• Trending News

    नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु

    २८ मंसिर, नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खस्दा अहिलेसम्म १६ जनाको शब फेला परेको डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
    शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाको उद्धार सुरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मिनी ट्रक घ्याङफेदीकाे भीरबाट खसेकाे दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताईन ।
    दुर्घटनामा धेरैको ज्यान गएको आशंका छ  । गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यका अनुसार मिनिट्रकमा ४५ जनाभन्दा बढी सवार थिए । उहाँले दुर्घटनामा ३० जनाभन्दा बढीकाे ज्यान गएकाे अाशंका रहेकाे जानकारी दिनुभयाे ।
    सिसिपुबाट सिम्टाङ फर्किदैं गरेको गाडी दुर्घटना भएको हो । दुप्चेश्वर वडा नम्बर १ का कार्यवाहक अध्यक्ष नागसाङ तामाङले पनि दुर्घटनामा ३० जनाको हताहती भएको आशंका रहेको जानकारी दिनुभयो । आफू घटनास्थल जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।
    उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि घटनास्थलमा जान अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
    नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार घटनास्थल घ्याङफेदीमा प्रहरीको टोली पुगेको छ । उहाँले दुर्घटनामा १६ जनाको शव भेटिएको र अरुको खोजी भइरहेको जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

    No comments

    Like Us