• Trending News

    झापाबाट ९ महिनामा ३७० चिनियाँ पर्यटक भित्रिए

    १५ माघ, इटहरी । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट पछिल्लो ९ महिनामा ३७० चिनियाँ पर्यटक भित्रिएका छन् । यो नाकाबाट अमेरिकी र युरोपियन पर्यटकहरु पनि उल्लेख्यरुपमा नेपाल आउने गरेका छन् ।
    अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी कृष्ण सिग्देलका अनुसार ०७४ बैशाख १ देखि पुस मसान्तसम्म उल्लेख्य संख्यामा चिनियाँ पर्यटकहरु पूर्वी नेपाली नाका भएर नेपाल भित्रिएका हुन् ।

    पूर्वीनाकाबाट पछिल्लो ९ महिनामा भित्रिएका ४ हजार १ सय ६४ पर्यटकमध्ये १ हजार ६ सय ९७ जना दक्षिण एसियाली देशबाट नेपाल प्रवेश गरेका थिए । २ हजार ४ सय ६७ जना सार्क राष्ट्र बाहिरका पर्यटकहरु पूर्वीनाकाबाट नेपाल भित्रिएका थिए ।
    सिग्देलका अनुसार भारतीय राज्यहरु सिक्किम र पश्चिमबंगाल घुमेर नेपाल प्रवेश गर्ने तेस्रो देशका पर्यटकहरु पूर्वीनाकाबाट लुम्बिनी र काठमाडौं आउने गर्छन् ।
    ‘अन अराइभल’ भिसासमेत दिने काँकडभिट्टा अध्यागमन कार्यालयका अनुसार सार्क देशहरुबाट भित्रिने अधिकांश पर्यटकहरु भुटानी, बंगालादेशी र माल्दिभ्सका छन् ।
    नेपालको पूर्वी नाकाबाट युरोपेली, अमेरिकन र चिनियाँहरु समेत आउने गरेको कार्यालयको तथ्यांक छ ।
    अरु देशबाट अनअराइभल भिसा शुल्क तिरेर आउने गरे पनि पहिलोपटक सार्क राष्ट्रबाट नेपाल आउनेहरु निःशुल्क भित्रिने गरेको कार्यालयले जनाएको छ । दोस्रोपटक नेपाल आउने सार्क देशका नागरिकलाई भने समय अनुसारको शुल्क लाग्ने सूचना अधिकारी सिग्देल बताँउछन् ।
    सिग्देलका अनुसार १५ दिनका लागि नेपाल आउँदा २५ अमेरिकी डलर लाग्छ भने ३० दिनका लागि ४५ डलर लाग्छ । यस्तै, ९० दिनका लागि नेपाल आएका पर्यटकलाई १०० अमेरिकी डलर लाग्छ ।
    उत्तरी नाका सञ्चालन नहुँदा पूर्वले पाएन चिनियाँ पर्यटक
    चीनका पर्यटकहरु पूर्वी नेपालमा नआउनुमा उत्तरी नाकाहरु सञ्चालन नहुनु मुख्य कारक रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
    ‘सन् २०१६ मा मात्रै १ लाखभन्दा धेरै चिनियाँ पर्यटकहरु नेपाल आएका थिए जसमा २४ हजार हाराहारी केरुङ नाकाबाट नेपाल आएका थिए,’ पर्यटनको औपचारिक अध्ययन पनि गरेका पर्यटन व्यवसायी सुनील भुसाल भन्छन्, ‘केरुङ जसरी नै संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला नाका खोलिएको भए पूर्वमा चिनियाँ पर्यटकहरु भरिभराउ हुन्थे ।’
    भुसालको जस्तै तर्क छ ट्राभल एजेन्सी सञ्चालक बासुदेव बरालको । केन्द्रीय राजधानी काठमाडौंबाट पूर्व टाढा भएको र पूर्वका चीन जोड्ने स्थलगत सीमा नाकाहरु नखोलिएकाले चिनियाँ पर्यटकहरु नआएको बराल बताउँछन् ।
    वार्षिक १३ करोड चिनियाँहरु पर्यटकका रुपमा विश्वका विभिन्न देशहरु घुम्ने भन्दै बरालले त्यसको सानो हिस्सा स्थलमार्गबाट पूर्वमा ल्याएमा पूर्वको पर्यटकीय कमाइ बढ्ने बताउँछन् । बराल भन्छन्, ‘चीनसँग सीमा नजोडिएका प्रदेशले समेत चिनियाँ पर्यटकहरु तानिरहेका छन्, हाम्रो प्रदेश १ मा त दुईवटा ठूला स्केलका अन्तराष्ट्रिय नाकाहरु नै छन् ।’

    No comments

    Like Us