कहिल्यै नमेटिने मनोरञ्जनको प्यास बाइस्कोपदेखि मल्टिप्लेक्स हलसम्म, भिडियो डेकदेखि युट्युबसम्म
भैरहवाको बैंकरोडतिरबाट आएको एउटा रिक्सा नारायणस्थान सडक किनारामा टक्क रोकियो । आसपास रहेका भुराभुरी रिक्सावरिपरि झुम्मिए ।
रिक्साकै छेउमा पान पसल थियो । उखरमाउलो गर्मी । दिनको त्यस्तै एक बजेको हुँदो हो । टाउकोमा बाँधेको कपडाको सानो टालोले पसिना पुछ्दै रिक्सावाल त्यो पानपसलतिर लागे, उही चौबे छाप तम्बाकु ब्रान्डको टिनको डब्बामा पाइने रसिलो र तिखो खैनी किन्न ।
रिक्सा हेर्दा नै मनोरञ्जक थियो । हेन्डिलको दुवै टुप्पोमा रंगीबिरंगी टल्किने फुर्काहरु लहराइरहेका थिए । चक्कामा पनि आकर्षक रंग पोतिएको थियो । ठाउँ-ठाउँमा हिन्दी चलचित्रका हिरो-हिरोइनका पोस्टकार्ड ‘चिप्काइलिएका’ थिए । रिक्साको पछाडि एउटा ठूलो होर्डिङ बोर्डमा भर्खरै रिलिज भएको चलचित्रको पोस्टर टाँसिएको थियो । र, त्यो चलचित्रको नाम थियो, ‘शराबी’ ।
‘मुझे नौलखा मंगा देंगे रे, हो सैंया दिवाने’
रिक्साको अग्रभागमा फिट गरिएको ढ्वाङ (माइक)मा टोलै थर्काउने गरी आशा भोसले र किशोरकुमारको गीत घन्कियो । रिक्साको सिटमा बसेका थिए एक जना अग्लो, मोटो अनि काउब्वाय ह्याट लगाएका मान्छे, जोसँग माइक्रोफोन थियो ।
‘पञ्चरत्न सिनेमा हलमा आजदेखि भव्यताका साथ प्रदर्शन भइरहेको छ, धमाकेदार रोमान्स र फाइटले भरिएको पिक्चर शराबी । पात्रहरु अमिताभ बच्चन, जयप्रदा र प्राण । भरपुर मनोरञ्जन, पैसा वसुल । सपरिवार हेर्न नछुटाउनुहोला,’ काउब्वाय ह्याटवाला ‘दाइ’ चिच्याए ।
यो ०४० सालतिरको प्रसंग हो । हाम्रो परिवार भैरहवाको नारायणस्थानमा बस्थ्यो र नारायणस्थानमै थियो, मैले पढ्ने इन्द्रराज्यलक्ष्मी स्कुल, जसलाई त्यसबेला ‘कन्या स्कुल’ भनिन्थ्यो ।
खोकिलामा कापी र कलम बोकेर स्कुल जान भनेर हिँडेको मलाई माइकमा घन्किएको ‘गाना’ र ‘पिक्चर’को पोस्टरले आकषिर्त् गरिहाल्यो । र, त्यसै दिन हाफ टाइममा स्कुलबाट भागेर पञ्चरत्न हलमा अमिताभ बच्चनको ‘शराबी’ हेरियो । त्यो पनि बाको खल्तीको पैसा चोरेर ।
३५ वर्षअघि हामी १०/११ वर्षको हुँदा मनोरञ्जनको अलि रसिलो माध्यम भनेकै चलचित्र थियो । तर, हामीसँग चलचित्र हेर्ने पैसा हुँदैनथ्यो । जब हातमा पैसा पथ्र्यो, हामी हलतिर दौडन्थ्यौं र तृतीय श्रेणीको टिकट काट्थ्यौं, जसको मूल्य त्यसबेला डेढ रुपैयाँ थियो ।
