• Trending News

    मनोजको इन्काउन्टरसँगै एमाले माओवादीको ‘बाइप्रोडक्ट’ मासियो

     काठमाडौं । ‘संसार फेर्न हिँडेको मान्छे आफैं फेरिएछ’ भनेजस्तै युवाहरुलाई फेर्ने दाबी गरेका वाइसीएल र युथफोर्स आफैं फेरिए ।
    उनीहरुले आफ्नो संगठनमा प्रवेश गराएका आपराधिक चरित्रका युवाले सिंगै संगठनलाई नै ‘डन उत्पादन गर्ने उद्योग’ जस्तो बनाइदिए । यर्सैका पछिल्लो दृष्टान्त हुन्– बुधबार प्रहरीको इन्काउन्टरमा मारिएका मनोज पुन ।
    सामान्य परिवारमा जन्मेका डन मनोज पुनले सुरुमा माओवादी निकट वाईसीएलको आडमा रहेर रुपन्देही जिल्लामा हुने ठेक्कापट्टामा हस्पक्षेप गर्न थाले । माओवादीको आडमा युवाको समूह बनाएर उनले जिल्लामा हुने ढुंगा, गिटी, बालुवा लगायत ठेक्कापट्टामा भाग खोज्न थाले ।
    विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँगै उनले साझेदारी गर्न थाले । उनी राजनीतिको आडमा पैसा कमाउने धन्दामा रम्न थालिसकेका थिए । तर, वाईसीएललाई काउन्टर दिन एमालेले युथफोर्स खोलेपछि मनोजको कमाउ धन्दा चौपट भयो ।
    त्यसपछि मनोजले नयाँ जुक्ति निकाले– आफैं युवा संघको नेता हुने । सुरुमा क्षेत्रीय सदस्यको जिम्मेवारी पाएका उनको पहुँच युवा संघको माथिल्लो नेतृत्वसम्म पुग्यो । युथफोर्समा पुगेपछि उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशनसमेत माग्न थाले ।
    तिवारी हत्याकाण्डपछि मनोजको नाम आतंकको पर्याय बन्यो । उनले फोन गर्दै धम्याउने र पैसा असुल्ने धन्दा चलाउन थाले । २१ पुस ०७४ मा बसन्त पौडेल बलुको हत्या गरे, जो युवा संघमा रहँदा उनकै सहकर्मी थिए
    भनेअनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले । उनले यो सबै धन्दा युवा संघको राजनीतिक कभरमा गरे ।
    युवा संघमा रहेर मनोजको गतिविधिलाई नियालेका एक नेता भन्छन्, ‘युथ फोर्समा आएर पनि उसको अपराधिक गतिविधि रोकिएन । बरु झन् बढ्यो ।’
    मनोजले सामान्य कुरामा पनि बन्दुक देखाउने, हतियार चलाउने, हवाई फायर गर्ने लगायतका काम गर्न थाले । युवा संघका एक नेताका अनुसार टेन्डर, काठ तस्करी लगायतका गतिविधिमा मनोजले आफ्नो वर्चश्व कायम गर्नलाई कुनै कसर बाँकी राखेनन् ।
    मनोज पुनजस्ता डनहरुले राजनीतिका नाममा अपराध धन्दा चलाएपछि युवासंघसँगै एमालेमै विवाद देखियो । युवा संघको एउटा पक्ष डनलाई सुधार्नुपर्ने पक्षमा थिए भने अर्को पक्षका त्यस्ता अपराधिक चरित्र भएका व्यक्तिलाई युथ फोर्सबाट हटाउनुपर्ने पक्षमा थिए ।
    युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी, मनोज पुनको नजिक थिए । त्यसैले उनले पुनलाई सुध्रन आग्रह गरे । तर, उनको गतिविधि कम भएन, बरु झन् बढ्यो । र, पुनले तिवारीको हत्यासम्म गर्न भ्याए ।
