• Trending News

    सिरिया युद्धविराममा सहमति जुटेन, नागरिकको अवस्था नाजुक

    काठमाडौं । सिरियामा केही दिनदेखि जारी संघर्ष रोक्ने संयुक्त राष्ट्र संघको प्रयास असफल भएको छ । युद्धविरामको प्रयास स्वरुप बिहीवार बसेको सुरक्षा परिषदको बैठक विना निस्कर्ष सकियो ।
    बैठकमा सिरियामा चलिरहेको संघर्ष रोक्नका लागि ३० दिनको युद्धविराम सम्बन्धी प्रस्तावबारे छलफल भएको थियो । तर, रुसको कारण यो प्रस्ताव पास हुन सकेन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद सीरियामा मानवतावादी युद्धविरामका लागि राजी नभएको रुसको भनाई छ ।

    स्वीडेन र कुवेतले युद्धविराम सम्वन्धी प्रस्ताव राखे पनि रुसले त्यसमा संसोधन राख्यो ।
    संयुक्त राष्ट्रमा रुसका प्रतिनिधि वेस्ली नेबेनज्याले रुसले यस प्रस्तावको ग्यारेन्टी चाहेको भन्दै पेश गरिएको प्रस्ताव ग्यारेन्टीको आधार नभएको बताए ।
    ‘हामी चाहन्छौं संयुक्त राष्ट्रसंघको प्रस्ताव प्रभावकारी होस् । यो मात्रै चर्चाको विषय नबनोस् । युद्धविरामलाई कसरी प्रभावकारी बनाउने यो नै सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ वेस्लीले भनेका छन् ।
    रुसको विरोध
    सीरियाका विद्रोहीहरुलाई दबाउन रुसले सरकारलाई साथ दिएको छ । रुस समर्थित सीरियाका सेनाले हालै गुटा क्षेत्रमा रकेट तथा हवाई आक्रमण गर्दा ४ सय बढीको ज्यान गइसकेको छ । मारिनेमा बालिबालिका र सर्वसाधारण धेरै छन् । पश्चिमी मुलुकका प्रतिनिधिले रुसको यो रबैयाको विरोध गरेका छन् ।
    सिरियाली सरकार एवं विद्रोहीको कब्जा भएको क्षेत्रमा पछिल्लो पाँच दिन देखि लगातार बमबारी भइरहेको छ । यो घटनामा ४०० भन्दा बढीको मृत्यु भइसकेको र लगभग ३ लाख ९३ हजार मान्छे फसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
    पूर्वी क्षेत्रमा प्रभावितहरुका लागि सहयोग गरिरहेका एजेन्सीहरुले यस क्षेत्रको हालत खराब रहेको प्रतिक्रिया दिएका छन् । सहयोगी एजेन्सी आईसीआरसीका प्रवक्ताका अनुसार युद्धग्रस्त क्षेत्रको हालत अत्यन्त नाजुक छ ।
    सिरियाली सेनाले भने यो रिपोर्टको खण्डन गरेको छ । अलेप्पोका सांसद फारिस शहाबीले सीरियाली सरकारले चरमपन्थीमाथी हमला गरेको दाबी गर्दै भनेका छन्, ‘हामीले निर्दोषलाई केही गरेका छैनौं ।’
    Onlinekhabar

    No comments

    Like Us