सेतो पर्दानजिक ३/४ पंक्ति लामा-लामा बेन्च राखिएका हुन्थे र त्यो बेन्चमा प्रायः हामीजस्ता भुराभुरीहरुकै भीड हुन्थ्यो । हलवालाले सिट संख्याभन्दा बढी टिकट बेच्थे र भुराभुरीहरु बेन्च नपाएर भुईंमा समेत बस्थे ।
पर्दा निकै नजिक हुने भएकाले टाउको पछाडिसम्म बंग्याएर बडो कष्टका साथ सिनेमा हेथ्र्यौं । तैपनि मजा हुन्थ्यो । जब गीत बज्थ्यो, हामी सबै भुराभुरी उपि|mएर नाच्थ्यौं । कोही कोही त नाच्दै गाउँदै पर्दाकै छेउसम्म पनि पुग्थे । बाल्कोनीदेखिका मानिस कराउँदै भन्थे, ‘अबे वे लवण्डे बैठ जा रे, गाना खतम हो गया ।’
सिनेमा चलिरहेकै बेला कोही ढोका खोलेर बाहिर निस्कन्थ्यो, त्यसबेला बाहिरको प्रकाश भित्र छिथ्र्यो र पर्दाको चित्र स्पष्ट देखिँदैनथ्यो । कहिलेकाहीं झ्याप्प लाइन गएर फिल्म बन्द हुन्थ्यो । त्यसबेला दर्शकको आक्रोशको सीमा नै हुँदैनथ्यो, उनीहरु कानै खानेगरी चिच्याउँथे ।
कहिलेकाहीं फिल्म चालु हुँदाहुँदै बन्द भयो र केहीबेरमै चालु भयो भने हामी भन्थ्यौं, ‘साला हल मालिकले रिल काट्यो ।’
क्यानमा छायांकन गरिने चलचित्रको चक्कालाई घुमाएर प्रकाश र लेन्समार्फत् पर्दामा परावर्तित गरेर देखाइने फिल्मको जमाना अब रहेन । आजको डिजिटल युगमा एकातिर मनोरञ्जनका साधन बढेका छन् अर्कोतिर प्रविधिमा पनि आमुल परिवर्तन आएको छ ।
बिनाका गीतमाला र आमीन सायनी
एकदिन घरमा बाले नेसनल पानासोनिक रेडियो किनेर ल्याए, बीबीसी सुन्न । बीबीसी नेपाली सेवा होइन, हिन्दी । बिहान र साँझ ओमकारनाथ श्रीवास्तव, प्रबेग आलम, पंकज पचौरी आदिको आकर्षक समाचार वाचन हुन्थ्यो र नबुझे पनि हामी सुन्थ्यौं ।
यसैगरी एकनास गुञ्जिरहने आकाशवाणीको त्यो मालकोस रागवाला धुन पनि मेरो स्मरणमा ताजै छ ।
गोरखपुर, नौतनवा हुँदै सुनौली नाका भएर घर फर्केका लाहुरे दाइहरु कपडाको खोल लगाइएको रेडियो घन्काउँदै आएका देखिन्थे । ती दिनहरुमा तराईमा बिहेबारी हुँदा दाइजोमा नगदसहित रेडियो पनि माग्ने चलन थियो । किनकि, त्यतिबेलासम्म टीभीको चर्चासमेत सुनिएको थिएन । वैभव र सम्पन्नताको प्रतिक रेडियो सेट नै थियो ।
‘मेहरबानों, कदरदानों आइए, सुनिए वह गीत जिस ने आप की दिलों को झकझोर कर दिया है, लता मंगेशकर और किशोर कुमार के आवाज मे, कभी कभी…….’, एक दिन बाले किनेको रेडियो सेटमा एउटा ओजपूर्ण आवाज मैले सुनें ।
