• Trending News

    सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका

    काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको छ ।
    सुरक्षा परिषदका सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र मेडिकल सुविधा पुर्‍याउने विषयमा भोटिङ गरेका थिए ।
    यस हप्ताको शुरुआतमा सीरियाको राजधानी नजिकको गुटा क्षेत्रमा सीरियाका सेनाले बमबारी गरेका थिए । विद्रोहीले नियन्त्रणमा लिएको सो क्षेत्रमा आक्रमण गर्दा धेरै सर्वसाधारण मारिएका थिए । यस कारवाहीलाई रोक्ने उद्देश्यले सुरक्षा परिषदमा भोटिङ भएको थियो । यद्यपि युद्धविराममा सहमति जुटे पनि हवाई हमला जारी छ ।
    यसअघि युद्धविरामको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा लामो बहस भयो । बिहीबार पेश भएको युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो । त्यसको चर्को आलोचना भएको थियो । रुसले सीरियाका सरकारलाई समर्थन गर्दै आएको छ ।
    संयुक्त राष्ट्र संघमा अमेरिकी प्रतिनिधि निकी हेलीले भनेका छन् संघर्ष विरामको तत्काल प्रभावकारी कार्यान्वयन हुनुपर्छ । यद्यपि सीरियाले संघर्षविरामलाई लागू गर्न तयार हुनेमा शंका व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघमा रुसका प्रतिनिधि विताली चुर्किनले संघर्षविरामको पालन तबसम्म सम्भव हुँदैन जबसम्म संघर्षरत दुवैपक्षले त्यसलाई स्वीकार गर्दैनन् ।
    सीरियाको संघर्षलाई नजिकबाट हेर्दै आएको बि्रटेनस्थित अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार शनिबार अबेर राति सुरक्षा परिषदमा युद्धविरामको सहमति भएको केही मिनेटमै पूर्वी गुटामा हवाई हमला भएको थियो ।
    अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार एक हप्ताको अवधिमा सीरियाको गुटा क्षेत्रमा पाँच सय जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पूर्वी गुटाका जनता नारकीय जीवन जिउन बाध्य भइरहेको बताउँदै आएका छन् ।
    Onlinekhabar

    No comments

    Like Us