• Trending News

    रिङरोडको सुरक्षा जाँच र मिडियन निर्माण ‘छिट्टै’

    सडक विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले यही माघ २५ गते एक सार्वजनिक मञ्चमा भनेका थिए, ‘आठ लेन रिङरोडको कोटेश्वर–कलंकी खण्डमा केही गल्ती देखिएका छन्। हामी प्राविधिक जाँच गराउने छौं। न्यूनतम क्षति हुने गरी गल्ती सच्याइनेछ। कसैले शंका नगरे हुन्छ।’
    उनले अर्को बाचा पनि गरे, ‘बाँकी १७ किलोमिटर बनाउँदा गल्ती दोहोरिने छैनन्।’
    दस दिन बित्यो। यस अवधिमा सडक विभागले के–कति काम अघि बढायो त?
    यही बुझ्न हामीले रिङरोड विस्तार परियोजना निर्देशकसमेत रहेका श्रेष्ठलाई फेरि भेट्यौं।
    उनले पर्यटन बोर्डमा आयोजित सार्वजनिक समारोहमा गरेको बाचा दोहोर्याए। र, भने, ‘हामीले काम सुरु गरिसकेका छौं। निर्माण भइसकेका ठाउँमा के–के समस्या छन्, त्यसको प्राविधिक जाँच गराउँदैछौं। नयाँ बन्ने खण्डमा गल्ती नदोहोर्याउन चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ।’
    सरकारले २७ किलोमिटर रिङरोड चिनियाँ सहयोगमा आठ लेन बनाउन लागेको हो। पहिलो चरणमा कोटेश्वर–कलंकीको १० किलोमिटर खण्ड बन्दैछ।
    यहाँ बीचमा चार लेनको द्रुतमार्ग छ, जहाँ दुईतर्फी सवारी गुड्नेछन्। यसको दुवैतर्फ दुई–दुई लेनको सर्भिस लेन छ। द्रुतमार्गमा प्रतिघन्टा ५० किलोमिटर गतिमा सवारी चल्छन् भने सर्भिस लेनमा २० किलोमिटर गतिमा।
    अब आठ लेन रिङरोड डिजाइनका त्रुटि र विभागले कसरी सच्याउन खोज्दैछ चर्चा गरौं।
    डिजाइनअनुसार दुईतर्फी सडकबीच ‘मिडियन’ छैन। ‘मिडियन’ भनेको विपरित दिशाबाट आउने गाडीलाई बाटो छुट्टयाउने बार वा खाली ठाउँ हो। मिडियन नहुँदा विपरित दिशाका गाडी जुध्न सक्छन्। ओभरटेक गर्दा गाडी अर्को लेनमा घुस्छन्। फराकिलो सडकमा यस्तो मिडियनले पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ।
    यो गल्ती सच्याउन विभागले ‘प्राविधिक सुरक्षा जाँच’ गराउन लागेको उप–महानिर्देशक श्रेष्ठले जानकारी दिए।
    सडक विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठ।
    ‘सुरक्षा जाँच गराउन सरोकारवाला निकायसँग छलफल सुरु गरेका छौं। जिल्ला प्रशासन कार्यालय र चिनियाँ निर्माण कम्पनीसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘जे समस्या पहिचान हुन्छन्, त्यसलाई सुल्झाउन सरकारसँग बजेट माग गरिनेछ।’
    मिडियन डिजाइनमै नपरेकाले चिनियाँ कम्पनीले बनाउँदैन। सरकार आफैंले बनाउनुपर्छ। कस्तो खालको बनाउने भन्ने जाँचपछि टुंगो लाग्ने उनले बताए।
    ‘चिनियाँ कम्पनीले निर्माण सकेर ‘ह्यान्डओभर’ गर्नुअघि नै मिडियनको काम सक्ने छौं,’ उनले भने।