अल इन्डिया रेडियोबाट प्रसारण हुने कार्यक्रम ‘बिनाका गीतमाला’ रहेछ । नयाँ-पूराना हिन्दी चलचित्रका गीत बजाइने त्यो कार्यक्रममा ओजपूर्ण आवाजका धनी आमीन सायनीको कलात्मक उद्घोषणले स्रोतालाई मन्त्रमुग्ध पाथ्र्यो ।
सन् १९५२ देखि १९८८ सम्म त्यो कार्यक्रम रेडियो सिलोङबाट प्रसारण हुन्थ्यो । त्यसपछि त्यो अल इन्डिया रेडियोको विविध भारती सेवाअन्तर्गत् प्रसारण हुन थाल्यो र सन् १९९४ सम्म कायम रह्यो ।
बिनाका टुथपेस्टले प्रायोजन गरेको यो कार्यक्रम कालान्तरमा ‘सिबाका गीतमाला’ भयो किनकि बजारमा सिबाका नामक नयाँ टुथपेस्ट आयो । हुँदा-हुँदा ‘कोलगेट सिबाका गीतमाला’ पनि भयो ।
हामी तन्नेरी हुँदैगर्दा यही कार्यक्रममार्फत् हिन्दी गीत सुन्थ्यौं किनकि क्यासेट चक्कामार्फत् गीत सुन्न त्यसबेला आम मानिसको घरमा टेप रेकर्डर पनि त हुँदैनथ्यो ।
यसबाहेक मनोरञ्जनको साधन भनेको भैरहवाको ‘बसडिलवा मेला’ थियो, जहाँ भारतिरबाट आएको ‘नौटंकी टोली’को नाच हेर्न पाइन्थ्यो । रमाइलो मेलामा ‘मौतका कुवाँ’ भन्ने आइटम हुन्थ्यो, जहाँ ‘स्टन्टम्यान’हरु भिरालो सतहमा मोटरसाइकल कुदाउँथे । यस्तो मौतका कुवाँ हिजोआज पनि तराईका मेलाहरुमा देख्न पाइन्छ ।
बाइस्कोपः आगराका ताजहल देखो…
नारायणस्थानमा जहाँ हामी बस्थ्यौं, त्यहाँ हाम्रो घर अगाडि एउटा इमलीको ठूलो रुख थियो । अहिले त त्यो रुख काटेर घरहरु बनिसकेका छन् । म त्यसबेला पाँच कक्षामा पढ्थें । जाडो याम थियो र शनिबारको दिन हामी केटाकेटी इमलीको रुखमा चढेका थियौं ।
‘आगराका ताजमहल देखो, दिल्लीका कुतुबमिनार देखो’
यो आवाजले हामी केटाकेटीको ध्यान खिच्यो । हामी फटाफट रुखबाट तल झर्यौं ।
एक जना ‘भैया’ काँधमा काठको गोलाकार बक्सा बोकेर आएका रहेछन् । हामीले हेर्दाहेर्दै उनले काठको त्यो बक्सा काठकै स्ट्यान्डमाथि राखे ।
‘हेमा मालिनी देखो, धर्मेन्दर देखो….’
काठ अचम्मको थियो । कलात्मक पनि । बाकसको चारैतिर स-साना गोलाकार प्वाल थिए । ती प्वालभित्र सिसा देखिन्थ्यो । र प्वालमा गोलाकार ढक्कन पनि थियो ।
केही केटाकेटी ढक्कन खोलेर त्यो प्वाल चियाउन थाले । मलाई त्यसबेलासम्म थाहा थिएन, त्यो प्वालभित्र के छ ?
