फेसबुकमै अल्झिएको हाम्रो उर्जा
फेसबुक, ट्विटर, क्यूजोन, यूट्युव, इन्ट्राग्रामजस्ता सामाजिक सञ्जाल नभए पनि हाम्रो जीवन रोकिने थिएन। सामान्य हिसाबमै अघि बढिरहेकै हुन्थ्यो। साक्षर भएर पनि सामाजिक सञ्जाल नचलाउने नेपालीहरु अझै छन्। सामाजिक सञ्जाल भएर पनि हाम्रा दैनिक गतिविधि रोकिएका छैनन् तर, हाम्रा जिम्मेवारीहरु सुस्त भएकै हुन्।
हामी विभिन्न रूप र नामका सामाजिक सञ्जालसँग अभ्यस्त छौ। त्यसैले हामी हाम्रा काम कर्तव्यप्रति कम र समाजिक सञ्जालप्रति बढी लगनशील भएका छौ।
म आफैं पनि कार्यालय पुग्नासाथ सबैभन्दा पहिला ल्यापटपमा फेसबुक र ट्विटर खोल्छु। फेसबुक ट्विटरको धित मरेपछि अफिसको अन्य काममा लाग्छु। बिचबिचमा फेसबुक ट्विटर चिहाउने कार्य जारि रहन्छ।
कार्यालय जानुभन्दा अघिसम्म डेरामा मोबाइलबाट फेसबुक ट्विटर हेरिरहेकै हुन्छु। कहिलेकाही त बसमा सिट पाउँदासमेत मोबाइलमा डाटाबाटै ट्विटर चलाइदिन्छु।
मेरा लागि सामाजिक सञ्जाल चलाउनु एक किसिमले लत जस्तै भएको छ। फेसबुक तथा ट्विटरमा राखिएका समाचार तथा साथीहरूका पोष्ट हेर्दा हेर्दै समय बितेको पत्तै हुँदैन। आफ्ना काम भरे गरौंला, भोलि गरौंला, भन्दा भन्दै महिनौं धकेल्लिएको पत्तो हुँदैन। एक हिसाबले हेर्दा सामाजिक सञ्जालप्रतिको लतले हाम्रा दैनिक गतिविधिनै अनियमित भइसके झै लाग्छ। यसले आफैंलाई निस्कृय बनाएको जस्तो लाग्छ।
सामाजिक सञ्जालप्रतिको लत यति गहिरोसँग परेको छ कि, परिक्षाको बेलामासमेत समाजिक सञ्जालमा धेरै, परीक्षाको तयारीका लागि कम समय प्राथमिकतामा परेको अनुभव मसँग ताजै छ। यस्ता अनुभव तपाईसँग पनि हुनसक्छन्। म यो लतबाट चाहेर पनि टाढा हुन सकिरहेको छैन।
म देख्छु, प्राय मानिसहरू पनि कार्यालय, सार्वजनिक स्थान, सार्वजनिक यातायातहरुमा फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जालमा व्यस्त भइरहेका हुन्छन्। अनि लाग्छ , मेरो मात्रै होइन सारा मानिसको महत्वपूर्ण तथा उर्जाशील समय सामाजिक सञ्जालमा बर्बाद भइरहेको छ।
सामाजिक सञ्जालमा भेटिने मानिसका आक्रोश, भावना, खुसी, पीडा अनि उनीहरूले राख्ने तस्बिरले उनीहरूको यर्थाथ जीवनभन्दा फरक पाउँछु। फेसबुक तथा ट्विटरमा देखिने भद्धा चाकडिपन र सस्तो लोकप्रियताका लागि चल्तिका विषयबस्तुमा गरिने क्षणिक हल्लाले यथार्थमा एउटै मान्छेको फरक रूप र चरित्र देखिन्छ। अझ हाँस्यापद त नेपालीमाझ लोकप्रिय फेसबुकमा चर्चित भाग्य सम्बन्धि एप र तिनको अभ्यासमा देखिन्छ।
