• Trending News

    प्रदेश ५ मा खटाइएका १८६ कर्मचारी बाटैमा गायब

    बुटवल । प्रदेश सरकारका लागि केन्द्रबाट खटाइएका कर्मचारीहरू बाटैमा गायव भएका छन् । प्रदेश ५ का लागि केन्द्रबाट खटाइएका एक सय ८६ कर्मचारी बाटैबाट हराएका हुन् ।
    उक्त प्रदेशका लागि स्थानीय विकास मन्त्रालयले दुई सय ३५ कर्मचारी खटाएको थियो । तर, खटाइएका कर्मचारीमध्ये ४९ जनामात्रै हाजिर भएका ५ नम्बर प्रदेशको मूख्यमन्त्री कार्यालयले जनाएको छ ।
    सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका झन्डै ८० प्रतिशत कर्मचारी अझै पनि प्रदेश मुकाम बुटवल आइपुगेका छैनन् ।
    कर्मचारी काममा आइनपुगेपछि प्रदेश सरकार र मन्त्रालयका दैनिक कामकाज प्रभावित हुन पुगेको प्रदेशका मूख्यमन्त्री कार्यालयका प्रमुख सचिव शंकर पाठकले अनलाइनखबरलाइ बताए ।
    ‘कर्मचारी नहुँदा नियमित काम र कार्यालयीय व्यवस्थापनमा समस्या भइहेको छ ।’ उनले भने । कर्मचारीको अभावमा विदाको दिनमासमेत काम गर्नुपरेको गुनासो उनले गरे ।
    मुख्यमन्त्री कार्यालयमासमेत २९ कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १० जना मात्रै हाजिर भएका छन् । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएका २७ मध्ये ७ कर्मचारी मात्रै हाजिर छन् ।
    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ मा ११ जना र आन्तरिक मामिला तथा कानूनमा २९ मध्ये ५ कर्मचारी मात्रै हाजिर भएका छन् ।
    भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३ कर्मचारी हाजिर हुनुपर्नेमा ५ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३८ मध्ये ६ कर्मचारीमात्र नियमित काममा आएका छन् ।
    त्यस्तै, सामाजिक विकास मन्त्रालयमा ४१ कर्मचारी हुनुपर्नेमा ५ जना मात्र आइपुगेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
    मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ६ तले सेतो भवनमा रहेका छन् ।
    onlinekhabar

    No comments

    Like Us