• Trending News

    मानसिक अवस्था बिग्रेका कर्मचारीलाई स्वेच्छिक अवकाश दिन्छु-लालबाबु

    खञ्चुवा कर्मचारीलाई मबाट कुनै दयामाया हुँदैन

    अहिले सामान्य प्रशासन मन्त्रालयमा संघीय मामिला पनि थपिएको छ । यसकारणले मेरो जिम्मेवारीलाई मात्रै सामान्य प्रशासन मन्त्रीका रुपमा नबुझिदिनका निम्ति म अनुरोध गर्छु ।
    जबसम्म वडाकेन्द्रसम्म राष्ट्रसेवक कर्मचारीहरु पुग्दैनन्, त्योबेलासम्म यो सिंहदरबारको अधिकार जनतामा पुगेको अनुभूति हुँदैन । अहिले राष्ट्रसेवकहरुलाई तल प्रदेश र स्थानीय तहमा खटाउने काम भएको छ । सबैलाई खटाई भ्याएको पनि छैन । र, खटाइकाहरुमध्ये पनि केही कर्मचारीहरु आफ्नो कार्यक्षत्रेमा नपुगेको स्थिति हो ।
    अहिले जनताको वीचमा सेवा प्रवाह गर्नका निम्ति र प्रशासनलाई चुस्त दुरुस्त बनाउनका निम्ति जनताको भावना र चाहना अनुसार दैनिक सेवा प्रवाहका साथै विकासलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्नेछ ।
    यसका निम्ति स्थायी सरकारका रुपमा रहने राष्ट्र सेवकहरुलाई नै जिम्मेवारी दिएर पठाउनुपर्ने भएकाले जिम्मेवारी दिएर पठाइएकाहरु गएको र काम गर्न थालिराख्नुभएकाहरुप्रति म सकारात्मक छु । र, उहाँहरुले सरकारको निर्देशन र निर्णयलाई पालना गर्नुभएको छ ।
    जो अहिलेसम्म खटाएको ठाउँमा जानुभएको छैन, अटेरी र अवज्ञा गरिराख्नुभएको छ, अब तुरुन्त उहाँहरुलाई आफ्नो रवाना लिएर आफ्नो कार्यक्षेत्रमा पुग्नको निम्ति प्रशासनिक रुपमा र त्यसपछि सरकारको तर्फबाट पनि आह्वान भइसकेको छ ।
    हाजिर गराउनेलाई कारवाही गर्छु, सेवासुविधा खोस्छु
    काममा पठाइएकाहरुमध्ये कसैको पनि सरुवा बदर हुने छैन । र, नजानेहरु अन्यत्र हाजिर गरेर बसेको अवस्थामा अब वहाँहरुलाई हाजिर गराउने कार्यालय प्रमुखहरुलाई हाजिर नगराउन र रवाना दिएर खटाइएको ठाउँमा पठाउनको निम्ति निर्देशन गरिएको छ ।
    यदि यो निर्देशनको पालना भएन र उहाँहरुले हाजिर गराइराख्नुभयो भने अब खटाइसकिएका राष्ट्रसेवकहरुलाई हाजिर गराउनेलाई पनि दण्डित गर्छु र यहीँ बसेर तोकिएको ठाउँमा नजानेलाई पनि म दण्डित गर्छु ।
    उहाँहरुले अहिले खटाइएको ठाउँमा नगएर, यहाँ बसेर जुन सेवा सुविधा प्रयोग गरिराख्नुभएको छ, त्यो सेवा सुविधा पनि म खोस्छु । र, यति गर्दा पनि उहाँहरु जानुभएन भने र त्यहाँ काम गर्नुभएन भने निजामति सेवा ऐनको प्रयोग गरेर उहाँहरुलाई बर्खास्तीको बाटोमा म जान्छु ।
    बर्खास्तीको बाटोमा गइसकेपछि त्यतिखेर रोईकराई गर्नुको कुनै अर्थ हुनेछैन ।
    किनभने, सपथ खाँदाखेरि सरकारले २४ घण्टामा जुनसुकै समयमा जुनसुकै ठाउँमा खटाएको बेलामा इमान्दारीपूर्वक काम गर्नेछु भनेर उहाँहरुले प्रतिज्ञा गरेर आउनुभएको छ । त्यसकारण प्रतिज्ञा बिर्सिनुभएको छ भने म फेरि सम्झाउन चाहन्छु । यदि बुझीबुझी पनि अवज्ञा गर्नुभएको छ भने दण्डनीय हुनेछ । सकेसम्म दण्ड गर्नु नपरोस् ।
    मलाई कतिपय सूचना आएको छ कि खटाइएको ठाउँमा नजाने, घरविदा लिने अनि स्वदेशमा पनि अन्यत्र काम गरिरहेको र कोही कोहीले त विदेशमा पनि काम गरेको पाइएको हुनाले उहाँहरुलाई पहिलो चरणमा दण्डित गर्नेतर्फ अग्रसर हुँदैछु ।
