• Trending News

    कालो पोथी, सेतो सूर्य घरेलु दर्शकले नबुझेका कि नरुचाएका ?

    मिडियामा खुब हल्लीखल्ली मच्याएको एकाध फिल्म हलमा आए/गए । तर, दर्शकले उति चियोचर्चा गरेनन् । चियोचर्चा यसकारण नगरिएको होइनन् कि फिल्मको पब्लिसिटी भएन/गरिएन ।
    ति फिल्म ‘झुर’ पनि थिएनन् । हेर्नेजतिले ‘बबाल’ भनेकै थिए । अवार्डहरु पाएकै थिए । देशी-विदेशी महोत्सवमा हेरिएकै थिए । तर, मास -आम-दर्शक)ले किन हेरेनन् ?

    दीपक रौनियारले भनेजस्तै, दर्शक नेपाली फिल्मप्रति पूर्वाग्रही भएका हुन् ? कि सिनेमा-चेत नभएको हो ?
    यसको जवाफ संभवत रौनियारकै भाषामा खोज्न सकिएला । सिनेमा सम्बन्धीको एक साक्षतकारमा उनले बोलेका थिए, ‘आफु जुन चेतना स्तरको हो, दर्शकलाई पनि त्यही लेभलको सोचेर फिल्म बनायो भने सिम्पल कि सिम्बोलिक भन्ने प्रश्न नै उठ्दैन ।’
    अक्सर नेपाली सिनेमाको चर्चा गर्दा दर्शकलाई विभाजित गरेर हेर्ने गरिन्छ, मास र क्लास । यसलाई अहिले चल्तीको भाषामा मल्टिप्लेक्सका दर्शक र सिंगल थिएटरका दर्शक भनेर पनि बुझिन्छ ।
    एकथरीको बुझाई/सोचाई के छ भने, अलि स्तरिय फिल्म मासलाई पच्दैन । निर्देशक सुदर्शन थापाको यो भनाईले त्यस कुरालाई थप प्रष्ट पार्छ, ‘सिंगल स्त्रिmनका दर्शकले नन-लिनियर फिल्म बुझ्नै नसक्ने रहेछन् ।’ उनी एक अन्र्तवार्तामा भन्छन्, ‘फ्ल्यासब्याक राख्दा पनि सिंगल स्त्रिmनका दर्शकले फिल्म बुझेनन् । उनीहरुलाई लिनियर फिल्नै चाहिँदो रहेछ । मल्टिप्लेक्समा यस्तो समस्या छैन ।’
    दर्शकले बुझ्दैनन् ?
    फिल्मका पण्डितहरुले नेपाली फिल्मकै कोसेढुंगा भनिदिएको, विदेशी अवार्डहरुले सुशोभित ‘कालो पोथी’, ‘सेतो सूर्य’ले हलमा ‘इतिहास रच्नुपर्ने’ हो । अथवा ब्लकबस्टर हुनुपर्ने हो । तर, त्यसो भइदिएन । कारोबारको हिसावले नेपाली हलमा औसत रह्यो ।
    ‘लुट’, ‘कवड्डी’, ‘जात्रा’, ‘पशुपतिप्रसाद’का दर्शकहरु किन ओइरिएनन् ? के उनीहरुले ‘कालो पोथी’, ‘सेतो सूर्य’को कन्टेन्ट र संरचनालाई बुझ्न सकेनन् ?
    भन्नेहरुसँग सजिलो जवाफ छ, ‘यी क्लासले हेर्ने फिल्म हुन् ।’ अर्थात सिंगल स्त्रिmनका दर्शकसँग यस्तो फिल्म बुझ्ने चेत छैन । निश्चय पनि, ‘कालो पोथी’ जस्ता फिल्मलाई झुर भन्न सकिदैन । अर्को तथ्य के पनि भने, उच्च कोटीको फिल्म हुँदैमा त्यो व्यवसायिक रुपले सफल हुन्छ भन्ने छैन । फिल्म राम्रो हुनु र व्यवसायिक रुपले सफल हुनु दुई भिन्न कुरा हुन् ।
    सत्यजित रेले ‘पाथेर पञ्चाली’मा प्रयोग गरेको विम्व र शैलीलाई जानीनजानी पच्छ्याउन खोज्ने फिल्ममेकर्सहरु हामीकहाँ थुप्रै छन्, जो गहिरो साधनाको भरमा होइन, सतही कल्पनाको भरमा त्यस्तै फिल्म बनाउन तम्सन्छन् ।
    अर्कोतर्फ, नेपाली फिल्ममा बलिउडको बर्चश्व छ । बलिउडले जे पस्किन्छ, त्यही हाम्रो खुराक बन्छ । यस्तो खुराकमा अभ्यस्त हामीलाई फरक स्वाद नरुच्न सक्छ ।
    तर, कालो पोथीहरु अपेक्षाकृत नरुच्नुमा त्यती मात्र पनि कारण छैन । यी फिल्महरु नेपाली, खासगरी आम दर्शकका लागि भन्दा पनि विदेशी आँखाले खोज्ने खालका छन् ।
