शहरमा चलेको नयाँ ‘लत’, जसले चम्किएको छ व्यापार
बिहान ७ बजे । राग मालकोसमा आधारित शिव भजनको एकोहोरो स्तुतीले पशुपति क्षेत्र गुञ्जायमान छ । समूह समूहमा भइरहेका अनेक सल्लाह, हल्ला र रोदन कम हुनेवित्तिकै कानमा पर्छ, उही नमः शिवाय…।
‘चप्पल यहाँ फुकाल्नुस्’
‘यताबाट हैन उताबाट जानुस्’
‘यहाँ टेक्न मिल्दैन, उता टेक्नुस्…’
प्रहरी र गार्डका यस्तै आदेश सुन्दै भक्तिभावमा मन्दिर प्रवेश गर्न तल्लिन देखिन्छन् भक्तजन । ती भक्तजनलाई फूल, प्रसाद र माला बेच्न तछाडमछाड गरिरहेका व्यवसायी चाहिँ ग्राहकको हात धोइदिन बोतलमा पानी बोकेर भन्दैछन्, ‘शुद्ध जलले हात धुनुस्, फूल प्रसाद लानुस्, उताभन्दा यतै सस्तो छ ।’
के सस्तो ? के महँगो ? मानिसको जीवन नै सस्तो लाग्छ, जब अली पर आर्यघाट आसपास आफन्त गुमाउनुको दुःखमा आँसु चुहाइरहेका मलामी देखिन्छन् । त्यहीँ छ्यासमिस हुन पुग्छ अर्को दृश्य, ‘मर्निङ वाक’मा निस्कनेहरुको ।
घरमा काम गर्न अल्छी लागेर चहार्ने हुन्, लहलहैमा लागेर बिहानै घर छाड्ने हुन् या साच्चै आफ्नो स्वास्थ्यको चिन्ता गरेर फुर्तिलो हुन खोज्नेहरु नै किन नहुन्, पशुपति क्षेत्रमा निकै भेटिन्छन् । श्लेसमान्तक बन, गल्फ मैदान र शिवपुरी डाँडा वरिपरिको जंगलको शुद्ध वायुले तानेर हुनसक्छ या पवित्र पाशुपत क्षेत्रको परिक्रमा गरेर चित्त शुद्ध गर्ने सुरले हुनसक्छ, मानिसहरु विहानै विहानै पशुपतिमा ‘जय भोले कैलाशपति’ भन्दै दौडिरहेका देखिन्छन् ।
यसरी अघिल्लो दिनको तनाव र थकान भुलेर पशुपति चहार्नेमध्ये केहीमा थपिएको छ एउटा नयाँ लत, ‘जमराको जुस ।’
‘हिजो किन नआउनुभएको ?’ पशुपति मृगस्थलीमा जुस पेल्ने मेसिनमा जमरा पेलिरहेका व्यापारीलाई एक ग्राहकले सोधे ।
उनको सोधाइ यस्तो थियो, मानौँ ती व्यापारी हिजो नआएर ठूलै अपराध गरे ।
‘आएको थिएँ । हिजो जमरा अलि कम भयो । छिटै सकिएर गएँ’, व्यापारीले उत्तर फर्काए ।
‘यस्तो नगर्नु न । नियमित हुनुपर्छ तपाईं । आउनु भएन भने पैसा काटेर दिन्छु है म’, ग्राहकले घुर्की लगाएको शैलीमा भने ।
अघिल्लो दिन जमराको जुस खान नपाएर उनको पूरा दिन बिग्रियो, शरीरमा के नभएको, के नमिलेजस्तो भइरह्यो रे । जुस पसलेलाई आज भेट्दा उनको अनुहारमा खुशी पनि झल्कियो ।
‘बिहानै भट्टीमा जाँड खाने या तीन-चार कप चिया खाने पनि छन् । चिया, चुरोटभन्दा त जमरा जुसको लत नै राम्रो’
‘के हो यो त तितो छ त ?’, मुखमा जुस हाल्नेवित्तिकै उनले मुख बिगारे ।
‘यो जौको जमराको हो, अलि तितै हुन्छ । हिँजो अस्ति तपाईंले खाने गरेको गहुँको जमराको जुस अलि मीठो हुन्थ्यो । आज तपाईंलाई पनि जौकै दिएँ’, व्यापारीले प्रस्ट्याए ।
केही समय बस्दा मात्र पनि जमराको जुसमा पल्किएका ग्राहक र व्यापारीका यस्ता सम्वाद बारम्बार सुनिन्छ ।
पशुपति क्षेत्रमा मात्रै होइ, काठमाडौंमा मर्निङ वाकमा निस्कनेहरुले माकलबारी, भृकुटीमण्डप, कोटेश्वर, गठ्ठाघर, थानकोटलगायत चोक-चोकका केही जुस पसलमा पनि भेट्छन्, जमराको जुस । अझ कतिपय सपिङ मलमा जमराको धूलो पनि पाइन थालेको छ ।
एक बानी, एक व्यापार
३० एम.एल. जुसको ६० रुपैयाँ । सरदरमा दैनिक ३० जना ग्राहक । मासिक कमाइ ५४ हजार रुपैयाँ । जुस पेल्ने मेसिनको ७ हजार रुपैयाँ । अन्य खर्च पनि कमाइको तुलनामा निकै कम । यस्तो हिसाब सोच्नेहरुलाई लाग्नसक्छ, सब काम छाडेर जमराको जुस बेच्न थालौँ ।
तर, व्यापारीको भनाइमा सोचेजस्तो सजिलो छैन । अरुले गरेको देखेपछि ‘वा ! क्या कमाएको छ’ भनेर र्याल काढ्नेहरुमा उस्तो जाँगर पनि कहाँ हुन्छ र ? फेरि सबैले पसल नै थाप्ने हो भने खाने कसले ?
