महन्थलाई बालुवाटार बोलाएर ओलीले भने- देश बनाउन मसँगै हिँड्नुस्

उपेन्द्र यादवलाई मात्रै भाउ दिएको भनेर मन दुःखाइरहेका राजपा नेताहरुकै आग्रहमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच यो भेटघाटको चाँजोपाँचो मिलाएका थिए एमाले उपमहासचिव विष्णु पौडेलले ।
निकै पुराना यी दुई मित्रबीच प्रधानमन्त्री निवासमा करीव साढे दुई घण्टा अन्तरंग कुराकानी भयो । मधेस आन्दोलन, त्यसप्रति ओलीको रुझान, अनि ओली प्रधानमन्त्री हुँदा मधेसको पूर्वाधार विकासका लागि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले लगाएको बजेटका बारेमा पनि त्यहाँ छलफल भए ।
मधेसको ‘मेजर स्केटक होल्डर’ राजपा भएकाले फोरमलाई मात्रै सरकारमा लैजाने वाम गठबन्धनको योजना हो कि भन्ने आशंका पनि ठाकुरले राखेको स्रोतको दावी छ ।
स्रोतका अनुसार अढाई घण्टाको वार्ताका क्रममा ओली र ठाकुरबीच खुलेर छलफल भयो । प्रधानमन्त्री ओलीले राजपालाई पनि सरकारमा आउन आग्रह गरे । उनले आफू संख्या देखाउने भन्दा पनि देश बनाउने उद्देश्यले प्रधानमन्त्री भएको भन्दै देश बनाउनका लागि राजपालाई पनि सँगै लिएर जान तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले एक दुईजना मन्त्री बन्ने कुरा ठूलो नरहेको भन्दै देश बनाउने मिसनमा सहभागी हुन ठाकुरलाई आग्रह गरे ।
फोरमले बढी मन्त्रालय मागेको भनेर वार्ता अवरुद्ध भइरहेका बेला राजपालाई पनि सरकारमा आउन आग्रह गर्नु प्रधानमन्त्रीको औपचारिकतामात्र हो कि साँच्चै नै पहल लिन खोजेको हो ? अनलाइनखबरको यो प्रश्नमा प्रधानमन्त्री निकट एक एमाले नेताले भने- यो औपचारिकताका लागि गरिएको आग्रह होइन, उहाँहरुलाई साँच्चै नै सरकारमा सहभागी गराएर देश बनाउने मिसनमा सँगै हिडाउन खोजिएको हो ।
र, यसो गर्दा एमालेले थप एक दुई मन्त्रालय गुमाउनपरे पनि तयार छ ।
‘एक दुईजना मन्त्री नबन्दैमा केही हुदैन,तर देश बनाउने अभियानमा सबैलाई साथमा लैजाने हो,राजपालाई पनि लैजाने भनेरै प्रधानमन्त्रीले महन्थलाई बोलाउनुभएको हो’ एमालेका ती नेताले भने ।
‘एक दुईजना मन्त्री नबन्दैमा केही हुदैन,तर देश बनाउने अभियानमा सबैलाई साथमा लैजाने हो,राजपालाई पनि लैजाने भनेरै प्रधानमन्त्रीले महन्थलाई बोलाउनुभएको हो’ एमालेका ती नेताले भने ।
सरकारमा आउन प्रधानमन्त्रीले गरेको आग्रहलाई राजपा अध्यक्ष ठाकुरले पनि सकारात्मक रुपमा लिएका छन् । उनले प्रधामन्त्रीको आग्रह सकारात्मक रहेको भन्दै सरकारमा सहभागी हुने बारेमा आफ्नो पार्टीमा छलफल गर्ने बताएको ठाकुर निकट स्रोतले जनाएको छ ।
ठाकुरले ओलीप्रति आफ्नो व्यक्तिगत कुनै गुनासो नरहेको भन्दै मधेसको संवेदनशीलता बुझेर काम गरिदिन आग्रह गरेका थिए ।
वाम गठबन्धनको सरकारमा सामेल हुन दुवै मधेसवादी दल आतुर छन् । दुवैलाई संविधान संशोधनको ‘फेस सेभिङ’ सहमतिमा हस्ताक्षर चाहिएको छ । यस्तो हस्ताक्षर गर्न प्रधानमन्त्री तयार छन् । तर, उपेन्द्रलाई मात्र महत्व दिएकोमा राजपा नेताहरु असन्तुष्ट छन् ।
यसबीचमा राजपाका नेताहरुले बिष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेतामार्फत प्रधानमन्त्रीसमक्ष आफ्नो गुनासो पुर्याएका थिए ।
दोस्रो तहका नेताहरुको पहलमै ओली र ठाकुरको अढाई घण्टा वार्ता भएको हो । राजपा नेताहरुले उपेन्द्र यादवले कुनै पनि बेला धोखा दिने र प्रचण्डले उनलाई प्रयोग गर्न खोजेको पोल समेत एमाले नेताहरुलाई लगाएका छन् । राजपा पनि सरकारमा सहभागी हुन चाहान्छ ।
यसबीचमा प्रचण्ड र उपेन्द्र यादवको खेलमा परेर प्रधानमन्त्रीले राजपालाई बिर्सेको टिप्पणी राजपा नेताहरुले गरेका छन् ।
राजपा अध्यक्ष मण्डलका एक सदस्यले भने- एमाले स्थायी कमिटीले राजपा र फोरमलाई पनि सरकारमा सामेल गर्ने निर्णय गरेको थियो, तर यसबीचमा फोरमसँग मात्र किन कुरा भयो ?
प्रधानमन्त्रीलाई गुमराहमा राखिएको हुनसक्छ भनेर हामीले आफ्नो कुरा भन्न ठाकुरजीलाई पठाएका हौं । उपेन्द्रलाई मात्रै साथमा लिएर मधेस सम्बोधन हुँदैन भन्ने जानकारी दिन खोजिएको हो ।
onlinekhabar
No comments