फेरि सकियो पैसा, भूकम्प पीडित मर्कामा

पुननिर्माण प्राधिकरणले समयसीमा तोकेर अनुदान प्रक्रियालाई अघि बढाएपछि सिन्धुपाल्चोकमा घर निर्माणले गति लिएको थियो । तर, पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको रकम निकाशा नगर्दा समस्या सुरु भएको छ ।
शहरी बिकास तथा भवन डिभिजन कार्यालयले दोस्रो र तेस्रो किस्ताको लागि दैनिक ५० बढी लाभग्राहीको फाइल भुक्तानीका लागि जिल्ला समन्वय समितिमा पठाउने गरेको छ । तर, समन्वय समितिको खातामा पैसा नभएपछि भुक्तानीका लागि आएका सबै फाइलहरु रोकिएको जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
समितिले भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएका फाइलहरु समेत अडिकएको छ । ‘पुरानै लाभग्राहीहरुलाई रकम अभावमा भुक्तानी गर्न सकिएको छैन, नयाँ फाइलहरुको ठुलै चाङ लागेको छ’ पन्तले भने ।
जिल्ला समन्वय समितिले दुई साता अघि पनि रकम सकिएपछि पुननिर्माण प्राधिकरणमा १ अर्ब ८० करोड ४४ लाख रुपियाँ माग गरेको थियो ।
तर, जम्मा ५० करोढ मात्रै पठाएको र त्यो रकम पनि सकिएको पन्तले बताए । ‘पाइप लाइनमा धेरै फाइलहरु छन्, उनीहरु लाई मात्रै भुक्तानी गर्ने हो भने पनि १ अर्ब ३१ करोड रुपियाँ आवश्यक पर्छ’ पन्तले भने ।
तर, जम्मा ५० करोढ मात्रै पठाएको र त्यो रकम पनि सकिएको पन्तले बताए । ‘पाइप लाइनमा धेरै फाइलहरु छन्, उनीहरु लाई मात्रै भुक्तानी गर्ने हो भने पनि १ अर्ब ३१ करोड रुपियाँ आवश्यक पर्छ’ पन्तले भने ।
तेस्रो किस्ता लिने प्रक्रिया समेत सुरु भइसकेकाले अब रकम धेरै चाहिने उनको भनाइ छ । ‘प्राधिकरण प्रमुखको नम्बर अफ रहेछ, लेखा अधिकृतलाई फोन गरेँ’ पन्तले भने, ‘कुन स्रोतबाट दिने हो, पैसा नै छैन भन्ने जवाफ आयो ।’
फागुन र चैत महिनाका लागि मात्रै सिन्धुपाल्चोकमा ५ अर्ब बढी रकम आवश्यक हुने जिल्ला समन्वय समितिले जानकारी दिएको छ । सिन्धुपाल्चोकका भुकम्प पीडितहरुका लागि आवश्यक रकम मध्ये ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत जापनको जाइकाले ऋण अनुदानबाट भुक्तानी भइरहेको छ । तर, जाइकाले २ अर्ब बढी रकम सिन्धुपाल्चोकका लागि पुननिर्मामण प्राधिकरणलाई दिइसकेको र नयाँ पैसाको लागि बैंकको प्रक्रिया लामो रहेकाले समय लाग्ने जाइकाले जानकारी दिएको छ ।
जाइकाले रकम दिन ढिलाइ गरेपछि नेपाल सरकारले आफ्नै स्रोतबाट रकम व्यवस्था गर्नुपर्ने भएपनि त्यो अहिलेसम्म हुन सकेको छैन । ‘छिटो स्रोतको व्यवस्थापन गरेर रकम पठाइदिन फेरि पत्रचार गरेका छौं । मौखिक आग्रह पनि गरेका छौं तर, रकम आएको छैन’ पन्तले भने ।
भुकम्प प्रभावित १४ जिल्ला मध्ये सबैभन्दा बढी लाभग्राही भएको जिल्ला सिन्धुपाल्चोक हो । ८३ हजार ६ सय ६३ कुल लाभग्राही मध्ये ७८ हजार ५३५ ले अनुदान सम्झौता गरेका छन् । उनीहरु मध्ये ४२ हजार ८४५ ले दोस्रो किस्ता र ५ हजार ८०४ लाभग्राहीले तेस्रो किस्ता प्राप्त गरेका छन् ।
Onlinekhabar
No comments