• Trending News

    महन्थको ब्रिफिङपछि राजपा नेता ओली मिसनमा मिसिन तयार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको बीचमा राजपा अध्यक्ष महन्थ ठाकुरसँग ‘वान टु वान’ वार्ता गरे । त्यो बाहेक एकपटक अर्थात सोमबार अपरान्ह संसद भवनभित्रै राजपा अध्यक्ष मण्डलका नेताहरुसहित भेटघाट गरे । सबै भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म देश बनाउने मिसनमा छु, तपाईहरुलाई पनि सँगै लैजाने हो । आउनुस् सरकारमा पनि सहकार्य गरौं ।’
    ओलीसँगका पछिल्ला संवादबाट राजपा नेताहरु निकै उत्साहित देखिएका छन् । मधेस आन्दोलनका बेला देखिएका ओली र अहिले भेटिएका ओलीमा आकाश जमिनको भिन्नता देखिएको सोमवारको वार्तामा सहभागी एक राजपा नेताले टिप्पणी गरे । ‘नेता चाहिँ ओलीजी नै रहेछन्, उनको प्रस्तुति नै फरक, हामी त प्रभावित भयौं’ ती नेताले भने, ‘कुनै आग्रह-पूर्वाग्रह देखिएन, निकै फरासिलो ढंगले प्रस्तुत भए ।’
    ओली मिसनमा मिसिने चाहना
    प्रधानमन्त्री ओली र राजपा नेताहरुबीच सोमवार अपरान्ह सत्ता सहकार्यबारे लामो कुराकानी हुन पाएन । किनकि पाकिस्तानी प्रधानमन्त्रीको गार्ड अफ अनर कार्यक्रमका लागि प्रधानमन्त्री टुँडिखेल जानुपर्ने भयो । उनी बेलुका बालुवटारमै भेटेर कुरा गरौंला भन्दै राजपा नेताहरुसँग विदा भए । जुन भेटमा रेशम चौधरीको मुद्दाको बारेमा बढी छलफल भयो । ओलीले यसबारे बुझ्न सुवास नेम्वाङलाई जिम्मा दिएर बाहिरिए ।
    महन्थ ठाकुर बाहेक राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी, महिन्द्र राय यादव र अनिल झाले सामुहिक रुपमा ओलीसँग संसद भवनभित्रै प्रधानमन्त्रीको चेम्बरमा छलफल गरेका थिए । उनीहरुले आफूहरु देश बनाउने ओलीको मिसनमा मिसिन चाहेको बताए । हिमाल, पहाड र मधेसको नेता बन्ने हो भने ओलीले आफूहरुलाई पनि सँगै लगे हुन्थ्यो भन्ने चाहना राजपा नेताहरुको प्रकट भएको छ ।
    महन्थको ब्रिफिङपछि नेताहरु उत्साहित
    ओलीसँगको भेटघाटलगत्तै राजपा नेताहरुको अनौपचारिक बैठक बस्यो । बैठकमा महन्थ ठाकुरले अघिल्लो दिन विहान प्रधानमन्त्री ओलीसँग बालुवाटारमा अढाई घण्टा भएको छलफलका बारेमा बि्रफ गरे ।
    प्रधानमन्त्री ओली मनैदेखि राजपालाई पनि साथमा लिएर मधेसको पनि मन जित्ने रणनीतिमा रहेको उनले सुनाए । उनले सरकारमा सहभागी हुन ओलीले गरेको आग्रह जस्ताको त्यस्तै सुनाए ।
    ठाकुरको ब्रिफिङलगत्तै अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीको प्रयास सकारात्मक भन्दै सरकारमा जानुपर्ने र त्यसका लागि ठाकुरले नै थप छलफल गर्नु उपयुक्त हुने सुझाव दिए ।
    राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादवले सरकारमा जान गरेको आग्रह सकारात्मक रहे पनि राजपा एक्ल्याउने उपेन्द्र यादवका खेलको बारेमा पनि चर्चां गरे । सबै नेताहरु बालुवाटार जाँदा अनावश्यक हल्ला हुने भन्दै उनीहरुले ठाकुरलाई एक्लै वार्ता गर्न पठाए ।
    उपेन्द्रलाई मानभाउ दिँदा कसको मन दुख्यो ?