    प्रमोशन हुँदैन, दिमागमा तनाव नबोके हुन्छ
    जहाँसम्म अहिले एक तह प्रमोशन दिएपछि जान्छु भन्ने हो भने मुलुकलाई संकट परेका बेलामा झन सुविधाको माग गर्नेहरु राष्ट्रपति इमान्दार भएको ठहरिँदैन ।
    उहाँहरुले काम गरेर जनताको बीचमा राष्ट्रको सेवक भएर रमाउँदा उहाँहरुमा रहेका समस्याहरुलाई काम गर्ने सन्दर्भमा समाधान गरेर जान्छु । र, उहाँहरुलाई काम गर्दागर्दै सेवा सुविधा बढाउने सन्दर्भमा प्रोत्साहित गर्न म लाग्छु ।
    तर, जानुभन्दा अगाडि मलाई एक तह प्रमोसन चाहिन्छ भन्ने हो भने यो कुनै पनि हालतमा सम्भव छैन । असम्भव माग मागेर दिमागमा तनाव बोक्नुको कुनै अर्थ छैन ।
    मानसिक सन्तुलन ठीक नभएकालाई मात्र अवकाश
    यसैसँग जोडिएको अर्को कुरा म भन्न चाहन्छु कि स्वेच्छिक अवकाशका कतिपय कुरा ल्याएर अहिले राष्ट्रलाई अनुभवी एवं सक्षम राष्ट्रसेवकको आवश्यकता भएका बेलामा म सक्षम र अनुभवी यहाँबाट मनग्य पैसा लिएर जान्छु, राष्ट्रको सेवा गर्दिनँ, सके विदेशमा काम खोजेर भागौंला, नभए यहीँ अन्य क्षेत्रमा काम गरौंला राज्यसँग लिनुपर्ने लिइसकें, अब निजी फाइदाको लागि मात्र लाग्छु भन्ने हो भने सरकारले शारीरिक रुपमा अशक्त राष्ट्रसेवक र मानसिकरुपमा उहाँको दिमागले काम गर्दैन भनेर डाक्टरले प्रमाणित गरेको खण्डमा वहाँहरुलाई थप केही सुविधा दिएर विदा गर्छु । नभए अन्य बाँकी सबैलाई काममा लगाउँछु ।
    र, वहाँहरु काममा नजाने हो भने आफ्नै नियमित प्रक्रियाअनुसार अवकाश लिनुभयो भने वा सामान्य नियमित प्रक्रियाअनुसार राजीनामा दिएर जानुभयो भने वहाँहरुलाई विदा गर्छौं । तर, जाने बेलामा एकमुष्ट बढी सुविधा दिएर विदा गर्ने पक्षमा अहिले सरकार छैन ।
    खञ्चुवाहरुले मसँग भरोसा नराख्दा हुन्छ
    यदि सम्पूर्ण राष्ट्रसेवकलाई आफ्नो कार्यक्षेत्रमा पठाउँदा पनि कर्मचारी अपुग भयो भने अन्तरिम केही व्यवस्था गरेर, नयाँ पनि भर्ना गरेर सेवा प्रवाहलाई रोक्दिनँ । काम गर्नेलाई प्रोत्साहित गर्छु । काम नगर्ने, ठग्ने, ढाँट्ने अनि सुविधा मात्र खोज्ने खञ्चुवा प्रवृत्तिका कर्मचारीले मबाट कुनै दया माया आशा भरोसा नराख्दा हुन्छ ।
    अहिले सम्मानीय प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ कि कसैको केही सुनुवाइ हुँदैन । जतिसुकै ठूला नेताले दबाव दिए पनि वा ट्रेड युनियनले दबाव दिए पनि हुँदैन ।
    ट्रेड युनियनलाई नीति निर्माणको भूमिकामा सहयोग लिन्छु, सुरुवा बढुवा र सुविधा बढाउने कामको भूमिकाबाट ट्रेड युनियनलाई टाढा राख्छु । ट्रेड युनियन आज्ञाकारी पालक राष्ट्रसेवक हुनुपर्छ । राष्ट्र सेवकहरुको ट्रेड युनियनले त्यही दिशामा काम गर्नुपर्छ ।
    ड्युटी आवरमा कुनै पनि ट्रेड युनियनको गतिविधि हुँदैन । ड्युटी भनेको जनताको सेवा गर्नकै निम्ति हो । ड्युटी समयमा ट्रेड युनियनको गतिविधि भएमा कारवाहीको भागीदारी त्यसमा लाग्नेहरुले हुनुपर्नेछ ।
    Onlinekhabar

    No comments

    Like Us