‘हेर्छस् ?’ आमाले सोधिन् ।
‘हेर्छु,’ मैले भनें ।
आमाले आफ्नो साडीमा गाँठो पारेर राखेको पैसाको पोको खोलेर चार आना -पच्चिस पैसा) झिकिन् र बक्सावालालाई दिइन् । पहिलोपटक मैले त्यही प्वालबाट चियाएर आगराको ताजमहल हेरें, दिल्लीको कुतबमिनार पनि हेरें । त्यसको ३० वर्षपछि मात्र हो, ताजमहल र कुतुबमिनारलाई प्रत्यक्ष देखेको ।
तर, नढाँटी भनुँ, प्रत्यक्षभन्दा मलाई त्यो काठका बाकसभित्र ताजमहल हेर्दा मजा आएको थियो किनकि त्यो मजा आउने उमेर जो थियो ।
अद्भूत त्यो चित्र बाकसलाई ‘बाइस्कोप’ भनिँदोरहेछ । काठको बक्साभित्र लेन्स राखिन्थ्यो र त्यसभित्र चलचित्रका रिलका टुक्रा या फोटो ठूलो पारेर देखाइन्थ्यो ।
लहरै राखिएका विभिन्न खालका स्थिर चित्रलाई माथिबाट घुुमाइन्थ्यो र एकपछि अर्को चित्र हामी हेर्न पाउँथ्यौं । एउटा चित्र धेरैबेर हेर्न पनि पाइँदैनथ्यो, देखाउनेले केहीबेरमै अर्को देखाइहाल्थे । करिब ८-१० वटा चित्र हेरेपछि खेल खतम, पैसा हजम ।
हो, नयाँ-पुराना हिन्दी गीतका साथ ती चित्र घुमाई-घुमाई देखाउँदा हामीलाई भने चलचित्र हेरेकै भान हुन्थ्यो । बाइस्कोप देखाउनेमध्ये कसै-कसैले गाइडले झैं चित्रको व्याख्या गरेर सुनाउँथे भने कसैले गीति कथाझैं गाएर बयान गर्थे । त्यो बाइस्कोपलाई स्थानीय भाषामा भनिन्थ्यो, ‘बारह मन की धोबन ।’
टेलिभिजनः झिरझिरदेखि एचडीसम्म
यो पनि त्यहीबेलाकै प्रसंग हो । सन् १९८२ मा भारतमा रंगिन टेलिभिजन प्रसारण आरम्भ भयो र अगस्ट १९८४ देखि पूरै भारतभरि दूरदर्शन आउन थाल्यो । भारतमा रंगिन टेलिभिजन प्रसारणको दुई महिना नबित्दै एउटा अकल्पनीय घटना भयो । त्यो थियो, भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या ।
हत्याको केही समयअघि मात्र इन्दिराकै आदेशमा ‘अपरेसन ब्लुस्टार’मार्फत् भारतका सिखहरुको आस्थाको केन्द्र स्वर्ण मन्दिर तहसनहस पारिएको थियो । सोही कारण सिख समुदाय गान्धी परिवारप्रति आक्रोशित थियो ।
३१ अक्टोबर १९८४ मा सफदरगञ्ज रोडस्थित आफ्नै निवासमा आफ्नै अंगरक्षकद्वय सतवन्त सिंह र बेअन्त सिंहले इन्दिरामाथि गोली प्रहार गरे ।
यो घटना हुँदाताका भैरहवामा ३-४ घरमा मात्र टेलिभिजन थियो । त्यसबेला नै राजनीतिमा चल्तापुर्जा खेलाडी भइसकेका हालका मन्त्री दीपक बोहरा, अर्का नेता सागरप्रताप राणा, हाइस्कुल पछाडि घर भएका ‘बादशाह राजा’ र प्रतिष्ठित व्यापारी नथुमल अग्रवालको घरमा भर्खर-भर्खर टेलिभिजन सेट भित्रिएको थियो ।
