• Trending News

    शिवरात्रीमा सेलिब्रिटीः केकी केटाकेटीलाई पैसा बाँड्दै, सञ्चिता बाबाजीलाई चिया खुवाउँदै

    आज देशभर महाशिवरात्रीको रौनक छ । पशुपतिनाथको मन्दिर परिसरमा भक्तजनहरु भिड लागेका छन् । अर्कोतर्फ केटाकेटीहरु गल्लीगल्लीमा डोरी टाँगेर पैसा उठाउन बसेका छन् ।
    हामीले केही सेलिब्रिटीहरुसँग उनीहरुको शिवरात्री अनुभवबारे सोधेका छौं । के भन्छन् त उनीहरु ?
    डोरी टाँगेकालाई पैसा बाँड्दै हिँड्छुः केकी अधिकारी
    शिबरात्रीको दिन बाटोमा जताततै केटाकेटीले डोरी टाँगेर बसेको देखेको छु । केटाकेटीका लागि एकछिनको उत्सव हो । म त्यसरी बसेकालाई पैसा दिन्छु । केटाकेटीलाई दिनुपर्छ भनेर नै केही खुद्रा पैसा बोकेर हिँडेकी छु ।
    सानो बेलामा त्यसरी डोरी टाँगेर बस्दा मलाई पनि रमाइलो लाग्थ्यो । अरु साथीहरु सडकमै बस्थे, म चाँही टाढा बसेर हेरिरहन्थेँ । म अलि लजालु स्वभावकी थिएँ ।
    शिवरात्रीमा भिडभाड धेरै हुने भएकाले पशुपतिनाथ मन्दिर जान्न । शिवरात्रीमा पशुपति क्षेत्रको माहौल कस्तो हुन्छ अहिलेसम्म थाहा छैन । घरमै भगवान शिवको पूजा चाहीँ गर्छु ।
    चक्रपथ कब्जा गरिदिन्थें: सत्यराज आचार्य
    शिबरात्री भन्ने बित्तिकै मलाई बाटोमा डोरी टाँगेर पैसा मागेको याद आउँछ । स्वरुप र म डोरी टाङ्नेहरुको ‘डन’ नै थियौं । हरेक वर्ष शिवरात्रीको दिन विहानै हामी डोरी लिएर चक्रपथ पुग्थ्यौ र डोरी टाङ्थ्यौ । हाम्रो ग्याङमा १५ जना जति हुन्थ्यौं ।
    हामीले १० वर्षजति त्यसरी डोरी टाँग्यौ । पैसा नदिनेलाई छोड्दै छोड्दैनथ्यौं । एकपटक एउटा मोटरसाइकलले पैसा नदिइ भाग्न खोज्यो, हामीले छोड्दै छोडेनौं । हामी बाइकमा झुण्डियौं । बाइकवालाले भनेको मलाई अहिले पनि याद छ ‘तेरो बाउ आमाले तँलाई खान दिँदैनन् ?’ जेसुकै भनोस् हामीले पैसा नदिइ छोडेनौं ।
    बेलुका पाँच बजेसम्म हामी डोरी टाँगेर बिताउथ्यौं । बेलुका भएपछि पसलतिर चन्दा पनि उठाउथ्यौं । पैसा आउने ठाउँ कहिँ छोड्दैन थ्यौ । हाम्रो उद्देश्य हुन्थ्यो, जम्मा भएको पैसाले सुजी, चिनी, दाउरा किनेर हलुवा पकाउने । बेलुका बाटैमा धुनी जगाएर हलुवा पकाउथ्यौं र बाँकी पैसाले हामी पिकिनक जान्थ्यौं ।
    अहिले बाटोमा हिँड्दा डोरी टाँगेको केटाकेटी देखेपछि आफुले गरेको याद आउछ । सबैलाई पैसा दिन्छु । डोरी टाङनेलाई दिनुपर्छ भनेर गोजीमा खुद्रा पैसा बोकेर हिँड्ने गरेको छु ।