    प्रधानमन्त्री र राजपा नेताहरुबीच वार्ताको सिलसिला आइतबारदेखि मात्रै सघन भएको हो । तर, त्यसअघि किन संघीय समाजवादी फोरमलाई मात्र बालुवाटारमा मानमनितो गरियो ? राजपा नेताहरुले गत साताभरि एमालेका प्रभावशाली नेताहरुलाई यो प्रश्न गरे । एमाले स्थायी कमिटी बैठकले मधेसवादी दलसँग वार्ता गरेर सरकार गठन गर्ने भनी गरेको निर्णय राजपा नेताहरुले एमाले नेताहरुलाई स्मरण गराए ।
    राजपाका नेताहरुले एमालेका बिभिन्न च्यानलमार्फत प्रधानमन्त्री ओलीलाई सन्देश पठाए । बिष्णु पौडेल, सुवास नेम्वाङ, बिष्णु रिमाललगायतका नेताहरुले राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरुसँगको सम्वादपछि प्रधानमन्त्री ओली र राजपा अध्यक्ष ठाकुरबीच वार्ताको चाँजोपाँजो मिलाइएको थियो । आइतबारको अढाई घण्टाको वार्तामा बिष्णु पौडेल पनि सहभागी थिए ।
    आइतबारको वार्तापछि राजपा नेताहरुले निकालेको निष्कर्ष अझ रोचक रहेछ । ठाकुरको बि्रफिङपछि अनलाइनखबरकर्मीसँग भेटेका राजपा अध्यक्ष मण्डलका एक सदस्यले भने-प्रधानमन्त्री र हामीबीच भेटै हुन नदिने खेल भित्रभित्रै भएछ । उपेन्द्र यादवको खेल हामीले बुझेका थियौं तर एमाले नेताहरुले अहिले आएर बुझ्दैछन् । राजपालाई बाहिरै राखेर आफूमात्र मधेसको ठेकेदार बन्ने उनको दाउ हो ।’
    उपेन्द्रले छेक्न खोजेको राजपाको बुझाइ
    उच्च स्रोतका अनुसार ओली राजपालाई पनि सरकारमा समेटेर कांग्रेस बाहेक सबै दलको नेता बनेर बलियो सरकारको शक्तिसाली प्रधानमन्त्री बन्न चाहान्छन् । उनले एमाले नेताहरुलाई एक/दुईवटा मन्त्रालयको लोभ नगर्ने तर मधेसवादीलाई पनि समेटेर लैजाने संकेत दिइसकेका छन् । तर, राजपालाई सरकारमा सहभागी गराउन माओवादी केन्द्र र संघीय फोरम अनिच्छुकमात्र होइन, अवरोध नै बनेको स्रोतको दाबी छ ।
    ‘अहिलेको अवस्था भनेको प्रधानमन्त्री राजपालाई पनि बोक्ने मिसनमा हुनुहुन्छ, तर प्रचण्डजी र उपेन्द्रजी राजपालाई जसरी पनि रोक्ने खेलमा हुनुहुन्छ, कुरा त्यहीँनेर अड्किएको छ’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको चाहना दुवै मधेसवादी दलसँग एकैपटक सहमति गरेर सरकारमा सहभागी गराउने देखिन्छ, एउटै इस्युमा फरक फरक लिखत किन गर्ने ?’
    मन्त्रालयमा मुद्दा साट्दा राजपालाई राहत
    होलीको दिन बालुवाटारमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग दुई बुँदे सहमति भइसकेको थियो ।
    तर, मन्त्रालयको भागबण्डा नमिलेर हस्ताक्षर हुन सकेन । मन्त्रालयमा कुरा नमिलेर सहमति नभएको समाचार बाहिर आएकोमा सबैभन्दा राहत राजपा नेताहरुलाई भएको छ । ‘मधेसको मुद्दालाई एक थान मन्त्रालयमा बार्गेनिङ टुल्स’ बनाएको भन्दै राजपा नेताहरुले मधेसवादी अभियन्ताहरुमार्फत भित्रभित्रै उपेन्द्रको भण्डाफोर अभियान चलाएका छन् ।
    उपेन्द्रले राजपालाई रोक्ने खेलमा प्रचण्डलगायत माओवादी नेताहरुलाई प्रयोग गरेको आरोप राजपा नेताहरुको छ । मधेसको मसिहा आफूमात्र भएको देखाउन र ओली सरकारले राम्रो काम गरेको खण्डमा त्यसको जस लिएर मधेस र्झनका लागि उनले राजपालाई रोक्न खोजेको एक नेताले बताए । प्रदेश २ को सरकार गठनमा समेत उपेन्द्रले राजपालाई अपमानित गर्न खोजेको र उनका पछिल्ला अभिव्यक्ति पनि राजपालाई होच्याउने गरी आइरहेको ती नेताका भनाइ छ ।
    राजपा अध्यक्ष मण्डलका एक सदस्यले भने, उपेन्द्रले पछिल्लोपटक राजपाको हैसियत छैन भनेर घमण्डी कुरा गरेका छन् । उपेन्द्रले बुझ्नुपर्ने कुरा हो कि उनको पार्टी भन्दा राजपा ठूलो शक्ति हो । हामी संसदको चौथो शक्ति हौं, उनी पाँचांै हुन् । प्रदेश २ मा टिकट वितरणकै बेला उनले प्रत्यक्षमा बढी लिए, तर समानुपातिकमा राजपा नै पहिलो दल हो ।
    उपेन्द्रबाट प्रचण्डको प्रयोग ?