हाम्रा बा कवि रामचन्द्र भट्टराई त्यसबेला ओशोभक्त प्रतापकुमार भट्टचनले प्रकाशित गर्ने ‘दैनिक निर्णय’का सम्पादक थिए । सोही नाताले व्यापारी नथुमल अग्रवालले बालाई आफ्नो घरमा टीभी हेर्न डाकेका थिए । किनकि, टीभीमा प्रसारण भइरहेको थियो, इन्दिरा गान्धीको अन्तिम संस्कारको प्रत्यक्ष प्रसारण ।
नथमल अग्रवाल भैरहवामा चामल र तोरी पेल्ने मिल तथा कपडाको थोक बिक्रीको कारोबार गर्थे । उनी भन्थे, ‘एक लोटा पानी लिएर आएको थिएँ, भैरहवाले माया गरेर मलाई धनको सागरमा डुबायो ।’
पवन मिष्ठान्न भण्डारकै अगाडि उनको घर थियो र जहाँ उनको प्रख्यात कपडा पसल ‘नारायण बस्त्रालय’ पनि थियो । ती दिलदार व्यवसायीले आफ्नो घर परिसरमा ठूलै पाल टाँगेर भैरहवाका गन्यमान्य मानिसलाई टीभी देखाएका थिए ।
एक त टीभी, त्यसमाथि इन्दिराको अन्तिम संस्कार । हेर्ने मानिसको घुइँचै थियो र त्यो भीडमा म पनि बासँगै पुगेको थिएँ । जीवनमा पहिलो पटक टीभी हेरेको त्यसैबेला हो ।
विस्तारै भैरहवाका हुनेखानेबीच घरमा टीभी राख्ने होड चल्न थाल्यो । हाम्रो टोलमा दैनिक निर्णयका प्रकाशक प्रतापकुमार भट्टचन र ‘होटेल हिमालयन इन’का तत्कालीन सञ्चालक दीपक क्षत्रीको घरमा पनि रंगिन टीभी भित्रियो । अन्यत्र पनि थपिँदै गए ।
उसैबेला चर्चित् महजोडीको चर्चित् प्रहसन ‘गाउँखाने कथा’मा एउटा प्रश्न सोधिएको छ, ‘बखकोला जनोखान काजी मसाखा घटेरा । यो भनेको क्या हो ?’
यसको सही जवाफअनुसार ‘बखकोला’ अर्थात् ‘बडेबडेमान खल्ती भएको कोट लाउने’, ‘जनोखान’ भन्नाले ‘जति नोट खाए नि नअघाउने’, ‘काजी’ भन्नाले ‘काठमाडौं जिल्ला’, मसाखा’ भनेको ‘महिनाको ७/८ सय तलब खाएर’ अनि ‘घटेरा’ भनेको ‘घरमा टेलिभिजन राख्ने’ ।
महको यो प्रहसनले पनि त्यसबेला ‘घरमा टेलिभिजन राख्ने’ अर्थात् ‘घटेरा’हरु ठूलै मानिन्थे भन्ने जनाउँछ ।
ती दिनहरुमा हामी कतिबेला स्कुल छुट्टी होला र टीभी हेर्न जाउँला भनेर आतुर हुन्थ्यौं । ‘बिनाका गीतमाला’मा हामी गीतको अडियो सुन्थ्यौं, अब दूरदर्शनबाट हरेक शुक्रबार साँझ प्रसारण हुने, ‘चित्रहार’मा भिजुअल पनि हेर्न पाउने भयौं ।
‘शनिबारको चित्रहार’ र आइतबार प्रसारण हुने फिल्म नै त्यसबेला मनोरञ्जनका माध्यम थिए । हामी केटाकेटी भने टीभी भनेपछि ‘कृषि दर्शन’देखि विज्ञापनसमेत रमाई-रमाई हेथ्र्यौं ।
‘निरमा वासिङ पाउडर’को विज्ञापनमा सेतै प|mक लगाएर कन्याहरु नाचेको दृश्य मेरो मानसपटलमा अझै ताजै छ । विस्तारै दूरदर्शनमा ‘बुलन्दी’, ‘रामायण’, ‘अप्पु और पप्पु’ र ‘नुक्कड’जस्ता सिरियल आउन थाले । टेलिभिजन प्रसारणको क्रेज बढ्दै गयो ।
यता, काठमाडौंमा पनि नीर शाहलगायतको पहलमा नेपाल टेलिभिजनको स्थापना भइसकेको थियो । २-४ नोभेम्बर १९८७ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली सहयोग संगठन -सार्क)को तेस्रो सम्मेलनको प्रत्यक्ष प्रसारण भएको थियो ।
