हाम्रो सपना पूरा भएको छ, धेरै खुसी छौं: पारस खड्का

नेपाली टोली ३.२५ बजे हरारेस्थित होटल पुगेको थियो । टोलीका हरेक सदस्य ल्यापटप, मोबाइलमा थिए र उनीहरुले झण्डै २०० किलोमिटर टाढा भइरहेको खेलको अपेडेट लिइरहेका थिए ।
केही घन्टा अघि मात्र नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको थियो र आफ्नो ‘भाग्य’ जान्न आतुर थियो ।
यदि हङकङले १७५ रन बनाएको भए एकदिवसीय मान्यता पाउन नेपालले आइतबार अर्को खेल जित्नु पर्थ्यो । तर, नेदरल्याण्ड्सले जित्दा नेपाललाई खुसी मिल्यो ।
अघिल्लो महिना नामिबियामा करण केसी र सन्दिप लामिछानेको अन्तिम विकेटका लागि ५१ रनको उत्कृष्ट साझेदारी गर्दै क्यानडालाई हराएर नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।
बिहीबार नेपाली टोली होटलमा पुग्दा हङकङले ३ विकेट गुमाएर ८० रन बनाएको थियो र १७५ रनको लक्ष्य थियो । तर, त्यसपछि पाँच, छ र लक्की नम्बर ७ (बाबर हायात) पनि गुमायो ।
हङकङका लागि ओडीआई स्टटसको सम्भावना कायम राख्न कप्तान बाबर अन्तिम आश थिए । तर, ५२ रन बनाएर उनी आउट भए, जतिबेला टिमलाई अझै ५५ रन चाहिएको थियो ।
‘हामी सबै आ आफ्नो कोठामा बसेर इन्टरनेटमा थियौं’ पारसले भने, ‘हामी बाबर आउट हुने प्रतिक्षामा थियौं । किनकी हामीलाई थाहा थियो कि बाबर रहँदासम्म हङकङको सम्भावना रहन्छ ।’
अन्ततः हङकङ १३० मा अलआउट भयो र नेपालले २०२२ सम्मका लागि ओडीआई स्टाटस पक्का गर्यो ।
कप्तान पारस खड्काले टिममेट बसन्त रेग्मीसँगै कोठामा थिए । टिम म्यानेजर रमण शिवाकोटीको कोठातिर दौडिनु अघि पारसले बसन्तलाई अंकमाल गर्दै ऐतिहासिक सफलताको खुसी साटे । ‘सपना पुरा भएको छ र हामी धेरै धेरै खुसी छौं’ पारसले भनेका छन्, ‘शायद हाम्रो क्रिकेटको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण दिन हो ।’
समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएपनि नेपाल सुपर सिक्समा पुग्न सकेन । तर, त्यसले एकदिवसीय मान्यता पाउने सम्भावना कायमै राखेको थियो, जुन बिहीबार पुरा भयो ।
विश्वकपमा पुग्न नसकेपनि एकदिवसीय मान्यता पाउने महत्वपूर्ण भएको पारस बताउँछन् । ‘यसले चार वर्षका लागि स्थिरता ल्याउँछ । धेरै भन्दा धेरै क्रिकेट, विकासका लागि बजेट’ उनले भने ।
नेपालले नोभेम्बर २०१३ मा टी-२० विश्वकपमा स्थान बनाएसँगै टी-२० स्टाटस पाएको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हरायो भने बंगलादेशलाई राम्रै चुनौती दिएको थियो । तर, २०१५ मा आयरल्याण्डमा भएको टी-२० छनोटमा खराब प्रदर्शन गरेपछि टी-२० स्टाटस गुमायो ।
No comments