• Trending News

    देउवा सरकारको आयु एक रात लम्बियो, ओलीको नियुक्ति भोलि

    २ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार अबेर राष्ट्रपतिलाई बुझाएको छ । यससँगै केन्द्रमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

    निर्वाचन आयोगका पदाधिकारीहरुले बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
    बुधबार नै आयोगले अन्तिम नतिजा बुझाउने र लगत्तै केपी ओलीले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार नै राष्ट्रका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।
    तर, आयोगले चुनावको नतिजा शीतलनिवास पठाउन ढिलाइ गरेकाले देउवा सरकारको आयु एक रात लम्बिएको हो ।
    तर, अब नयाँ सरकार गठनको प्रतिक्षा केही घण्टापछि सकिने निश्चित भएको छ ।
    मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव भएको थियो । तर, राष्ट्रियसभा निर्वाचन नहुँदा लामो समयसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट तोकिएन ।
    ४ माघमा राष्ट्रियसभा निर्वाचन भएसँगै समानुपातिक सांसद छनोट प्रक्रिया सुरु भएको थियो । समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६-६ सिट पाएका छन् । त्यसमा विजयी सांसदहरुको नाम टुंगो लगाउँदै आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको छ ।
    देउवाको राजीनामा र ओलीको नियुक्ति एकै दिन
    चुनावी जनमत वाम गठबन्धनको पक्षमा आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म राजीनामा दिएका छैनन् । एमाले र माओवादीले राजीनामा मागेपनि राष्ट्रियसभा निर्वाचन र निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी परिणाम नबुझाएको भन्दै देउवाले टारे ।
    आयोगले बुधबार परीणाम बुझाउने भएपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, ढिला भएको भन्दै भोलिलाई सारिएको छ ।
    प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘भोलि ९ बजे मन्त्रिपरिषदको अन्तिम बैठक छ, त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’
    यता एमाले र माओवादीले भने भोलि नै केपी ओलीको नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएका छन् ।
    एमालेले औपचारिक रुपमै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । बुधबार नै समयले भ्याएको भए राष्ट्रपति कहाँ जाने तयारी थियो । तर, आयोगले निर्वाचन परीणाम बुझाउन समय लागेपछि यो भोलिलाई सरेको हो ।
    राष्ट्रपति कार्यालय स्रोतले दलहरु बहुमतसहित दाबी गर्न आए भोलि नै प्रधानमन्त्री नियुक्त हुन सक्ने बताएको छ ।
     online khabar

    No comments

    Like Us