• Trending News

    नेप्से वर्षकै तल्लो विन्दुमा, लगानीकर्ता भन्छन्- अर्थमन्त्रीको असहयोग

    सेयर बजारको परिसूचक नेप्से एक वर्षयताकै तल्लो बिन्दुमा झरेको छ।
    आइतबार एकै दिन ३ प्रतिशतले गिरावट आएपछि नेप्से एक वर्षकै न्यून अंकमा झरेको हो। यस दिन कारोबार बन्द हुँदा ४१ अंकले घटेर १३ सय ४ अंकमा नेप्से अडिएको छ।
    अन्तिम एक घण्टा नेप्से सम्हालिएकाले गिरावट ४१ दशमलव ५६ अंकमा सीमित भएको हो। २ बजे नेप्से १२९१ अंकसम्म झरेको थियो। गत वर्षको फागुन १६ गते १२९९ अंकमा नेप्से झरेको थियो। त्यसयता आजको मूल्य सबैभन्दा कम हो।
    कुल १५१ कम्पनीको कारोबार हुँदा दुई कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। सूर्योदय लघुवित्तको मूल्य प्रतिकित्ता ४१ रुपैयाँ तथा स्वदेशी लघुवित्तको ७ रुपैयाँले बढेको छ। बाँकी १४९ कम्पनीको मूल्य घटेको छ।
    यस दिन कुल ४८ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। बजारको पुँजीकरण १५ खर्ब २७ अर्बमा झरेको छ। अर्थात एकै दिन लगानीकर्ताले ४७ अर्ब रुपैयाँ गुमाएका छन्।
    नेप्सेसँगै क वर्गका कम्पनीहरुको मापक सेन्सिटिभ सूचक ८ अंकले झरेको छ। यस दिन सबै उपसूचकहरु झरेका छन्। बैंकिङ ३५, व्यापार १५, होटल ३५, विकास बैंक ४१, जलविद्युत ६२, फाइनान्स ११, बीमा २८६, उत्पादन ५३, अन्य १३ र माइक्रोफाइनान्स ५९ अंकले झरेका छन्।
    नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भएका छ। कुल ३ करोड ३९ लाख रुपैयाँको उसको कारोबार भयो। कारोबार उच्च भए पनि मूल्य प्रतिकित्ता ५६ रुपैयाँले घटेर १७१९ अंकमा कायम भएको छ। कम्पनीले गत आवको नाफाबाट लाभांश घोषणा गरिसकेको छैन। खरिद गर्नेहरु उच्च लाभांशको अपेक्षामा छन्।
    त्यस्तै नेपाल बैंकको २ करोड २७ लाखको कारोबार भयो। इन्भेष्टमेन्ट बैंक संस्थापकतर्फको १ करोड ८४ लाखको कारोबार भयो।
    नयाँ अर्थमन्त्री युवराज खतिवडाले दिने गरेका अभिव्यक्तिलाई नै लगानीकर्ताले सेयर बजारमा गिरावट आउनुको प्रमुख कारण ठान्छन्।खतिवडाले बोलेका कुरालाई कतिपयले अतिरञ्जित रुपमा व्याख्या गरी तर्साउने काम गरेको बताउँछन् इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार।
    ‘यसअघि बिबिसी नेपाली सेवालाई उहाँले दिएको अभिव्यक्तिलाई अनर्थ रुपमा बुझेर व्याख्या गरियो’ उनले भने ‘लगानीकर्तालाई प्रोत्साहन गर्नेगरी खतिवडाले सकारात्मक अभिव्यक्ति पनि दिन सकेनन्।’
    केपी शर्मा ओलीले यसअघि सेयर बजारका सम्वन्धमा सकारात्मक अभिव्यक्ति दिने गरे पनि प्रधानमन्त्री भइसकेपछि सकारात्मक सन्देश प्रवाह गर्न नसकेको उनले बताए। उच्च सेयर आपूर्ति तथा ब्याजदर, बढ्न नसकेको मागले लगानीकर्ताको मनोबल कमजोर भइरहेका बेला अर्थमन्त्रीले सकारात्मक पहल गर्न नसकेको रौनियारले बताए।