गएको एक वर्षदेखि पशुपति क्षेत्रको चौरमा जमराको जुस बेचिरहेका छन् काठमाडौं शंखपार्कका विनोद दंगाल । ओम साइराम पिक्चरमा रहेर डीभीडी र भीसीडीको कामसँगै चलचित्र प्रोडक्सनमा लागेका विनोद अचेल सबै काम छाडेर उनकै भनाइमा ‘अध्यात्ममा लागेका’ छन् ।
उनका कुरा सुन्दा उनी जुस व्यापारी नभइ प्रवचकजस्ता लाग्छन् । बिहानै आएर चौरमा टेबुल राख्ने, मेसिन जोड्ने र जमरा पेल्दै उनले ‘व्यापार गरेका होइनन्, मान्छे स्वस्थ बनाउने अभियान’ सुरु गरेका हुन् ।
जमरा उमार्न उनी दैनिक बलौटे माटो ल्याएर प्लाष्टिकको बाटामा हाल्छन् । त्यसमा बीउ छर्छन् । हरियो भयो भने राम्रो हुन्छ भनेर नछोपेर हावा खेल्न दिन्छन् । तीन-चार इन्च अग्लो भएपछि टिप्छन् र बेच्न ल्याउँछन् ।
‘वैदिक सनातन धर्ममा धेरै पहिलेदेखि चलेको भए पनि दुई-तीन वर्षयता नेपालमा मान्छेहरुले यसको फाइदा बुझ्न थालेका छन्’ विनोद भन्छन्, ‘कसैले शरीरलाई राम्रो गर्छ भनेर खाएका छन् । कसैले साथीले खाइराछ म पनि त खाइदिउँ न त भनेर खाएका छन् । हरेकको आफ्नै खालका बुझाइ छन् ।’
आ-आफ्नै व्याख्या
पशुपति मृगस्थली क्षेत्रमा भेटिएका जमरा जुस व्यापारी हुन्, विष्णुप्रसाद पराजुली । शास्त्रीय संगीतका गुरु उनी मर्निङ वाकमा निस्कनेहरुलाई जमराको जुसबाट थप ‘स्वस्थ हुन’ मद्दत गर्छन् ।
‘यो शुद्ध विरुवा हो । यो कुनै औषधी होइन । औषधीको सहायक हो । यसमा जरा पनि महत्वपूर्ण हुन्छ । जरा, त्यसको माथिल्लो भाग र टुप्पो सबै पेल्नुपर्छ । औषधीय गुण त्यो सबैमा हुन्छ ।’
उनीभन्दा पहिला भेटिएका व्यापारी विनोद जुस पेल्दा जमराको जरा हाल्न नहुने, जमरा हरियो हुनुपर्ने र त्योजस्तो अचुक दबाई अर्को नहुने व्याख्या गरिरहेका थिए ।
विष्णुप्रसाद भने जमराको जुस औषधी नभई औषधीको सहायक भएको सुनाउँदै थिए ।
‘यो शुद्ध विरुवा हो । यो कुनै औषधी होइन । औषधीको सहायक हो,’ उनले भने, ‘यसमा जरा पनि महत्वपूर्ण हुन्छ । जरा, त्यसको माथिल्लो भाग र टुप्पो सबै पेल्नुपर्छ । औषधीय गुण त्यो सबैमा हुन्छ ।’
उनी गहुँ, जौ पखालेर पोकामा बाँधेर केही समय राख्छन् । जमिनभन्दा अलि तलको नयाँ माटोमा सफा गरेर गाईको मल हाल्छन् । त्यसपछि त्यसमा बीउ छर्छन् । यसो गर्दा विरुवा राम्रो हुने उनको भनाइ छ ।
विष्णुप्रसादले जमराको जुस बेच्न थाल्दा ५-७ जना ग्राहक खान आउँथे । अहिले दैनिकजसो ३० जनाले खान्छन् । कहिँलेकाहीँ राम्ररी नउमि्रँदा, जरा कुहिँदा र नराम्रो बीउ पर्दा ग्राहकको माग पूरा गर्न उनलाई हम्मेहम्मे पर्छ ।
उनीकहाँ दुई वर्ष अघिदेखि लगातार जमराको जुस खाइरहेका पनि छन् ।
‘कसैकसैले यो जुसले मलाई केही पनि भएन भनेका छन् । चार-पाँच महिना लगातार खाइसकें केही फरक देखिएन भन्ने पनि एकाध छन् । तर, धेरैले आफूमा परिवर्तन आएको र फाइदा पुगेको बताएका छन्,’ उनले भने ।
लत हुनु राम्रो होइन
जमराको जुसको राम्रो पक्ष हो, यसले शरीरलाई हानी गर्दैन । राम्रोसँग उत्पादन भएका हरेक खान हुने विरुवाले शरीरलाई फाइदा नै गर्छन् । त्यस्तै हो, जमराको जुस पनि ।
