• Trending News

    फर्जी फ्याकल्टी रोक्न औंठा छाप, मापसे गरे शिक्षकको जागिर चट !

    काठमाडौं । आज सोमबार, राजधानीबाट प्रकाशित भएका सबैजसो दैनिक पत्रिकाहरुले युरोपियन युनियन (इयू) को प्रतिवेदनप्रति प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई प्रमुखताका साथ पहिलो पृष्ठमा छापेका छन् ।  इयूको प्रतिवेदनलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उत्पन्न भएका बेला प्रधानमन्त्री ओलीले आइतबार नेपाललाई नहेप्न भनेका थिए ।
    प्रधानमन्त्री ओलीले गर्न लागेको भारत भ्रमणको विषयमा पनि अाजका पत्रपत्रिकाहरुले सामसामग्री पस्केका छन् । नागरिक दैनिकको समाचारमा भ्रमण परम्पराकै निरन्तरता भएको उल्लेख छ भने नयाँ पत्रिकाले भारतको तयारी र सम्भावित एजेन्डाबारे चर्चा गरेको छ ।
    यसका अतिरिक्त आईजीपी बढुवामा राजनीतिक दाउपेच सुरु भएको, राजधानीकै क्यासिनो अवैध रहेकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले महत्त्व दिएर छापेका छन् ।
    प्रधानमन्त्रीको भारत भ्रमणः परम्परामा पदचाप मिलाउँदै
    विगतका परम्परालाई दोहोर्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्न लागेको नागरिक दैनिकले लेखेको छ ।
    समाचार अनुसार भारतीय पक्षले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री ओलीले भ्रमण गर्ने जनाउ दिएपछि परराष्ट्रमन्त्रालयले तयारी सुरु गरेको हो ।
    प्रधानमन्त्रीको निर्देशनअनुसार भ्रमण सफल पार्न परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको छ । परराष्ट्रले सरोकारवाला मन्त्रालयसँग एजेन्डा मागेपछि मन्त्रालयहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।

    नयाँ पत्रिका दैनिकले नेपालमा करिब दुईतिहाइ बहुमतनजिकको वामपन्थी सरकारलाई उच्च महत्त्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्न लागेको लेखेका छ । विगतमा मधेसको सीमांकनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको दाबी नयाँ पत्रिकाकाे छ ।
    ‘उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यान्डेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थायित्वमा सघाउने बताएको छ’, नयाँ पत्रिका लेख्छ– नयाँ सरकारसँग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ ।’
    भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकाले जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोगलगायतका विषयलाई भारतले प्राथमिकतामा राखेको लेखेको छ ।
    नयाँ पत्रिकाकै समाचारमा नेपाल–भारत सम्बन्ध मजबुत हुन लागेको भनेर नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले व्यक्त गरेको भनाइ पनि छ ।
    मन्त्री क्वाटर भारतको सहयोगमा
    ललितपुरको पुल्चोकस्थित मन्त्रीहरूको क्वाटरका एउटै मोडलका १५ वटा भवन भारत सरकारको सहयोगमा २०२६ सालमा निर्माण भएको तथ्य फेला परेको नेपाल समाचारपत्र दैनिकले समाचार लेखेको छ। भवन निर्माण सम्भार डिभिजन प्रमुख अम्बादत्त जोशीले यसको पुष्टि गर्दै बाँकी ४ वटा भवन चाहिँ तत्कालिन सरकारले २०५२ सालमा बनाएको बताए।
    सरकारसँग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ। हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन्। पुल्चोकमा अहिले १८ खोटा मन्त्रीक्वार्टर रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ ।
    अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन्।
    क्वाटर अभाव भएपछि पाँच क्वाटर निर्माणका लागि टेन्डर आह्वान गरिएको समाचारमा उल्लेख छ ।
    फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप
    चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी –नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ ।
    चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन नक्कली शिक्षक राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको अन्नपूर्णले लेखेको छ ।
    तीनै तहमा १ लाख ७ हजार कर्मचारी आवश्यक

    संघ, प्रदेश र स्थानीय तहमा १ लाख ७ हजार कर्मचारी आवश्यक पर्ने पर्ने भएको छ । सरकारले यही निष्कर्षसहित दरबन्दी तयार पारेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीन तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक भएको भन्दै दरबन्दीको प्रारुप तयार पारेको हो ।
    अन्नपूर्णका अनुसार सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारीको नयाँदरबन्दीअनुसार अब केन्द्र र त्यसअन्तर्गतका कार्यालयमा गरी ३६ हजार ८ सय ४५ कर्मचारी रहनेछन् भने प्रदेश सरकार र त्यसअन्तर्गतका कार्यालयमा १६ हजार ४ सय २८ कर्मचारी रहनेछन् । सबैभन्दा बढी कर्मचारी भने स्थानीय तहमा रहनेछन् ।
    आईजीपी बढुवामा राजनीतिक दाउपेच

    नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल चैत २८ बाट अवकाश हुन लागेपछि नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ ।
    सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक र्आइजीपी हुने प्रचलन हो । तर ०४९ सालयता कार्यक्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बनेको नागरिकमा खबर छ ।
    आईजीपी श्रेष्ठ र एआईजी केसको नामको बली नचढेपछि
    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन । यस दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा मात्रै गरिँदैन, संकल्प गर्दै कुभिन्डो, राँगा र बोकाको बलि पूजासमेत गरिन्छ । साथै संगठन प्रमुखका तर्फबाट निशानमा पन्जाछापसमेत लगाइन्छ ।
    यस दिन बलिपूजाअन्तर्गत संगठन प्रमुखका तर्फबाट पञ्चबलिका नाममा बोका र राँगा बलि दिने प्रचलन छ । साथै इच्छुक अधिकृतहरुका नाममा पनि बोकाको बलि दिने प्रचलन छ ।
    यो मौलो पूजा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मुख्यालयनजिकै रहेको बगलामुखी विशेष कार्यदल गणमा गर्दै आएको छ । नेपाल प्रहरीले भने नक्सालस्थित प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ मा गर्दै आएको छ ।
    सशस्त्र प्रहरी बलले चैते दसैंअन्तर्गत महानवमीको अवसरमा आइतबार गरेको मौलोपूजा भने विगतको जस्तो सुखद रहेन । अर्थात् संगठनको १७ वर्षे इतिहासमा कहिल्यै पनि नभएको दुःखद् घटना हुन पुगेको राजधानीमा खबर छ ।
    हुन त सशस्त्र प्रहरीले साइत निकालेरै बिहान ६ बजेर ११ मिनेटमा पूजाको संकल्प गरेको थियो । साइत निकालेरै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमबीच पूजाअर्चना गरेको निशान तथा मौलोपूजा कार्यक्रम विशेषगरी महानिरीक्षक श्रेष्ठका तर्फबाट सिंगो संगठन र अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीका लागि अत्यन्तै खल्लो बन्न पुगेको हो । संगठनका तर्फबाट महानिरीक्षक श्रेष्ठले बोका र राँगा बलि दिएका थिए । तर, बोका र राँगा दुवै एकै पटकको मारमा छिनेनन् । सामान्यतः बलि दिएका जीवजन्तु एकै मारमा छिन्नुपर्ने भनिँदै आएको छ । एकपटकमा नछिने अनिष्ट हुनेसमेत भनिन्छ ।
     मापसे गरे शिक्षकको जागिर चट !

    मादक पदार्थ सेवन गरेर विद्यालयमा जाने शिक्षक तथा कर्मचारीको जागिर चट हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको शनिबार सम्पन्न दोस्रो नगरसभाबाट पारित शिक्षा ऐन–२०७४ मा मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगर शिक्षा समितिले त्यस्ता शिक्षक तथा कार्यरत कर्मचारीलाई जागिरबाट हटाउने उल्लेख छ ।
    ‘विद्यालयमा मादक पदार्थ सेवन गरेर आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिले कार्यरत पदबाट हटाएर वडा शिक्षा समितिमार्फत नगर शिक्षा समितिलाई जानकारी गराउने छ’, पारित शिक्षा ऐनमा भनिएको छ, ‘हटाउनु अघि एकपटक स्पष्टीकरणको मौका भने दिइने ।’
    र, यो पनि– कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्
    अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ ।
    छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो ।
    हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा अगाडि बेहुलीका लागि महिलाले महर्दन दिने चलन । बेहुलीका लागि सुनका गहना, लत्ताकपडालगायत सामान दिनुलाई महर्दन भनिन्छ । तर महर्दनका कारण भनेजति सुन बेहुला पक्षले नल्याएकाले विवाह नै रोकिएको छ ।
    अन्नपूर्ण लेख्छ– खुसीयाली छाइरहेका बेला माहोल बदलियो । जन्तीहरुबीच भागभाग मच्चियो । केहीले खाना खाए, केही नखाइ घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस् भइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो ।
    बिहे रोकिएपछि बेहुला पक्षसँग दाइजो फिर्ता र खर्च भएको रकम बेहुली पक्षले मागेको थियो । जन्तीलाई राति नै बिदाइ गरिएको स्थानीय बताउँछन् । खर्च रकम र दाइजो फिर्ता लिन बेहुली पक्षले बेहुला, उनका बुवा र ठूलो वुवालगायत पाँच जनालाई रोकेर राखेको थियो । रातभर छलफल भए पनि विवाद प्रहरी कार्यालयमा पुगेको समाचारमा उल्लेख छ ।
    अन्नपूर्णका अनुसार लहान प्रहरी कार्यालयमा नमिलेको विवाद बेहुला पक्षले बेहुलीका बुवालाई एक लाख ८५ हजार रुपैयाँ तिरेपछि मिलेको छ ।

    No comments

    Like Us