    दूर्गा तिवारीको हत्या अघि पुन युथ फोर्सबाट निकालिएका थिए । यसले मनोजलाई अझ अपराधकर्मतिर डोहोर्‍यायो । आफूलाई पार्टीबाट निकाल्न तिवारीको मुख्य भूमिका खेलेको निष्कर्ष निकाले र उनको हत्या गर्न लगाए । ४ पुस ०७३ मा तिवारीको हत्या भयो ।
    तिवारी हत्याकाण्डपछि मनोजको नाम आतंकको पर्याय बन्यो । उनले फोन गर्दै धम्याउने र पैसा असुल्ने धन्दा चलाउन थाले । २१ पुस ०७४ मा बसन्त पौडेल बलुको हत्या गरे, जो युवा संघमा रहँदा उनकै सहकर्मी थिए ।
    एक प्रहरी अधिकारीका अनुसार मनोज पुनसँग सबैभन्दा पहिले सार्पसुटर सोमबहादुर आले जोडिएका थिए । आले डकौतीसँगै हत्याको आरोपमा पाल्पा कारागारमा थिए । त्यहाँबाट निस्किएपछि उनीहरुबीच चिनजान भएको बताइन्छ
    पुन ग्याङको अन्त्य
    दुर्गा तिवारीको हत्यापछि विदेशमा लुकेरै भए पनि मनोज पुनले चन्दा असुली रोकेका थिएनन् । केही पहिले काठमाडौंमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा समेत मनोज समूहको संलग्नता रहेको प्रहरीको दाबी थियो ।
    मनोज भारतीय अन्डवर्ल्डमा समेत पहुँच विस्तार गर्दै थिए । तर, उनी र मुख्य सहयोगी सोमबहादुर आले बुधबार इकाउन्टरमा मारिएसँगै मनोज पुन ग्याङको अन्त्य भएको छ ।
    यो ग्याङले अन्डरवर्ल्डको शैलीमा अपराधिक गतिविधि गर्दै आएको थियो । हत्याकाण्ड मच्चाउने र लगत्तै सञ्चारकर्मी वा प्रहरीलाई फोन गरेर जिम्मेवारी लिएर अन्य व्यवसायीलाई धम्क्याउँदै असुली गर्ने यो ग्याङको शैली हो ।
    एक प्रहरी अधिकारीका अनुसार मनोज पुनसँग सबैभन्दा पहिले सार्पसुटर सोमबहादुर आले जोडिएका थिए । आले डकौतीसँगै हत्याको आरोपमा पाल्पा कारागारमा थिए । त्यहाँबाट निस्किएपछि उनीहरुबीच चिनजान भएको बताइन्छ ।
    ग्याङको मास्टरमाइन्ड मनोज पुन नै थिए । तर, व्यवस्थापकीय काम भने आलेले नै गर्थें । पाल्पा कारागारमा रहँदा आलेको पवन चौधरी र महिनारायण भनिने महेन्द्र चौधरीसँग चिनजान भयो । जेलबाट छुटेपछि उनीहरु पनि ग्याङमा समेटिए । चौधरीद्वय २१ पुसमा पक्राउ परिसकेका छन् ।
    पुन समूहको मुख्य टोलीमा उनीहरु चारजना रहेको प्रहरी स्रोत बताउँछ । योजना बनाउने र तीनजनालाई विभिन्न काम लगाउने ‘भर्टिकल कम्प्युनिकेटर’ का रुपमा मनोज रहेको प्रहरी बताउँछ ।
    प्रहरीका अनुसार आले सार्पसुटर थिए । तर, व्यवस्थापकको जिम्मेवारी पनि निभाउँथे । ग्याङमा दोस्रो भूमिकामा रहेका उनी पनि बुधबार देवदह इन्काउन्टरमा मनोजसँगै मारिएका छन् ।
    अन्ततः मनोज ग्याङको अन्त्यसँगै माओवादी र एमालेका भातृ संगठन वाइसीएल र युथफोर्सले प्रत्युत्पादन गरेको ‘बाइप्रोडक्ट’ सधैंका लागि नष्ट भएको छ ।

    No comments

    Like Us