• Trending News

    सरकारी रकम नतिर्ने पूर्वप्रधानमन्त्रीदेखि सांसद्सम्म ११९ को तीनपुस्ते सार्वजनिक

    सरकारी बक्यौता नबुझाउने ११९ जनाको तीनपुस्ते विवरण सार्वजनिक भएको छ । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौं रुपैयाँ वक्यौता नबुझाउने ११९ जना व्यक्तिको तीनपुस्ते सार्वजनिक गर्दै ३५ दिनभित्र बाँकी रकम नतिरे कारबाही गर्ने भएको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
    महालेखाका अनुसार बक्यौता नबुझाउनेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद र व्यापारीका सन्तान, उद्योगी, व्यवसायी र कर्मचारी छन् । उनीहरूलाई चिठी लेखेर घरमै पठाउँदा पनि प्रतिक्रिया नआएपछि महालेखाले बुधबार बक्यौता नतिर्नेको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । उनीहरूलाई ३५ दिनभित्र बाँकी रकम तिर्न अल्टिमेटम दिइएको छ ।
    महालेखा नियन्त्रक रामकुमार आचार्यका अनुसार महालेखाले सार्वजनिक गरेको ११९ जनाको विवरणमा राणा प्रधानमन्त्री भीमशमशेर र पद्मशमशेरका परिवारसमेत छन् । यसैगरी होटल मल्लका तत्कालीन प्रबन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
    महालेखाको कार्यालयले वर्षको एकपटक यस्तो सूचना सार्वजनिक गर्ने गरेको छ । यसबाट वार्षिक ९० लाख रुपैयाँसम्म बक्यौता रकम उठ्दै आएको महालेखाका सहायक सूचना अधिकृत सूर्यमणि गौतमले बताए ।
    महाशाखाले व्यक्तिले बुझाउनुपर्ने सरकारी बाँकी, कम साँवा र सोमा लाग्ने वार्षिक १० प्रतिशतका दरले ब्याज समावेश गरी बुझाउन अनुरोध गरेको छ ।महालेखाको अनुसार ऋण नर्तिनेमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो छन् । यिनीहरूबाट सरकारले अर्बौं रकम उठाउन बाँकी छ । ११९ जनाबाट १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी असुल गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ ।
    महालेखाले सार्वजनिक गरेको विवरण चार दशकअघिदेखिको भएकाले ऋण लैजानेमध्ये कतिपयको मृत्युसमेत भइसकेको छ । महालेखाले व्यक्तिलाई नभेटेपछि मालपोत कार्यालयलाई असुलीका लागि पत्राचार गरेको छ ।
    सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पनि बाँकी सरकारी रकम नबुझाए प्रक्रियाबाटै व्यक्तिको नाममा रहेको जग्गालिलामी गरेर रकम उठाउने योजना महालेखाले सार्वजनिक गरेको छ ।
    कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका प्रमुख जीवनप्रकाश मल्होत्राका अनुसार २०४० सालभन्दा अघि घरेलु उद्योगलगायत विभिन्न शीर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार, क्यासिनो र होटल व्यवसायी छन् । पुरानो रकम भुक्तानी गर्न नआएपछि घरमै पत्र काटेर पठाएको तर त्यसको जवाफ नआएपछि तीनपुस्ते विवरण सार्वजनिक गरेको उनले बताए । ‘पत्रको कुनै प्रतिक्रियानआएपछि तीनपुस्ते विवरण प्रकाशित गरेका हौं,’ उनले भने ।
    महालेखाको विवरणअनुसार सबैभन्दा बढी सरकारी बक्यौता तिर्न बाँकी नेपाल रिक्रेसन सेन्टर प्रालि छ । महालेखाले सेन्टरका प्रबन्ध निर्देशक राकेश वाधवाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । वाधवाको कम्पनी नेपाल रिक्रिएसनको ५७ करोड ३४ लाख रुपैयाँ बक्यौता छ ।
    रकम नतिर्नेहरूमा मल्ल, अन्नपूर्ण इन्टरनेसनल प्रालिलगायतका चर्चित होटलसमेत छन् । महालेखाका अनुसार होटल मल्लले ८ करोड रुपैयाँ तिर्न बाँकी छ भने अन्नपूर्ण प्रालिले करिब १३ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।
    टेक्सना रिसोेर्सेज कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रिएसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी आवर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी रहेको महालेखाको विवरणमा उल्लेख छ ।
    setopati

    No comments

    Like Us