• Trending News

    सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण बने हिरो

    २ फागुन, काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।
    १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।

    अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।
    अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए ।
    ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।
    वर्षापछि आएको नाटकीय मोड

    नेपाललार्इ जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका करण केसी ।
    जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो ।
    खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए ।
    तर, केहीबेर पानीले खेल रोकियो । पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो । नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
    तर, करणले सनसनीपूर्ण जित जिलाए ।
    नेपालले सुरुवातमा नराम्रो झड्का व्यहोरेको थियो । २२ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमायो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएपछि कप्तान पारस खड्का व्याटिङमा आएका थिए तर, उनी पहिलो बलमै आउट हुन पुगे ।
    दिलिनाथले दिपेन्द्र सिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा दिलिप नाथ आउट भए । उनले ४१ रन बनाए ।
    थप एक रन जोड्दा शरद भेषावकर एक रनमै आउट भए । पाँचौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी व्यक्तिगत १८ रनमा आउट हुँदा टिमको स्कोर ८१ रन थियो । त्यसपछि आरिफ र रोहितले पारी सम्हाल्ने प्रयास गरेका हुन् ।
    श्रीमान्थ विजेरत्नेको शतक
    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
    उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।
    तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।
    तर, लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।
    अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।
    उनी १०३ रनमा नटआउट रहे ।
    नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे ।
    शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।
    यूएईसँग उपाधि भिडन्त
    बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ ।
    पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल खेल्नु अघि सबै विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो ।
    नेपाल र यूएईको उपाधि भिडन्त पर्सि हुनेछ ।
    हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् ।
    online khabar

    No comments

    Like Us