    राजपा नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँगको छलफलमा यतिसम्म भन्न थालेका छन् कि उपेन्द्र यादवले प्रचण्डलाई प्रयोग गरेका छन् । भोलि मधेसमा हामीले आन्दोलन गर्‍यौं र जनताले साथ दिए भने बीचमै सरकार छाडेर उनी आन्दोलनमा आउँछन् । अहिले नै एमालेले राजपालाई विश्वासमा लेओस्, हामी केपी ओलीलाई सफल बनाउने जिम्मा लिन्छौं, उपेन्द्रलाई बाहिर राखे पनि मधेसमा उनको केही चल्दैन ।
    राजपा र फोरम दुवैसँग संवादमा रहेका एक एमाले नेताका अनुसार प्रधानमन्त्री दुबै दललाई सरकारमा समान हैसियतमै लैजान चाहान्छन् । कांग्रेसबाहेक संसदका सबै दलको समर्थन लिने उनको सोच देखिन्छ । राप्रपाका राजेन्द्र लिङ्देन र राजमोकी दुर्गा पौडेल एमालेकै समर्थनमा चुनाव जितेका हुनाले उनीहरुको समर्थन छँदैछ । मधेसमा अस्थिरता उत्पन्न हुन नदिन पनि प्रधानमन्त्रीले राजपा र फोरमलाई आफूसँगै हिँडाउन चाहेका हुन् ।
    ‘देश बनाउने मिसनमा मन्त्रालय गौण’
    प्रधानमन्त्रीको चाहना पुष्टि गर्दै एमाले उपमहासचिव पौडेलले भने-हाम्रो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पार्टीभन्दा माथि उठिसक्नुभएको छ । सरकार चलाउन आवश्यक सुबिधाजनक बहुमत हुँदाहुँदै पनि उहाँले अरु दललाई समेत समेटेर लैजान खोज्नुको मूल उद्देश्य देश निर्माणमा सबैलाई सँगै लैजाने हो । अब हामीसँग विगतको जस्तो छुद्र राजनीतिमा अल्भिmने र सत्ता प्रतिपक्षको भावनामा रहने समय छैन । एमालेका लागि दुई चारवटा मन्त्रालय बढी पाउनु र नपाउनुको कुनै लोभ छैन ।
    त्यसो भए अब के हुन्छ त ? एमाले स्रोतका अनुसार राजपा र फोरमसहितको मन्त्रिपरिषद विस्तार हुन्छ । सम्भवतः मधेसवादी दलसँग एउटै प्याकेजमा सम्झौता हुनेछ ।
    संविधान संशोधन आपसी समझदारीमा आवश्यकता र औचित्यका आधारमा गर्ने भन्ने स्पिरिटमै सहमति हुनेछ । दुवै मधेसवादी दलले बराबरी मन्त्रालय पाउनेछन् । त्यो अवस्थामा उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षमा मधेसवादीको दावी रहेको छ ।
    असफल हुने छुट छैन
    प्रधानमन्त्री ओली यसपटक प्राप्त भएको उनकै शव्दमा ‘देश बनाउने अवसर’ कुनै पनि बहानामा खेर फाल्न चाहँदैनन् । उनले यो सरकारलाई असफल हुने छुट छैन भनेर पटक-पटक दोहोर्‍याउनु आफैंमा अर्थपूर्ण छ । उनले मन्त्री छनोटदेखि नै त्ससको छनक दिएका छन् । र, त्यसकै लागि हो उनले राजपा र फोरमलाई पनि सरकारमा सँगै लैजान खोजेको । त्यति गरेपछि मधेस पनि स्थिर हुने बुझाइ एमाले नेताहरुको छ ।
    मधेसवादी नेताहरुले पनि ओलीले यसपटक मनैदेखि केही गर्न खोजेकाले आफ्ना माग र मुद्दाहरु सम्बोधन भए उनैबाट हुन सक्ने बुझेका छन् ।
    Onlinekhabar

    No comments

    Like Us