    सडक सुरक्षा जाँच गर्न विभागसँग ४० जना इञ्जिनियरको समूह छ। कोही विभागमै कार्यरत छन् भने कोही बाहिर छन्। तिनलाई सडक सुरक्षा सहायता आयोजनाअन्तर्गत तालिम दिइएको श्रेष्ठले जानकारी दिए।
    ‘दुईतर्फी लेन बीचमा कम उचाइको ‘कंक्रिट’ पर्खाल वा बार लगाउन सकिन्छ,’ उनले भने, ‘सुरक्षा जाँच टोलीले जे सिफारिस गर्छ, त्यसैअनुसार अघि बढ्नेछौं।’
    सामान्यतया यस्तो मिडियन तीन मिटरको हुन्छ। यहाँ भने डिजाइन गर्दा मिडियनको ठाउँ नराखिएकाले यही आकारको बनाउन सम्भव छैन।
    प्राविधिकहरूले बनिसकेको रिङरोड नबिगारी मिडियन बनाउन चार उपाय सुझाएका छन्।
    पहिलो, चार लेनलाई जस्ताको तस्तै राखेर दुईतर्फी बाटो छुट्टयाउन बीचमा एकदेखि डेढ फुटे खाली ठाउँ निकाल्न सकिन्छ। खाली ठाउँमा कंक्रिटको सानो बार लगाएर बगैंचा बनाउने प्राविधिकको सुझाव छ। कलंकी–सोल्टीमोड खण्डमा यस्तै गरिएको छ। बगैंचाले सडक बीचमा मिडियनको काम गर्छ। सौन्दर्य पनि बढाउँछ।
    दोस्रो, प्लास्टिकको ड्रममा पानी भरेर मिडियनका रूपमा प्रयोग गर्न सकिन्छ। यही प्रयोजनका निम्ति बजारमा प्लास्टिकका ड्रम पाइन्छन्। पानीमा रङ हालेर रंगीन बनाउन मिल्छ। ती ड्रममा स–साना बिरुवा र फूल रोपेर सिंगार्न मिल्छ। यसले सडक क्षेत्र सुख्खा हुन दिँदैन। यसको लम्बाइ पाँच फुटजति हुन्छ भने उचाइ तीन फुटसम्म राख्न मिल्छ। चौडाइ भने एकदेखि डेढ फुटको हुन्छ।
    तेस्रो, एकदेखि डेढ फुट उचाइको मसिनो ‘डिभाइडर’ राखेर दुईतर्फी बाटो छुट्टयाउन सकिन्छ।
    चौथो, बीचको चार लेनलाई पाँच लेन बनाउन सकिन्छ। अहिले एउटा लेनको चौडाइ ३.५ मिटर छ। यसलाई २.८ देखि ३.१ सम्म बनाए अर्को लेन निकाल्न सकिन्छ। बनेको संरचना बिगार्नुपर्दैन। सडक चिह्न मात्र समायोजन गरे पुग्छ। यसो गर्दा नयाँ निस्कने बीचको लेन मिडियनका रूपमा प्रयोग गर्न सकिन्छ। धेरै विकसित सहरमा लेनको चौडाइ सामान्यतया २.८ देखि ३ मिटरकै हुन्छ।
    ‘सवारी र पैदलयात्रुको सुरक्षा निम्ति जुनसुकै विकल्पमा जान तयार छौं,’ श्रेष्ठले भने, ‘सुरक्षा जाँचपछि जे गर्दा राम्रो हुने सुझाव आउँछ, त्यसैअनुसार गर्नेछौं।’
    नयाँ बन्ने १७ किलोमिटरमा भने तीनदेखि पाँच मिटर फराकिलो मिडियन बनाउने श्रेष्ठले बाचा गरे। उनका अनुसार चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनसँग छलफल भइसकेको छ। दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्ड बन्दैछ।
    ‘यसको डिजाइन फाइनल गरिसकेका छैनौं,’ उनले भने, ‘अबको डिजाइनमा मिडियनलाई पर्याप्त ठाउँ छुट्टयाइनेछ।’
    पहिलो चरणको निर्माण क्रममा सर्वसाधारणले बेहोर्नुपरेको सास्ती नदोहोरियोस् भनेर समझदारीपत्रमै व्यवस्था गरिने पनि श्रेष्ठले बताए।
    ‘सडक बनाउँदा पैदलयात्रुलाई बाटो काट्ने सुविधादेखि धूलो नियन्त्रण उपाय अपनाउने गरी चिनियाँ पक्षसँग नयाँ सम्झौता गर्नेछौं,’ उनले भने।
