• Trending News

    वीरगञ्ज-काठमाडौं रेलमार्गका लागि परामर्शदाता छाँनिदै

    वीरगञ्ज । वीरगञ्ज-काठमाडौ विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता -कन्सल्टेन्ट) कम्पनी छनोट अन्तिम चरणमा पुगेको छ । १५ दिनभित्र कन्सल्टेन्ट कम्पनी छनौटको काम सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको रेल विभागले जनाएको छ ।
    वीरगंज-काठमाडौं रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् । गत ०७३ मंसिरमा रेल विभागले काठमाडौ-वीरगञ्जमा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि ग्लोवल टेण्डर आव्हान गरेको थियो । टेण्डरमा २० भन्दा बढी कम्पनीले आवेदन दिएकोमा विभागको सर्ट लिस्टमा ६ वटा कम्पनी परेका हुन् ।
    विभागले छनौटमा परेका ६ वटा कम्पनीसँग प्राविधिक प्रस्ताव मागेको छ । ती कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्तावको अध्ययन पछि आर्थिक प्रस्ताव मागेर मूल्यांकन गरिनेछ । त्यसमध्ये उत्कृष्ट एक कम्पनी परमर्शदाता नियुक्त हुनेछ ।
    सम्भाव्यता अध्ययनका लागि उच्चतम प्रविधि, न्यूनतम लागत तथा अहिलेसम्म काम गरेको अनुभवलाई आधार मानेर परामर्शदाता छनोट हुने विभागको भनाइ छ ।
    छनोट भएको कम्पनीले छ महिनामा काठमाडौं-वीरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्ने छ । सोही प्रतिवेदनका आधारमा रेलमार्ग निर्माण थालिने विभागले जनाएको छ ।
    उनीहरुले दिएको प्राविधिक प्रस्तावको अध्ययन-मुल्याङकन गरेर आर्थिक प्रस्ताव माग गर्ने तयारी भइरहेको छ ।
    छनौटमा परेका ६ वटा कम्पनी मध्येबाटै प्राविधिक रुपमा बलियो र आर्थिक भार कम पर्ने गरी कम्पनी छनौट गरिने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
    ‘सर्ट लिष्टमा परेका कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको छ । अब आर्थिक प्रस्तावको माग गर्छौ,’ उनले भने ‘१५ दिनभित्र कन्सल्टेन्ट कम्पनी सेलेक्सनको काम पुरा हुन्छ । त्यसपछि अध्ययनको काम सुरु हुन्छ ।’
    ०७३ भित्रै नयाँ कन्सल्टेन्ट नियुक्तीको प्रक्रिया सम्पन्न गरेर काम अघि बढाउने उनको भनाइ छ ।
    ‘ परामर्शदाता कम्पनी छनोट गरेर सम्भाव्यता अध्ययनको काम अघि बढाउने तयारीमा छौ । त्यसपछि काम शुरु हुन्छ । काम शुरु भएको ५/६ महिनामा अध्ययन प्रतिवेदन आउन सक्छ,’ उनले भने ।
    सम्भाव्यता अध्ययन पछि नै कति किलोमिटरको रेलमार्ग हुन्छ भन्ने जानकारी हुने भएपनि विभागले एक सय किलोमिटर लामो हुने अनुमान गरेको छ ।
    Onlinekhabar

    No comments

    Like Us