• Trending News

    जनकपुर चुरोट कारखानाको भवनमा प्रदेश मन्त्रालय स्थापना

    धनुषा । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।
    जनपुर चुरोट कारखानाको ४ तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको हो । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ । मन्त्रालयलाई सुविधा सम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन् । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ ।
    कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र गतिले भइरहेको छ । जनकपुर चुरोट कारखानाका वरिष्ठ अधिकृत बस्ने चारवटा क्वार्टरलाई मर्मतसम्भार गरेर मन्त्रीको निवास बनाइएको छ ।
    जनकपुर चुरोट कारखानाको कम्पाउण्डभित्र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, चार वटा मन्त्रालय तथा मन्त्रीहरूको आवास राखिएको छ । यसअघि जनकपुरको शहरी विकास तथा भवन निर्माण कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यालय जनकपुर चुरोट कारखानाभित्रै सारिएको छ । केन्द्रीय शासकीय भवन सिंहदरबारजस्तै प्रदेश २ का सबै सरकारी निकाय जनकपुर चुरोट कारखाना कम्पाउण्डभित्र राखिने योजना रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थको कार्यालय र निवास शुरुमा जनकपुर चुरोट कारखानामा राखिएको थियो । त्यसपछि क्रमशः प्रदेश २ को अन्य कार्यालयहरू त्यही लगिएको हो ।
    प्रदेशको सात मन्त्रालय, सात जना मन्त्री, सात जना मन्त्रालयका सचिव, मुख्य सचिवको निवास र कार्यालयको तयारी अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए ।
    Onlinekhabar

    No comments

    Like Us