    निर्माणाधीन खण्डमा पैदलयात्रुलाई बाटो काट्न जेब्रा–क्रस छैन। अहिल्यै समस्या सुरु भइसक्यो। आठै लेनमा गाडी गुड्न थालेपछि बाटो काट्नै सकिन्न।
    निर्माण पूरा भइसकेको ठाउँमा छिटोभन्दा छिटो जेबा–क्रस बनाइने श्रेष्ठले बताए। उनका अनुसार दस किलोमिटर खण्डमा नौवटा आकाशे पुल बन्नेछन्। तीमध्ये तीनवटा सुरु भइसके, बाँकी छवटाको काम छिट्टै सुरु हुनेछ। थप आकाशे पुल चाहिए सरकारसँग बजेट मागेर निर्माण गरिने उनले बताए।
    बाँकी खण्ड निर्माण क्रममा पैदलयात्रुलाई बाटो काट्ने समस्या आउन नदिन विभागले केही उपाय अपनाउँदैछ।
    पहिले कोटेश्वरदेखि कलंकीसम्म एकैचोटि काम सुरु भएको थियो। यति लामो खण्ड एकैचोटि तोडफोड गर्दा पैदलयात्रुले सास्ती पाएका थिए। धूलोले रिङरोड क्षेत्र अहिले पनि कुइरीमण्डल छ।
    अब भने विभागले पाँच सय मिटर दरमा चरणबद्ध निर्माण गर्ने भएको छ। पहिलो पाँच सय मिटर बनेपछि बल्ल थप खन्न थालिनेछ। बल्खु पुलबाट कलंकीसम्म निर्माण गर्दा नै यसैअनुसार काम गर्ने श्रेष्ठले बताए।
    ‘सानो दूरीमा चरणबद्ध काम गर्दा पैदलयात्रुलाई सास्ती हुँदैन,’ श्रेष्ठले भने, ‘धूलोको समस्या पनि अहिलेजस्तो हुने छैन।’
    डोजरले सडक खन्दाखन्दै ट्यांकरबाट पानी छर्केर धूलो नियन्त्रण गर्ने तयारी पनि छ। यसरी पानी छर्ने काम अहिले पनि भएकै हो। डोजरले प्रत्येकचोटि खन्दा सँगसँगै पानी छर्दै गए धूलो कम उड्ने उनको भनाइ छ।
    ‘विगतमा विभिन्न कारणले गल्ती भएका हुन सक्छन्। गल्तीबाट सिक्दै जाने हो। अबका दिनमा रिङरोड डिजाइनदेखि जनताले भोग्नुपरेका असुविधा समाधान गर्दै लगिनेछ,’ श्रेष्ठले भने।
    सडक खनेपिच्छे धूलो साम्य पार्न पानी भने अभाव हुन सक्ने उनले औंल्याए।
    कलंकीदेखि महाराजगन्जसम्म निर्माण गर्न खानेपानी पाइप, बिजुली र टेलिफोनका खम्बा हटाउने काम जून महिनाको अन्त्यसम्म पूरा गर्ने योजना छ।
    फुटपाथ साँघुरो हुनु र साइकल लेन नहुनु रिङरोडको अर्को समस्या हो। अहिले तीन जना पनि नअट्ने फुटपाथ छ। विगतमा डिजाइन गर्दा दुवैतर्फ साइकल लेन थियो। पछि हट्यो।
    उप–महानिर्देशक श्रेष्ठले ठाउँ अभावमा फुटपाथ साँघुरो भएको बताए। उनका अनुसार फुटपाथ र साइकल लेनलाई दुवैतर्फ तीन मिटर छुट्टयाइएको छ। यो कम भयो भन्ने गुनासो छ।
    ‘यसलाई दोस्रो चरणमा सम्भव भएसम्म समाधान गर्ने छौं,’ उनले भने।
    प्राविधिकहरूले सर्भिस लेन समायोजन गरेर फराकिलो फुटपाथ र साइकल लेन बनाउन सकिने सुझाव दिएका छन्। एउटा सर्भिस लेनको चौडाइ २.८ मिटर छ। अलिकति घटाए फुटपाथ फराकिलो पारेर साइकल लेनसमेत निकाल्न सकिने प्राविधिक बताउँछन्।
    setopati

    No comments

    Like Us