सामाजिक सञ्जालमा मानिसका गतिविधिले आकाश जमिनको फरकपन भेट्छु। अनि लाग्छ यो संसारनै भ्रम र झुटमा अडेको छ। यो जमाना सिन्को भाँचेर अरू कसैले ढालेको रूखको फोटो राखेर हामीले रुख ढाल्यौ भन्नेहरुको हो जस्तो लाग्छ।
आजभन्दा तीन वर्षअघि मैले फेसबुक चलाउँदिन भनेरै दुई वर्षभन्दा बढी बन्द नै गरेको थिएँ। त्यति बेला म ट्विटर चलाउँथे। त्यो समय ट्विटर चलाउने मानिस फेसबुक चलाउने भन्दा अलि बौद्धिक मानिन्थ्यो (हुन त अहिले पनि त्यो बुझाइ यथावत नै छ)। मैले आफूलाई बौद्धिक साबित गर्न ट्विटर सुरू गरेको थिइनँ। फेसबुकको लत हटाउन र ट्विटरको उच्च गतिशिल चरित्रका कारण त्यसको महत्वलाई बुझेर उपयोग रोजेको थिएँ।
त्यतिबेला फेसबुक भन्दा ट्विटर स्वच्छ छ भन्ने मलाई लाग्थ्यो। अहिले दुबैतिर धेरैजसो मानिसका स्वार्थले ग्रस्त भ्रामक विचारले स्थान पाएको छ। मान्छे धेरै फुर्सदिलो भएर नै आफ्नो जिम्मेवारीप्रति कम, सामाजिक सञ्जालप्रति धेरै वफादार भएको हो कि। सामाजिक सञ्जालमा विकृति बढ्नुको कारण पनि यही हो जस्तो लाग्छ।
पछि जागिरको प्रकृति र सूचनाका निम्ति फेसबुक चलाउन आवश्यक भएर फेसबुक फेरि सुरू गरे। मानिसका हरेक गतिविधि फेसबुकमै देखिने हुँदा सूचना संकलनका लागि एक हिसावले सजिलो त भएको छ। तर, सामाजिक सञ्जालमै रमाउने बानीले सामाजिक रुपमा मानिस एक्लो हुँदै गइरहेको छ भने समयको बर्बादी पनि। सामाजिक सञ्जालप्रतिको लतले गर्दा हाम्रो उर्जाशिल बल र समय बालुवाका पानी सरह खेर गइरहेको हो कि झै लाग्छ।
आफू पत्रकारिताको विद्यार्थी भएको कारण मेरा निम्ति सूचनाप्रतिको भोक कहिल्यै मिटिनेछैन। प्रविधिको विस्तारसँगै आज हरेक सञ्चार माध्यमलाई फेसबुक वा ट्विटरमा भेट्न सकिन्छ। त्यसैले आफ्नो रूचीलाई ख्याल गरि समयको सदुपयोग गर्दै सकेसम्म एउटै मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने सोच गरेको छु।
त्यसैगरि बाहिर काममा निस्कँदा वा घरमा हुँदा पहिलो प्राथमिकता आफ्नो जिम्मेवारप्रति दिने, त्यसपछि मात्रै सामाजिक सञ्जालमा प्रवेश गर्ने। साथीभाइ तथा मान्यजनसँग हुँदा सकेसम्म समाजिक सञ्जालमा नघोत्लिने बरू त्यो समय आफन्तजनलाई दिन।
काम विशेष विना साथीसँग च्याट नगर्ने। बारम्बार सामाजिक सञ्जाल हेर्ने बानिलाई विस्तारै कम गर्दै लैजाने। आफ्नो रूचीको विषयका आधिकारिक पेज तथा एकाउण्ट मात्रै फलो गर्ने। साथै गहन र गम्भीर एवम् तथ्यपरक विचार र बहस गर्ने व्यक्तिलाई मात्रै मित्र बनाउने वा फलो गर्ने निर्णय गरेको छु।
seiopati
No comments