    नागाबाबालाई नजिकबाट देखेको छैनः रेखा थापा
    मेरो कौशीबाटै पशुपति मन्दिरको माहौल देखिन्छ । तर, अहिलेसम्म शिवारात्रीकै छेको पारेर पशुपति क्षेत्र घुम्ने अवसर मिलेको छैन । वाबाजीहरुलाई नजिकबाट देखेको छैन ।
    मलाई माक्स लगाएर हिँडन मन लाग्दैन । यतिकै जान सम्भवै हुन्न । दिउसो २ बजेपछि मन्दिर दर्शनका लागि जाने योजनामा छु ।
    पुरानो वानेश्वरदेखि चाबहिलसम्म गाडी बन्द हुने भएकाले बाटोभरि दर्शनार्थीहरु मात्रै देखेको छु । मैले यस्ता चाडपर्वमा फुर्सद पाउन थालेको भर्खर मात्रै हो । पहिला पहिला हरेक दिन सुटिङ पथ्र्यो । शिबरात्रीको दिन बिहानै उठेर गोपिकृष्ण हलसम्म हिँडेर जानु पथ्र्यो ।
    आज बेलुका हाम्रै घर छेउमा आगो वालेर शिवरात्री मनाउने कार्यक्रम छ । यहीँ साथीहरुसंग एकछिन रमाउँछु ।
    नाङ्गा बाबा लखेट्नुपर्छः निर्मल शर्मा
    मेरो घर पशुपतिनाथ मन्दिर छेउछाउमा छ । अहिले म घर छेउकै चिया पसलमा बसिरहेको छु । भक्तजनहरुको घुँइचो निकै लोभलाग्दो छ । दर्शनार्थीहरुको आउने जानेक्रम जारी छ । राष्ट्रपति आउने भएर होला बाटो निकै सफा पारिएको छ ।
    एक चरण पशुपति बनकाली पुगेर आएँ । बाबाजीहरु मस्तले रमाइरहेका छन् । युवा पुस्ताहरु पनि धेरै छन् । मलाई नाङ्गा बाबाहरु देख्दा घिन लाग्छ । म त भन्छु नाङ्गा बाबाहरु हाम्रो संस्कार अनुरुप छैनन् । यीनलाई पशुपतिनाथ मन्दिर प्रवेशमा निषेध गर्नुपर्छ । किनकी हामी मन्दिर जाँदा आमा, दिदी, बहिनी, श्रीमती लिएर गएका हुन्छौं । तर, यी बाबाहरुको ब्यबहार लज्जाजनक हुन्छ ।
    बाबाजीलाई चिया खुवाएँ: सञ्चिता लुईटेल
    मेरो घर र पशुपतिनाथ मन्दिरको दुरी धेरै छैन । आज बढी भिड हुने भएकाले म हिजै मन्दिर पुगेर दर्शन गरेर आएँ । अब भोली मात्रै जान्छु । आज वानेश्वरदेखि पशुपतिसम्म यातायात बन्द छ । हाम्रो घर भएको ठाउँवाट पशुपति मन्दिर जाने बाटो छ । हाम्रो घरछेउको बाटोमा निकै भिड हुन्छ । बिहान ३/४ बजेदेखि नै मन्दिर जानेहरुको भिड हुन्छ ।
    हामीले हरेक वर्ष वाबाजीहरुलाई बिहान चिया खुवाउने गरेका छौं । आज पनि बाबाजीहरु चिया खाएर जानु भयो । हामीले हरेक वर्ष चिया खुवाउने गरेकाले धेरै बाबाजीहरुलाई थाहा छ । उहाँहरु आउनुहुन्छ चिया खानुहुन्छ जानुहुन्छ ।
    टोलमा केटाकेटीहरु डोरी टाँगेर बसिरहेका छन् । अहिलेका केटाकेटी ‘किन्डर जोइ’ खान्छन् । त्यसकारण पैसा दिँदा किन्डर जोई किन्ने पैसा दिनुपर्छ ।
    म पनि सानोमा साथीहरुसंगै डोरी टाँगेर बाटोमा बस्थेँ । ५ देखि १० रुपैंयासम्म दिनुहुन्थ्यो । त्यो पैसाले हामी चकलेट किनेर खान्थ्यौं ।
    Online Khabar

    No comments

    Like Us