तर, नेपाल टेलिभिजन भैरहवामा त्यति राम्ररी टिप्दैनथ्यो । दूरदर्शन पनि एन्टिना र बुस्टर ठीकसँग राखेपछि मात्रै आउँथ्यो । एनटीभी राम्रो हेर्न पाएकोचाहीं काठमाडौं आएपछि नै हो ।
एनटीभीमा विजयकुमार पाण्डेको आक्रामक टक सो, शम्भुजित बाँस्कोटाले सञ्चालन गर्ने ‘प्रतिभाको डबली’ र केही टेलिफिल्म पनि हेर्न पाइन्थ्यो ।
विजयले ‘खुदा गवाह’को छायांकनका क्रममा नेपाल आएका भारतीय नायक अमिताभ बच्चनको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा अमिताभले भनेका थिए, ‘अहिलेसम्म म तीन पटक नेपाल आएँ, पहिलो पटक नेपाल आउँदा तिमी त जन्मिएका पनि थिएनौ ।’
अमिताभको यो भनाइ सुनेपछि दर्शकको आम प्रतिक्रिया थियो, ‘अमिताभसँग चाहीं विजयकुमारको पनि केही जोर चलेन, उनले विजयकुमारलाई डोमिनेट गरे ।’ जे होस्, टेलिभिजनमा पहिलो पटक टक सोलाई पनि मनोरञ्जक बनाउनुमा विजयकुमारको योगदान त्यसबेलादेखिकै हो ।
टेलिभिजनमा त्यसपछिका दिनहरुमा क्रान्ति नै आयो । ‘स्टार’लगायत भूउपग्रहीय च्यानलहरु आए । विभिन्न स्याटेलाइटहरुमा ‘ट्रास्पोन्डर’ -खुट्टा) किनेर त्यसमार्फत् टेलिभिजन च्यानलहरु प्रसारण हुन थाले । मान्छेको करङजस्तो देखिने एन्टिना र बुस्टरको जमाना बदलियो । घर-घरमा छाताजस्ता डिस एन्टिना देखिन थाले ।
ती डिस एन्टिना पनि काम लागेनन् र केबल नेटवर्कहरु शुरु भए, जुन अहिलेसम्म जारी छन् । अबचाहीं केबल नेटवर्क पनि डिजिटल प्रविधिमा गइसकेको छ । डिसहोमले सानो छाता बाँड्न थालेको छ ।
नेपालमा पनि हाई डेफिनेसन (एचडी) च्यानलहरुमा स्पष्ट तस्बिर र ध्वनी देखी/सुनिरहँदा मलाइ ती दिनको सम्झना हुन्छ, जब हामी नेपाल टेलिभिजनको कार्यक्रम झिरझिर आयो भनेर छतमा एन्टिना घुमाउन जान्थ्यौं र ‘आयो ?’ भनेर सोध्दा तलबाट जवाफ आउँथ्यो, ‘आएन, आएन, अर्कोतिर घुमाऊ ।’
डेकदेखि डिजिटलसम्म
मंसिर ०४६ मा एसएलसी परीक्षा दिनासाथ म काठमाडौं आएँ । यहाँ आउनासाथ ७ फागुनदेखि वाममोर्चा र कांग्रेसले संयुक्त आन्दोलन शुरु गरिहाले । आन्दोलनपछि आरआर कलेज पढ्दै गर्दा विभिन्न साथी भेटिए र उनीहरुसँग फिल्म हेर्ने धुन शुरु भयो ।
एकदिन घुम्दै फिर्दै मखनको गल्लीतिर गइयो । भैंसीको मःमचा र भुटन पनि खाइयो । गल्लीमा केही केटाहरु भन्दै थिए, ‘नयाँ फिल्म आयो, थानेदार, थानेदार । खतरा छ, सञ्जय दत्त र माधुरी दीक्षितको थानेदार । चार रुपैयाँ मात्र ।’
मेरो साथमा कालीमाटीमा चिनेजानेको हरि श्रेष्ठ थियो । हामीलाई त्यो केटोले फिल्म देखाउने करिब १५-२० मिनटसम्म गल्ली नै गल्ली हिँडायो र एउटा टिनले छाएको टहरोमा लग्यो । हामी त डल्लुवारि विष्णुमती किनारामा पो पुगेका रहेछौं ।