    मनोजबाबु पन्तको शंसय यहाँ सान्दर्भिक हुनसक्छ ‘विदेशी दातृ निकायहरुका स्वार्थमा उनीहरुले धेरै ठाउँमा अंकुश हालेर उनीहरुले हेर्न खोजेजस्तो सिनेमा मात्र बनाइरहँदा हाम्रो सिनेमाको स्वरुप पश्चिमी हेजिमोनीले खर्लप्पै खाइदिने त होइन ?’
    नबुझेका कि नरुचाएका ?
    ‘अब्बल’ भनिएका फिल्म नेपाली दर्शकले नबुझेका होइनन् । बरु नरुचाएका हुन् । किनभने ति फिल्म अरुकै आँखाबाट हेराउन खोजिएको छ, नेपाली दर्शकको आँखाबाट भन्दापनि ।
    पश्चिमी आँखाहरुलाई हामी बाँचिरहेको युग/समाजले ‘ढुंगे युग’को झल्को दिलाउँछ । यो उनीहरुको लागि रोमाञ्चक खुराक हुनसक्छ । जसरी नेशनल जियोग्राफिकमा एकलासे जंगलमा नाङ्गोभुतुङ्गो बस्ने, जंगली जनवार शिकार गर्नेहरुको वृत्तचित्र हेरेर हामी दंग पर्छौ, उसैगरी हाम्रो पछौटे रहनसहनबाट उन्नत देशका नागरिकले रमाइलो गर्दा हुन् ।
    ‘कालो पोथी’, ‘सेतो सूर्य’ फिल्मको अवमूल्यन गर्न खोजिएको होइन । तर, घरेलु दर्शकमाथि जबरजस्ती फिल्म थोपरेर ‘सिनेमा-चेत भएन’ भन्ने भाषा न्यायोचित छैन भन्न मात्र खोजिएको हो ।
    फिल्म कसका लागि ?
    हामीकहाँ मूलतः तीन थरीका फिल्ममकेर्स छन् ।
    एकथरी, जसले फिल्मलाई कमाउने धन्दाका रुपमा बुझेका छन् । उनीहरु दर्शकबाट पैसा असुल्नका लागि मनोरञ्जनको प्याकेज दिने गर्छन् । हिन्दी, कोरियन फिल्मको कथा मिसमास गरेर महिना, दुई महिनामा एउटा फिल्म उत्पादन गरिदिन्छन् ।
    दोस्रोथरी, जसले फिल्मलाई पाठशालाको रुपमा बुझेका छन् । उनीहरु फिल्ममा नयाँ-नयाँ प्रयोग गर्छन् । फिल्मको आयम र शैलीको अध्ययन पनि गर्छन् । सकेसम्म आफ्नै स्वादको फिल्म पस्कने जमार्को गर्छन् । तर, उनीहरु अझै अभ्यासकै चरणमा छन् ।
    तेस्रोथरी, फिल्मको लम्बाई-चौडाई बुझेका छन् । त्यो भन्दा बढी, विदेशी परिवेशमा कस्तो फिल्म रुचाइन्छ भनेर बुझेका छन् । विश्व सिनेमाको इतिहास र वर्तमानबारे चनाखो दृष्टि विच्छ्याइरहेका छन् । विश्व बजार खासगरी महोत्सवहरुमा लक्षित फिल्म निर्माण गरिहेका छन् ।
    अब प्रश्न उठ्छ, फिल्म कसका लागि बनाउने ? 
    निश्चल बस्नेतले एक अन्र्तवार्तामा भनेका छन्, ‘यहींको कथा भनेर यहींका जनतालाई हलसम्म तान्ने प्रयास गर्छु । विदेशी फेस्टिभलमा जाने फिल्म बनाउँदिन । मेरा फिल्ममा प्रत्यक्ष सन्देश केहि हुन्न ।’
    फिल्म कसको लागि बनाउने भन्ने प्रश्नमा फिल्ममेकर्सको मत नमिल्न सक्छ । किनभने कोहि दर्शकका लागि फिल्म बनाउँछन् । कोहि महोत्सवको लागि । र, यो भीडमा एकाध छन्, जसले आफ्नै लागि फिल्म बनाउँछन् । सत्य त के भने, जसले आफ्नो लागि फिल्म बनाउँछन्, उनीहरुको फिल्म दर्शकले रुचाउँछन् । किनभने त्यस्ता फिल्ममा लगाव, मिहेनत, साधना, श्रम मिसिएको हुन्छ । प्राण मिसिएको हुन्छ ।
    को मास, को क्लास ?
    सिंगल स्त्रिmनका दर्शक, मास, सर्वसाधरण आदि उपमा झुन्ड्याएर दर्शकमाथि हेय दृष्टिकोण राख्ने जुन प्रवृत्ति छ, त्यसले स्वदेशी फिल्मको स्तरवृत्तिमा पक्कै पनि सघाउँदैन । किनभने फिल्मको पहिलो प्राथमिकता दर्शक हुन् ।
    फिल्म हेर्नकै लागि बनाउने हो भने, त्यसले सबैखाले आँखालाई प्रभावित तुल्याउने सामथ्र्य राख्नुपर्छ । तर, हामीकहाँ विदेशी महोत्सवलाई लक्षित गर्दै फिल्म बनाउने र घरेलु दर्शकलाई ‘फिल्म नबुझ्ने’ भन्दै गाली गर्ने प्रवृत्ति व्यापक छ ।
