• Trending News

    नेपाली इन्जिनियरहरुलाई चीनमा रेल तालिम

    काठमाडौं । नेपाल-चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन गत २४ कात्तिकमै चिनियाँ पक्षले दिइसकेको छ । अब नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु भएको छ ।
    नेपालसँग ५३ किलोमिटर लामो जनकपुर-जयनगर ‘न्यारो गेज’बाहेक रेलमार्ग सञ्चालनको अनुभव छैन । सोही कारण चीनले नेपाली इन्जिनियरहरुलाई तालिम दिन लागेको हो । उनीहरुलाई छिट्टै चीन पठाउने तयारीमा छ, रेल विभाग ।कात्तिकमा चिनियाँ टोली फर्किएलगत्तै त्यहाँको नेसनल रेलवे एडमिनिस्ट्रेसन (एनआरए)ले रेल्वे विभागलाई पत्र लेख्दै प्राविधिक तालिमका लागि प्रस्ताव गर्न आग्रह गरेको थियो । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति जुटिसकेको छ ।
    आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे नेपाली इन्जिनियरहरुले तालिम पाउने आचार्यले जानकारी दिए ।
    चिनियाँ टोलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको छ ।
    ‘हाम्रा इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले यो तालिम हाम्रा लागि महत्वपूर्ण हुनेछ,’ आचार्य भन्छन्, ‘रेलमार्ग अगाडि बढाउन सहज पनि हुनेछ ।’
    तालिमको प्रस्तावबाट रेलमार्ग निर्माणमा चीन प्रतिबद्ध रहेको सन्देश पाइएको विभागका अधिकारीहरु बताउँछन् ।
    चीनसँगको प्रस्तावित रेलमार्ग निर्माणका लागि नेपाल सरकारले औपचारिक आग्रह गर्न बाँकी छ । महानिर्देशक आचार्यका अनुसार ठोस रुपमा काम थाल्न दुई देशबीच औपचारिक सम्झौता हुनुपर्छ ।
    चीनले सन् २००६मै ११ सय किमि लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । हाल ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।
    उक्त मार्गलाई काठमाडौंसम्म जोड्ने चिनियाँ सोच देखिन्छ । र, काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको योजनामा गृहकार्य भइरहेको छ ।
    तथापि, प्रारम्भिक अध्ययनमा तीन वटै मार्गमा केही भौगर्भिक र भौगोलिक समस्या औंल्याएको छ, चिनियाँ टोलीले । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने उक्त टोलीको निष्कर्ष छ ।
    यद्यपि, यस्तै समस्या रहेका अन्य मुलुकमा रेलमार्ग सञ्चालनमा रहेकाले नेपालमा पनि सम्भव रहेको सन्देश चिनियाँ प्राविधिकले दिएका छन् ।
    इन्जिनियरहरुलाई तालिम दिने दिने प्रस्तावले चीन रेलमार्ग निर्माणमा प्रतिबद्ध छ भन्ने सन्देश दिएको छ
    दुई मुलुकबीचको भूभाग निकै विकट छ । सोही कारण निर्माणाधीन धेरै सडक आयोजना सम्पन्न हुन सकेका छैनन् । रेलमार्गमा पनि भौगोलिक जटिलता अवरोधका रुपमा देखिनसक्ने टोलीले औंल्याएको छ ।
    तर, चीनसँग जस्तोसुकै भूगोलमा पनि रेल र सडक निर्माण गरेको अनुभव छ । त्यसको पछिल्लो उदाहरण हो, क्विनघाई र तिब्बती पठारको ‘चोला पहाड’ छेडेर बनाइएको सडक ।
    सिचुवान प्रान्तको चार हजार मिटर उचाइमा उक्त सडक निर्माण भएको छ । र, १५ वर्षको निरन्तर प्रयत्नपछि हालै सञ्चालनमा आएको छ ।

    नेपाल र चीनबीचमा पनि विकट हिमाली क्षेत्र पर्छ । अग्ला पहाडहरुका कारण गणितीय ‘रेडियन्स’को समस्या हुने चिनियाँ टोलीको ठम्याइ छ । अर्थात्, यस्तो क्षेत्रमा ओर्लिन र उक्लिन सक्ने ‘लिक’ निर्माण गर्नुपर्छ ।
    नेपालका केही नीतिगत जटिलता पनि निर्माणका क्रममा बाधक हुन सक्ने जोखिम छ । खासगरी, वन क्षेत्रमा रुख काट्नुपर्दा ठूलै समस्या आउने गरेको छ । चिनियाँ टोलीले नीतिगत जटिलता तत्काल हटाउन सुझाएको विभागका वरिष्ठ इन्जिनियर प्रकास उपाध्यायले जानकारी दिए ।
    टेन्डर र ठेक्कापट्टामा पनि नीतिगत जटिलता रहेकाले दुवैमा सुधार गर्न चीनले सुझाएको छ । प्रक्रियागत जटिलताकै कारण नेपालका आयोजनामा निर्माण अवधि बढ्ने अनुभव चीनसँग छ ।
    Online Khabar

    No comments

    Like Us