त्यो टहरोभित्र टन्नै मानिस बसेका थिए । कुनामा टीभी स्त्रिmन थियो । त्यसको छेउमै एउटा टिनको बाकसजस्तो उपकरण थियो । त्यसलाई ‘डेक’ भनिँदोरहेछ । त्यो डेकमा क्यासेट चक्का घुसारेपछि टीभी स्क्रिनमा फिल्म चालु हुँदोरहेछ र त्यसलाई ‘भिडियो हेर्ने’ भनिँदोरहेछ ।
मैले पहिलो पटक डेकमा भिडियो हेरेको त्यसैबेला हो । मखनको गल्लीमा उभिने केटाहरुले गोप्य रुपमा नीला चलचित्र (पोर्न मुभी) पनि देखाउँथे । बाहिर उनीहरु हिन्दी चलचित्रको नाम भट्याउँथे र खुसुक्क कानमा आएर भन्थे, ‘टि्रपल एक्स हेर्ने हो ?’ इच्छुक दर्शक उनकै पछि-पछि जान्थे ।
केही समयपछि काठमाडौंको भृकुटीमण्डपमा भिडियो देखाउन थालियो । त्यहाँ मैले राहुल रायको ‘आशिकी’ र हलिउड नायक चकनरिसको ‘मिसिङ एन एक्सन’ हेरें ।
काठमाडौंका विभिन्न ठाउँमा हाइभिजन हल खुलिसकेका थिए । न्युरोडको रञ्जना, जमलको विश्वज्योति, धोबीखोलाको कुमारी, बालाजुमा गंगा र पछि गएर चाबहिलमा गोपीकृष्ण, ग्वार्कोमा गुण सिनेमा आदि ।
नेपाली चलचित्र बन्ने लहर चल्न थाल्यो । ‘सिन्दुर’, ‘जीवनरेखा’, ‘कान्छी’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ । यी पाँच चलचित्र हेर्दाको आनन्द त्यसपछि बनेका चलचित्रले दिएनन् किनकि ती चलचित्र यस्तो उमेरमा हेरिएको थियो, जतिबेला तिनमा देखाइएका दृश्यसँग आफ्नो पनि संवेदना जोडिएको हुन्थ्यो ।
अचेल प्रेमका त्यस्ता चलचित्र हेर्दा खासै मन छुन्न किनकि मनोरञ्जनका आयाम धेरै बदलिएका छन् । प्रेम, सेक्स आदि चिजहरु पनि अचेलका जेनरेसनका लागि ‘माइनर’ भइदियो, के गर्ने अचेल हरेक कुरा ‘भाइरल’ भइदियो ।
प्यास जारी छ
अहिले त काठमाडौंका प्रायः हरेक सपिङ मलमा मल्टिप्लेक्स हल खुलेका छन् । हाम्रो पालामा इस्टमेन कलर’ भनेर कास्टिङमा देखायो भने खुशी हुनुपर्थ्यो, अहिले त डल्बी साउन्डका साथ डिजिटल प्रविधिमा बनाइएका चलचित्र हेर्न पाइन्छ । अझ थि्रडीमा समेत ।
केटाकेटी हुँदा पहिलो पटक बालबालिकाहरुको फिल्म ‘छोटा चेतन’ थ्रिडी भर्सनमा हेरेको थिएँ । हालै मात्र सञ्जयलीला भन्सालीको ‘पद्मावत’ र ‘जुमान्जी’ थ्रिडीमा हेरियो । प्रविधि कति धेरै उन्नत भएछ ।
आज मनोरञ्जनको आयाम फराकिलो भएको छ । भिडियो डेक सीडीमा परिणत भयो । सीडी पनि अचेल हराउँदै जान थालेको छ र मानिसहरु चलचित्र रिलिज हुन नपाउँदै ‘यू टोरेन्ट’मार्फत् चोर ढोकाबाट चलचित्र डाउनलोड गरेर हेर्न थालेका छन् ।
