• Trending News

    कर्णालीमा दैनिक १४ घन्टा लोडसेडिङ, जनप्रतिनिधि गाउँ नजाँदा जनतालाई सास्ती

    २८ माघ, काठमाडौं । आज आइतबार, राजधानीबाट प्रकाशित भएका अखबारहरुले भिन्न–भिन्न समाचारहरुलाई प्राथमिकता दिएका छन् । अधिकांशले राजनीतिक विषयलाई मुख्य समाचार बनाएर छापेका छन् भने केहीले अभाव, बेथिती र कुशासनको विषय उठाएका छन् ।
    चमेलिया आयोजना सम्पन्न भएको विषयलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले आज सातमध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित भएको समाचारलाई महत्त्व दिएर लेखेको छ । प्रदेश ३ को सभामुखमा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचितलाई एंकर समाचार बनाएको गोरखापत्रले जीप दुर्घटनामा सिँचाइ सचिव रामानन्दप्रसाद यादवको निधन भएको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

    नागरिक दैनिकले मुख्य तीन दल एमाले, कांग्रेस र माओवादीको समानुपातिक कोटाबाट सांसद् बन्ने अनुहारबारे विश्लेषण गरेको छ । समाचार अनुसार एमाले र माओवादी समानुपातिक सांसद् छनोटको अन्तिम तयारीमा छन् भने कांग्रेसका २० महिलाले अवसर पाउँदैछन् ।
    कान्तिपुर दैनिकले नयाँ सरकार गठनबारे चर्चा गरेको छ भने नयाँ पत्रिका दैनिकले कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने गरेको लेखेको छ ।
    आजका पत्रपत्रिकाहरुले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ मा बन्ने सरकारको पद बाँडफाँटको टुंगो लगाएको समाचारलाई पनि उत्तिकै महत्त्व दिएर लेखेका छन् ।

    No comments

    Like Us