहेछ,’ नारायण ढकाल भन्छन्, ‘अमेरिका जान सांसदहरुले गरेको चाकडीको हद देख्दा म लाजले पानी पानी हुन्थेँ ।’
यही कारण उनले नेकपा एमालेबाट वमदेव गौतमहरु छुट्टिँदा यिनी पनि बाहिरिए र नेकपा (माले) का नेता भए । पछि वामदेव फर्किए, तर ढकाल लामो समय स्वतन्त्र नै रहे । तर, काठमाडौंको काँठ क्षेत्रमा उनको प्रभाव बलियो भएकाले र वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन लड्न उनको सहयोग चाहिएकाले करबलले उनी पुनः पार्टीमा फर्किए । नेपालले उनलाई प्रदेशसभाको निर्वाचन लडेर मुख्यमन्त्री वा अन्य पदका लागि तयार रहन आग्रह गर्दा उनी भने ‘हजार माइलको बाटो’ पुस्तक लेख्दै थिए ।
वाम गठबन्धनको माहोल बनिरहेका बेला पनि उनले राजनीतिमा गएर पद लिनुपर्छ भनेर एक मिनेट पनि सोचेनन् र पुस्तक तयार पारे । र, यतिबेला उनका ‘पार्टीका साथीहरु’ कूलपतिका लागि तयार हुन आग्रह गरिरहेका छन् । उनी भने चुपचाप काँठ क्षेत्रमा कसरी सहर पस्यो भन्ने विषयमा उपन्यास तयार पारिरहेका छन् ।
त्यति ठूलो पद ग्रहण गर्न छाडेर ‘जाबो लेखक’ किन हुनुपरेको नि उनलाई ?
उनी मुस्काउँछन् र भन्छन्, ‘इमानदार लेखक नारायण ढकाल बेइमान राजनीतिको चंगुलमा परेर धूर्त नारायण ढकाल हुन चाहँदैन ।’
ONLINEKHABAR
No comments