इन्टरनेट आफैंमा एउटा मनोरञ्जनको साधन बनेको छ । फेसबुक, टि्वटरमा भुल्न पाएपछि फिल्म हेर्नेसमेत कसैलाई फुर्सद हुँदैन । किताब पढ्ने त के कुरा ।
युट्युबमा कोही म्युजिक भिडियो हेरिरहेका हुन्छन्, कोही पोर्न र प्रांक भिडियो (कसैलाई झुक्याएर रमाउने) हेरिरहेका हुन्छन् । कोही अनौठा किस्साहरु हेर्छन्, कोही पुराना चलचित्र हेरिरहेका हुन्छन् ।
३०/३५ वर्षमा मनोरञ्जनका आयाम र साधनमा यति धेरै बदलाव आएछ । गीत सुन्न रेडियो नेपालको ‘फोन इन कार्यक्रम’ कुर्नुपर्ने जमाना अब रहेन, रेडियो खोल्यो कि कुनै न कुनै एफएममा गीत घन्किरहेकै हुन्छ ।
गीत अचेल सुन्नेभन्दा पनि हेर्ने र नाच्ने माध्यम बन्दै गएको छ । पहिला विवाह र भोजहरुमा पञ्चे बाजा घन्किन्थे, अचेल स्पिकरमै फिट भएको डिभाइसबाट सोझै डान्सिङ बिटका गीत घन्किन्छन् । गीतको परिभाषा पनि बदलिँदै जान थालेको छ ।
मनोरञ्जनका लागि किताब पढ्ने चलन पनि अब हराउँदै गएको छ । किताब पढ्ने वर्ग सीमित छ । तर, कुनैबेला उपन्यास पढ्ने फेसन नै थियो । चाहे ती सस्ता उपन्यास किन नहून् ।
हामी केटाकेटीमा कमिक्स पढ्थ्यौं, चाचा चौधरी र साबुका रोचक कथा पढ्थ्यौं । हो, हामीले वेदप्रकाश शर्माको ‘बर्दीवाला गुण्डा’देखि युधिर थापाको ‘लुकेको समाज’सम्म पढ्यौं ।
त्यसले हाम्रो पढ्ने बानी विकास गरेको थियो । तर, अचेलका केटाकेटी भिडियो गेममा भुलेका छन् । हरेकको हातमा मोबाइल छ र मोबाइलमै मनोरञ्जनका सारा आयाम एकत्रित भएका छन् । लाग्छ, मानिसको जीवन अचेल भर्चुअल फ्रेमभित्र कैद भएको छ ।
तन्नेरीहरु खुलेआम बाइक चढेर डेटिङमा भुलेका छन् । पार्क कुनातिर लुकेर ‘किस’ गर्न हिच्किचाउँदैनन् । प्रेम पनि अचेल पहिलाजस्तो दुर्लभ चिज रहेन । सेक्स त सहज र सामान्य भइहाल्यो । काठमाडौं शहरका कतिपय ठाउँहरु अघोषित रेडलाइट एरिया भइसकेका छन्, जहाँ इन्जोय गर्न मानिसको ताँती लागिरहन्छ ।
तैपनि, मेटिएको छैन, हाम्रो मनोरञ्जनको प्यास । मनले अझै रोमाञ्च खोजिरहेको छ । मनोविनोदको कुनै सीमा नै भेटिएको छैन । एक्काइसौं शताब्दिको एक चौथाइ भाग सकिने बेला आउँदै गर्दा पनि यो आधुनिक युगमा मानिस ‘टीकाथलीको कुनै घरमा भूतले सीसा फुटायो’ भन्ने हल्ला पत्याएर रोमाञ्चित हुन छाड्दैनन् ।
अचेल यस्ता युट्युब च्यानलहरु पनि समाचार, विचार र खोजमुलक होइन, मनोरञ्जनको माध्यम पो बनेका छन् ।
मानिसको मनोविनोदको यो चाहना मंगलग्रहमा बस्ती बसेपछि पनि मेटिने छैन, सौर्यमण्डलको होलस्पेयरभन्दा बाहिर अर्को कुनै ग्रहमा कुनै एलियनको खोजी भइसक्दा पनि मनले भुल्ने बाटो सायद खोजी नै रहनेछ । किनकि, मन कहिल्यै शान्त हुँदैन, यसलाई जीवनका दुःखबाट अन्यत्रै भुलाइरहनुपर्छ ।
No comments