• Trending News

    प्रेस रिभ्यूः प्रधानमन्त्री कार्यालयमा मन्त्री, राष्ट्रपतिमा भण्डारी नै दोहोरिने सम्भावना

    काठमाडौं । राजधानीबाट आज प्रकाशित अखबारहरुले विविध विषयलाई स्थान दिएर छापेका छन् ।
    फोरमलाई सरकारमा ल्याउन केही दिनदेखि जारी वार्तालाई आजका सबैजसो दैनिक पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । पत्रपत्रिकाका अनुसार, संविधान संशोधनका विषयमा सहमति जुटे पनि मन्त्रालयको भागबण्डामा कुरा मिल्न बाँकी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली फोरमलाई सहमतिमा ल्याएर सरकार विस्तारको तयारीमा छन् । तर एमालेमै मन्त्रीको किचलो छ, कसलाई मन्त्री बनाउने भन्ने विषय टुंगिएको छैन । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले विविध शीर्षकमा लेखेका छन् ।
    राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी नै दाहोरिने संकेत देखिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । देशभरका जेलहरुको अवस्था उधिनेको अन्नपूर्णले प्रधानमन्त्रीलाई सघाउन प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री राख्न लागिएको अर्काे समाचार पनि छापेको छ ।
    राजधानी दैनिकले आइतबार सरकार विस्तार हुने दाबी गरेको छ भने नागरिक दैनिकले निम्तोमै जनप्रतिनिधिको समय बित्ने गरेको लेखेको छ ।
    दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी
    संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
    दुईतिहाइ मत पुर्याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।


    यसैबीच, मन्त्रालय बाँडफाँटमा भने सहमति जुट्न सकेको छैन । समाचार अनुसार सरकारले २ मन्त्रालय दिने प्रस्ताव गरेको छ भने फोरमले ३ मन्त्रालय मागेको छ ।
    नागरिक दैनिकले पनि वाम गठबन्धन र फोरमबीचको पछिल्लो छलफलबारे समाचार छापेको छ । समाचार अनुसार एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको एजेन्डामा सहमति गर्न तयार भएका छन् ।
    नागरिकका अनुसार एमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको छ । तर फोरमले भने उपप्रधानसहित तीन महत्त्वपूर्ण मन्त्रालय मागेको छ ।
    एमालेमा मन्त्री छान्न झमेला, माओवादीका सशंकित
    प्रधानमन्त्री केपी शर्मा ओली फोरमलाई सहमतिमा ल्याएर सरकारलाई पूर्णता दिने सोचमा भए पनि स्वयं एमालेमा मन्त्रीको झमेला सुल्झेको छैन ।
    नयाँ पत्रिकाका अनुसार, एमालेभित्रै अर्थमन्त्रीका दाबेबदार सचिव प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै अहिलेसम्म मन्त्रीको अवसर नपाएका सचिव योगेश भट्टराई र अर्का सचिव गोकर्ण विष्ट दाबेदार छन् । ओलीलाई नजिकबाट सघाइरहेका विश्वासपात्र नेता ज्ञवाली फोरमसँगको बाँडफाँट टुंगिँदा महत्त्वपूर्ण मन्त्रालय पाउने सम्भावना कम हुने भएकाले सरकारमा सहभागी हुने कि नहुने द्विविधिामा छन् । पाण्डेसहित पदाधिकारी तहका दुई नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीसामु भएकाले २ या ३ मन्त्रालयमा अन्य आकांक्षीलाई मिलाउनुपर्ने हुन्छ ।
    माओवादी भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको छ । समाचार अनुसार फोरम पनि सरकारमा सहभागी हुँदा एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुने सम्भावना देखिन्छ । त्यसैले मन्त्रीका लागि छानिएकाहरु रिङ आउट हुनसक्ने भन्दै सशंकित भएको समाचार नयाँ पत्रिकाले छापेको छ ।
    राष्ट्रपतिमा पुनः भण्डारी नै दोहोरिने संकेत, कांग्रेस उम्मेदवार को ?
    वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको दाबी अन्नपूर्ण पोस्ट दैनिकले गरेको छ ।
    एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्याउने निश्चितप्रायः रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए ।
    २३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गरेको समाचारमा उल्लेख छ ।
    वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको दाबी स्रोतको छ ।
    प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन् । विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । राष्ट्रपति पदको उम्मेदवारको प्रस्तावक वा समर्थकमध्ये एक वरिष्ठ नेता खनाल हुने पनि ती नेताले दाबी गरेका छन् ।
    माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोर्याउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् ।
    कांग्रेसको राष्ट्रपति उम्मेदवार को ?
    राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भए पनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल नै सुरु गरेको छैन ।
    जनता पोस्टका अनुसार २१ फागुनमा पार्टी संसदीय दलको चुनाव हुने भएकाले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेता यसमै केन्द्रित भएका छन् ।
    कांग्रेस नेता बालकृष्ण खाँडले संसदीय दलको नेता छनोटपछि यसबारेमा टुंगो लगाइने बताएको जनता पोस्ट दैनिकमा समाचार छ ।
    अब प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री
    सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी थालेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
    संघीय शासनमा सफलता हासिल गरेको मलेसिया, अस्टेलिया र क्यानडाको सिको गरेर प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको कार्यालयले जनाएको छ ।
    प्रधानमन्त्री कार्यालयलाई चुस्त राख्न तथा केही महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना वरिष्ठ मन्त्री राख्ने भएपछि त्यसको व्यवस्थापन थालिएको हो ।
    ऐन नबन्दै सांसदले लिए एक–एक लाख पेश्की
    प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन् ।
    कान्तिपुर दैनिकका अनुसार सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ ।
    प्रदेशसभा सचिवालयका अनुसार ३० भन्दा बढी सांसदले पेश्कीबापत उक्त रकम बुझिसकेका छन् । सचिवालयले सांसदहरुको आवास व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जनाएको छ । तर प्रदेश राजधानी वीरेन्द्रनगरमै घर हुने सांसदहरुले समेत पेश्की रकम बुझेका छन् ।
    वृषेशचन्द्र लाल भए ‘महामूर्ख’
    राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्दै लाल महामूर्ख घोषित भएका छन् ।
    मिथिला नाट्यकला परिषद (मिनाप) ले बिहीबार आयोजना गरेको रंगारंग कार्यक्रमबीच लाललाई महामूर्ख घोषणा गरेको समाचार कान्तिपुर दैनिकमा छ ।
    फागुको अवसरमा मिनापले गत २२ वर्षदेखि दुई दिवसीय फागु महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवको पहिलो दिन बुधबार फागु गायन प्रतियोगिता सम्पन्न भएको थियो भने बिहीबार महामूर्ख सम्मेलनको आयोजना गरिएको हो ।
    हेलिकोप्टरबाट बोकेर सदरमुकाममा लगियो गाडी
    नयाँ पत्रिका दैनिकका अनुसार राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमकोटमा हेलिकोप्टरबाट गाडी पुर्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो ।
    समाचार अनुसार तीन महिना लगाएर गाडी सिमिकोट पुयाइएको हो । योसँगै अब सदरमुकाम सिमकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ ।
    Onlinekhabar

    No comments

    Like Us