• Trending News

    केन्यामाथि नेपालको रोमाञ्चक जित, सन्दिपसँगै रोहित र आरिफ चम्किए

    २९ माघ, काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

    १७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे ।
    उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । पारस ४२ रनमा आउट भए । थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।
    तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो ।
    ४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो ।
    यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे ।
    तेस्रो बलमा सोमपालले एक रन लिए । तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे । अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए ।
    ओभरको पाँचौं बलमा उनले रन जोड्न सकेनन् । अब २ बलमा २ रन चाहियो, नत्र नाटकीय रुपमा हार्ने खतरा रहृयो । तर, सोमपालले दुई रन लिँदै जित दिलाए ।
    सन्दिपको उत्कृष्ट बलिङ
    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
    केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे ।
    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् ।
    सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।
    आईपीएल टिम डिल्ली डियरडेभिल्समा आवद्ध भएपछि क्रिकेट जगतै ध्यान तानेका सन्दिप म्यान अफ दि म्याच बने ।
    सन्दीपले प्रतियोगिताका चार खेलमा १४ विकेट लिइसकेका छन् ।

    No comments

    Like Us