आयुर्वेद डाक्टर शावरी जमराको जुसबाट झण्डै १३५ प्रकारका रोगको उपचारमा प्रत्यक्ष फाइदा पुग्ने बताउँछन् । उनको भनाइमा जौको जमराभन्दा गहुँको जमराको जुस उत्तम हुन्छ । त्यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ ।
तर, कुनै पनि कुरा लतको रुपमा भने प्रयोग गर्नु हुँदैन । आयुर्वेदलाई मान्ने हो भने पनि औषधी खाने एउटा निश्चित प्रक्रिया र समय हुन्छ । निश्चित समयसम्म मात्र खानुपर्ने हुन्छ ।
‘जमराको जुसबाट रोगविरुद्ध लड्न फाइदा पुग्ने भए पनि तीन महिनाभन्दा बढी लगातार खाइरहनु ठीक होइन । शरीरलाई त्यसको लत पर्न जाँदा त्यही नभई नहुने हुन्छ । यसैले तीन महिनापछि केही महिना छाडेर सुरु गर्नु ठीक हुन्छ,’ डाक्टर शावरीले भने ।
फोहोर माटोमा रोपिएको हो कि, विषादी प्रयोग गरिएको छ कि भन्ने कुराहरुमा पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
मनोवैज्ञानिक उपचार
पशुपति क्षेत्रमा भेटिएका समशेर श्रेष्ठले हरेक दिन उठेर मर्निङ वाकमा जाने र जमराको जुस खाने गरेको चार महिनाभन्दा बढी भयो । उनको शरीरमा के भिन्नता आएको छ, के फाइदा भएको छ भन्ने उनलाई थाहा छैन । तर, थाहा छ- यसले बेफाइदा गरेको छैन ।
‘जमराको जुस सीधै रोगको उपचारसँग सम्बन्धित नभए पनि त्यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ र हौसला बढाउँछ ।’
‘फरक त शरीरमा भइरहेको होला । खानु अगाडि डाक्टरलाई पनि सोधेको थिएँ । उहाँले राम्ररी उमारेको जमरा हो भने खाँदा हुन्छ भन्नुभयो र खान थालें,’ उनले भने ।
समशेरजस्तै शम्भु चौलागाइँ पनि जमराको जुसको पारखी हुन् । उनी जुन दिन विहान हिँड्न निस्कन्छन् त्यो दिन जमराको जुस पिउँछन् ।
‘शरीरमा यसले के भयो भन्ने त थाहा छैन तर मेरो शरीर स्वस्थ छ । मुटु, कलेजो राम्रो छ । भर्खरको युवासँगै जति पनि कुद्नसक्छु । जस्तै उकालोमा पनि आरामले हिँड्न सक्छु,’ उनले सुनाए ।
‘बिहानै भट्टीमा जाँड खाने पनि छन् । बिहानै तीन-चार कप चिया खाने पनि छन् । त्योभन्दा मलाई चाहीँ आफ्नो शरीरको लागि जमराको जुस नै ठीक लाग्यो । चिया चुरोटको भन्दा त जमराको जुसको लत नै राम्रो नि,’ उनले हाँस्दै भने ।
पशुपति मृगस्थलीमा भेटिएका साहबुद्धिन आलम आफ्नी काकीलाई फाइदा भएको देखेर जमराको जुस पिउन थालेको बताउँछन् ।
यी तीन पात्रसँगै जमराको जुस पिउने सबैलाई लाग्ने एउटै कुरा हो, यसले शरीरलाई नोक्सान गर्दैन, असल विरुवाको रस हो फाइदा नै गर्छ ।
यही भनाइसँग सहमत छन् मनोवैज्ञानिक पवन महतारा पनि । उनका अनुसार जमराको जुस सीधै रोगको उपचारसँग सम्बन्धित नभए पनि त्यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ र हौसला बढाउँछ ।
जौ, गहुँका जमरा कसरी घरमा उमार्ने र प्रयोग गर्ने भन्नेबारे तालिमसमेत दिने गरेका पवनले भने, ‘पोषण भएको हरेक विरुवामा औषधीय गुण हुन्छ । रोग लागेका मानिसलाई विक्षिप्त हुने अवस्थाबाट निकाल्न औषधीले काम गर्छ । त्यस्तै हो जमराको जुस पनि ।’
No comments