    विश्व फिल्म बजार र नेपाली दर्शकका लागि मझदारमा रहेर पनि फिल्म बनाउन नसकिने होइन होला, जसले मास र क्लास दुबैलाई समेट्छ । जस्तो कि, नुमाफुङ । फिल्ममा पूर्वेली लिम्बु प्रथा छ, रहनसहन छ, मुर्चुङ्गा छ, आरा काटेको छ, तान बुनिएको छ, बुलाकी छ, मृगको शिकार छ, जसले विदेशी आँखालाई लोभ्याउँछ । त्यससँगै यस्ता कथानक पनि छ, जसले घरेलु दर्शकमा उथलपुथल ल्याउँछ ।
    हुन त नुमाफुङ जतिबेला बन्यो, त्यसबेला सोभित बस्नेत मार्काको फिल्मले दर्शक बिच्काइरहेको थियो । मल्टिप्लेक्स हल थिएनन् । त्यसैले अपेक्षाकृत नुमाफुङ चलेन । नचल्नुमा, यो फिल्म ‘क्लास’को लागि मात्र थियो भन्नु गल्ती हुनेछ ।
    ‘कलात्मक’ भ्रम
    एकखाले फिल्ममेकर्स आफ्नै मर्जीमा फिल्म बनाउँछन् । उनीहरु आफुलाई बौद्धिक भन्न रुचाउँन् । उनीहरुले बनाएको फिल्म, कलात्मक । तर, ‘कलात्मक’ फिल्म मासले बुझ्दैनन् ।
    केहि समयअघि ‘लालपूर्जा’ भन्ने फिल्म प्रदर्शनमा आयो । फिल्ममा बजैनी रंग, बैगुन आदिलाई विम्वको रुपमा प्रयोग गरिए । कुमार नगरकोटीलाई सम्मिलित गराइएको फिल्मलाई त्यसका निर्देशककले ‘कलात्मक’ बनाउन चाहेका थिए । तर, उनको कला दर्शकले बुझ्नै सकेनन् ।
    केहि समयअघि सुरज भुसालले ‘गाँठो’ भन्ने फिल्म बनाए । बाइपोलार डिसअर्डरग्रस्त युवाको कथामाथि बनाइएको फिल्ममा थुप्रै विम्व प्रयोग गरिए । तर, फिल्मलाई निर्देशकले जसरी बुझेका थिए, दर्शकले त्यो गहिराईमा बुझेनन् । गल्ती दर्शकको थिएन, फिल्ममेकर्सकै थियो ।
    किनभने उनीहरुले ‘कलात्मक’ भन्दै निर्माण गरेका फिल्म वास्तवमै कलात्मक हुँदो हो त दर्शकलाई त्यो कोक्याउने थिएन । तर, कलात्मक बनाउने सतही प्रयास र अभ्यासमा फिल्म औसतभन्दा पनि तल्लो स्तरको बन्न पुग्यो । दर्शकले त्यस्ता फिल्मलाई ‘राम्रो’ भनेर नाटक गर्न सकेनन् ।
    सत्यजित रेले ‘पाथेर पञ्चाली’मा प्रयोग गरेको विम्व र शैलीलाई जानीनजानी पच्छ्याउन खोज्ने फिल्ममेकर्सहरु हामीकहाँ थुप्रै छन्, जो गहिरो साधनाको भरमा होइन, सतही कल्पनाको भरमा त्यस्तै फिल्म बनाउन तम्सन्छन् । नतिजा, फिल्म कलात्मक होइन, जोक जस्तो बन्न पुग्छ ।
    नाँच्न नजान्ने
    हामीकहाँ फिल्ममेकर्स अन्यौलमा छन् । उनीहरु दर्शकका लागि फिल्म बनाउन खोज्छन् । तर, दर्शकको मनोविज्ञान बुझ्ने कष्ट खेप्दैनन् । फिल्म चल्यो भने, दर्शकको गुणगान गाइदिन्छन् । चलेनन् भने, गाली गरिदिन्छन् ।
    ‘चकलेट’ भन्ने फिल्मले हावा खाएपछि त्यसकी निर्माता तथा अभिनेत्री पूजना प्रधानले स्टाटस लेखेकी थिइन्, ‘नेपालीलाई राम्रो कथा राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्ने रहेछ ।’
    आफ्नो फिल्म नचलेपछि उनी दर्शकसँग विच्किएकी रहिछन् । ‘मैले राम्रो मनले राम्रो कामको लागि फिल्म बनाएँ तर तपाईहरुको साथ पाइन ।’
    नेपाली फिल्ममेकर्सको प्रवृत्ति ठ्याक्कै त्यस्तै छ, जो हामी उखानमा भन्ने गर्छौ, ‘नाच्न नजान्ने, आँगन टेँडो ।’
    onlinekhabar

    No comments

    Like Us