    ‘व्याजदर बढिरहेको छ, आउने भनिएको अनलाइन ट्रेडिङ अनिश्चित बनेको छ, त्यसमाथि अर्थमन्त्रीका घुमाउरा अभिव्यक्तिले अवश्य शशंकित बनाएकै हो’ उनले भने।
    हरेक मुलुकको अर्थतन्त्रको ऐना पुँजी बजार नै भएको भन्दै उनले अर्थमन्त्रीले पुँजी बजारको विकासका लागि पहल गर्नुपर्ने उल्लेख गरे। त्यस्तै लगानीकर्ता संघका सदस्य केशव भण्डारीले सेयर बजारलाई अनुत्पादक क्षेत्रजसरी अर्थमन्त्रीले व्याख्या गरिदिनाले ठूलो गिरावट आएको उल्लेख गरे।
    सेयरमा जाने कर्जालाई अनुत्पादक क्षेत्रमा जानेभन्दा तल्लो स्तरमा राखिएको उनको बुझाई छ।  ‘गाडी अनुत्पादक क्षेत्र हुँदाहुँदै कुल मूल्यमा ६५ प्रतिशत ऋण दिइन्छ, तर सेयरमा ५० प्रतिशत मात्रै छ’ उनले भने ‘यसमा लगानीकर्ता झनै शशंकित हुन थालेका छन्।’
    सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्न नमिल्ने उनको तर्क छ। ‘प्राथमिक बजारमा कम्पनीले जुटाएको पुँजीलाई उत्पादनमूलक भन्ने, तर त्यही सेयर दोस्रो बजारमा गएपछि अनुत्पादक भन्ने?’ उनले प्रश्न गरे। यदी दोस्रो बजारको विकास र विसतार हुन नसक्ने हो भने भोलि कुनै पनि कम्पनीले प्राथमिक बजारबाट पुँजी संकलन समेत गर्न नसक्ने उनले बताए।
    पुँजी बजारको विकासका लागि सरकार, नियामक निकाय धितोपत्र बोर्ड तथा नेप्सेले पनि विशेष पहल गर्नुपर्नेमा लगानीकर्ताको जोड छ। आपूर्तिअनुसार माग बढाउनुपर्नेमा भएका लगानीकर्तालाई पनि शशंकित गराउनुले बजार अझै घट्न सक्ने भन्दै उनीहरुले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
    अर्थमन्त्रीले दिएका भनाईलाई लगानीकर्ताले सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिन्छन् अर्का लगानीकर्ता पिताम्बर खरेल। ‘उहाँले बैंकहरुमा तरलता अभाव हुनुहुन्न, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने जस्ता कुरा गर्नु सेयर बजारका लागि पनि सकारात्मक हो’ खरेलले भने ‘यहाँ अहिले घटाएर किन्न खोज्नेहरु सक्रिय हुँदा यस्तो भएको हो।’
    आज बजार अन्तिम समयमा केही सम्हालिएको उल्लेख गर्दै उनले थपे ‘घटेका बेला किन्नेहरु सक्रिय भएकै कारण अन्तिम एक घण्टामा बजार बढेको हो, मलाई लाग्छ केही दिनमा बजारमा सुधार आउँछ।’
    खतिवडा गभर्नर हुँदा नेप्से सबैभन्दा कम अंकमा झरेकाले कतिपय त्यसैलाई आधार बनाएर आत्तिएको उनले बताए। ‘उनी गभर्नर हुँदा मुलुकको राजनीति र वित्तीय स्थिति दुवै संक्रमणकालीन अवस्थामा थियो’ खरेलले भने ‘खतिवडाले नै वास्तवमा वित्तीय स्थितिमा सुधार ल्याएका हुन्, त्यसकारण उनीप्रति शशंकित हुनुपर्ने म देख्दिनँ।’
    setopati

    No comments

    Like Us