• Trending News

    एमाले-माओवादीभित्र आन्तरिक किचलो, एकैदिन दुईचोटि सपथ !

    पोखरा । प्रदेश ४ मा शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा प्रदेश सरकार गठन भएको छ । तर, सत्तारुढ माओवादी केन्द्रको आन्तरिक विवादका कारण एकै दिन २ पटक सपथ खुवाउनु परेको छ । सरकार गठनमा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।

    मन्त्रीका धेरै आकांक्षी भएका कारण माओवादीले नाम दिन नसकेपछि शुक्रबार बिहान मुख्यमन्त्रीसहित दुई सदस्यीय मन्त्रिपरिषद गठन भयो । प्रदेश प्रमुख बाबुराम कुँवरले उनकै निवासमा सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सपथ खुवाए ।
    एमालेका रामशरण बस्नेत मन्त्री बने । बस्नेतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाए । बस्नेत एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केन्द्रीय वैकल्पिक सदस्य हुन् ।
    शुक्रबार बिहानै मुख्यमन्त्रीसँगै एमालेका १ र माओवादीका १ जना गरी ३ सदस्यीय मन्त्रिरिषद् गठन गर्ने गृहकार्य थियो । आकांक्षी धेरै भएकै कारण बिहान मन्त्रीको टुंगो लगाउन नसकेको माओवादी केन्द्रले दिनभरको छलफलपछि मन्त्रीमा २ जनाको नाम टुंगो लगायो । बिहान २ सदस्यीय गठन भएको मन्त्री मण्डल बेलुका २ जना थपिएर विस्तार भयो ।
    माओवादी प्रदेश ४ का संसदीय दलका नेता हरिबहादुर चुमान र लेखबहादुर थापाले बेलुका ६ बजे सपथ लिए । प्रदेश इञ्चार्ज तथा प्रतिनिधि सभा सदस्य देव गुरुङका पि्रय पात्र तनहुँबाट सांसद बनेका चुमानले आन्तरिक मामिला तथा कानुनमन्त्रीको सपथ लिएका हुन् ।
    गोरखाबाट प्रतिनिधिसभा सदस्य हरि अधिकारी ‘कुमार’को जोडबलमा लेखबहादुरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ लिए ।
    चुमान माओवादी केन्द्र तनहुँ जिल्ला इन्चार्ज हुन् भने थापा गोरखा जिल्ला संयोजक । तर, पार्टी र संसदीय दलको बैठकले भन्दा पनि व्यक्तिको निर्णयका भरमा मन्त्री तोकिएको भन्दै माओवादी सांसदले आपत्ति जनाएका छन् ।
    दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव !
    केही व्यक्तिको मुठीमा रहेका सांसद मन्त्री बनेको माओवादी प्रदेश ४ का संसदीय दलका उपनेता रामजी बरालले बताए । ‘यो न त पार्टीगत निर्णय हो नत संसदीय दलको सहमतिबाट नै मन्त्री बनाउने निर्णय भएको हो,’ उपनेता बरालले भने, ‘संसदीय प्रणालीभन्दा बाहिरबाट मन्त्री छानेर नयाँ सामन्तवाद हाबी भयो ।’
    उपनेता बरालमात्रै होइन, अर्का सांसद दीपक कोइरालाले पनि मन्त्री छान्ने निर्णयसँग असहमति जनाएका छन् । ‘यो पार्टी र संसदीय दलको निर्णय होइन, हरि अधिकारी र देव गुरुङ गुटको निर्णय हो’ उनले भने ।
    यो निर्णयसँगै संसदीय दलका नेतामाथि अविश्वासको प्रस्तावसमेत लान सकिने उनीहरुले बताएका छन् । बराल, कोइराला लगायत अन्य केही सांसद पनि यो निर्णयको विरुद्धमा छन् ।
    संसदीय दलको बैठकमा सहमति नजुटे लोकतान्त्रिक विधिअनुसारै भए पनि मन्त्री टुंगो लगाउनुपर्नेमा त्यसो नगरिएको भन्दै उनीहरुले असन्तुष्टि जनाए ।
    एमालेभित्र पनि असन्तुष्टि
    तीन मन्त्री
    माओवादीभित्रमात्रै होइन, प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेभित्र पनि उस्तै असन्तुष्टिको आगो सल्किएको छ ।
    एमाले संसदीय दलले पनि सबै मन्त्रीको अझै टुंगो लगाउन सकेको छैन । एमालेलाई ५ र माओवादीले ५ मन्त्री पाउने गरी प्रदेश ४ मा वागबन्डा गरिएको छ । तर, शुक्रबारसम्म पनि माओवादीले ३ मन्त्री पाउनुपर्ने माग राखेको थियो ।
    एमालेबाट बस्नेत उद्योय, पर्यटन, वन तथा वातावरण मन्त्री पाए पनि आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कसलाई तोक्ने भन्ने सकस छ ।
    मन्त्रीका आकांक्षी बढी भएका कारण नाम टुंगो लगाउनै हम्मेहम्मे छ । अब एमालेले टुंग्याउनुपर्ने ३ मन्त्रालयमात्रै छन् । पर्वतबाट विजयी सांसद विकास लम्साल, मुस्ताङबाट विजयी चन्द्रमोहन गौचन, म्याग्दीबाट विजयी नरदेवी पुन, नवरपुरका रोशन गाहामगरलगायत कास्कीका ३ जना सांसद मन्त्रीको आकांक्षी मात्रै छैनन्, नेतासँग लबिङ पनि गरिरहेका छन् ।
    कास्कीका कृष्ण थापा, सिर्जना शर्मा र राजीव पहारीले मन्त्रीको दावी गरेका छन् । ‘धेरै जनाले आकांक्षा राख्नुभएको छ तर टुंगो लगाउने गरी मजाले छलफलै हुन पाएको छैन,’ प्रदेश इन्चार्ज किरण गुरुङले भने ।
    धेरैजनाको आकांक्षा भएकै कारण मन्त्रीको टुंगो लगाउन समस्या परेको एमो केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बाले बताए । ‘पद थोरै छ आकांक्षा धेरै जनाको छ, त्यसै कारणले समस्या भएको हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘केही दिनभित्रै छलफलबाट टुंगो लगाउँछौं ।
    Onlinekhabar

    No comments

    Like Us