• Trending News

    कोहलीको कप्तानीमा भारतले दक्षिण अफ्रिकामा इतिहास रच्यो

    भारतले दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ। ६ एक दिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पाँचौँ खेलमादक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै भारतले श्रृङ्खलामाथि कब्जा गरेको हो।
    योसँगै भारतले दक्षिण अफ्रिकाको मैदानमा पहिलो पटक श्रृङ्खला जितेको हो। यो जितले भारतलाई आइसिसी एक दिवसीय विश्व वरियताको पहिलो नम्बरमा ल्याएको छ। शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दोस्रोमा धकेलिएको छ।
    यो सँगै विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोली टेस्ट तथा एक दिवसीय दुवै र्‍याङ्किङमा पहिलो नम्बरमा छ। कोहलीकै कप्तानमा भारतले दक्षिण अफ्रिकामाथि उसैले घरेलु मैदानमा शृंखला जितेको हो।
    मंगलबार हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। उसका लागि रोहित शर्माले सतकीय पारी खेले। १२६ बल खेलेका शर्माले ११ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाएका थिए।
    यस्तै कप्तान कोहलीले ३६, शिखर धवनले ३४, श्रेयस आय्यरले ३० तथा भुवनेश्वर कुमारले नटआउट १९ रनको योगदान दिए।  दक्षिण अफ्रिकाका लिंगी एनगिडीले चार  तथा कागिसो रबादाले १ विकेट लिएका थिए।
    २७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले ४२ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्रै २०१ रन बनायो।
    उसका लागि हासिम अमलाले ७१, हेनरिक क्लासेनले ३९ तथा डेविड मिलरले ३६ रनको योगदान दिए पनि हार टार्न सकेनन्।
    भारतका लागि कुलदीप यादवले चार तथा युजवेन्द्र चहल र हार्दिक पाण्डेयले दुई दुई विकेट लिए। जसप्रित बुमराहले १ विकेट हात पारे।
    यो जितसँगै भारतले ६ एक दिवसीयको श्रृङ्खलामा ४–१ को अग्रता लिएको छ। पहिलो, दोस्रो र तेस्रो एक दिवसीय लगातार जितेको भारतले चौथोमा गुमाएको थियो।
    दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले अब एउटा एक दिवसीय खेल खेल्न बाँकी छ । यसपछि तीन ट्वान्टी–ट्वान्टी श्रृङ्खला पनि हुनेछ।

    No comments

    Like Us