• Trending News

    टर्कीमा अपहरित नेपालीको वयानः सात दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती माग्यो

    काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा टर्की पुगेका नेपाली युवा अपहरणपछि पाकिस्तानीलाई फिरौती बुझाएर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरु आइतबार नेपाल प्रहरीसमक्ष पुगेर दलालको ठगी प्रकरणबारे आफ्नो बेदना सुनाउने योजनामा छन् ।

    मोरङको केराबारी-९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला-३ का टीका लिम्बु टर्कीमा पाकिस्तानीहरुबाट अपहरणमा परेका थिए । फिरौती बुझाएर अपहरणमुक्त भएपछि मगर र विश्वकर्मा नेपाल फर्किएका छन् भने लिम्बू टर्कीमै छन् ।
    नेपाली दलालको सम्पर्कबाट भारतीय दलालको हातमा पर्दै टर्कीमा पुगेपछि पाकिस्तानी दलालको पञ्जामा परेका नेपाली युवा किरण र टीकारामसँग अनलाइनखबरले कुराकानी गरेको छ । काठमाडौं फर्किएका उनीहरुले आफ्नो कहालीलाग्दो वेदना र अपहरणको कथा यसरी सुनाएः
    सुरुमा टीकाराम विश्वकर्मा-
    ‘भारतीयले पाकिस्तानीसमक्ष बुझायो’
    हामी पहिले मलेसियामा सँगै काम गथ्र्यौं । मलेसियामै पुगेर हाम्रो चिनजान भएको थियो । नेपाल आएपछि फेरि विदेशमा राम्रो काम खाजेर जाने सोचमा थियौं । यही सिलसिलामा एकजना साथीमार्फत गत चैतमा सप्तरीको कञ्चनपुरका एजेन्ट दीपेश गुप्ता, पर्शुराम यादव र ओमप्रकाश पञ्जियारसँग हाम्रो चिनजान भयो ।
    उनीहरुसँग मकाउ जाने भनेर हामीले प्रक्रिया अगाडि बढायौं । हामीलाई भारत हँुँदै मकाउ जानुपर्ने उनीहरुले सुनाए ।
    त्यसको केही समयपछि मकाओका लागि हाम्रो भिसा लागेको खबर आयो । होला त नि भनेर हामी उनीहरुलाई भेट्न गयौं ।
    सुरुमा हामीलाई भारतको पहाडगञ्जमा लगेर राखियो । र, त्यहाँ पुगेपछि थाहा भयो, हाम्रो भिसा लागेकै रहेनछ । हामीले भिसा लागेपछि फेरि आउँला भनेर घर र्फकने प्रयास गर्‍यौं । तर, उनीहरुले पटक्कै फर्किन दिएनन् ।
    करिब ३ महिना पहाडगञ्जमा बसेपछि मकाउको प्रोसेस रद्द भएको उनीहरुले सुनाए । र, टर्कीमा अर्को आकर्षक जागिर रहेको अफर सुनाए ।
    नेपालका एजेन्टहरुले पछि हामी पनि टर्कीमै आउँछौं भनेपछि हामी विश्वास गर्न बाध्य भयौं । टर्कीको टीआरसी कार्ड पाएपछि विना भिसा युरोपियन देशहरुमा जहाँ पनि छिर्न पाइन्छ भनेर हामीलाई भनियो ।
    हामीले सुरुमा एजेन्टलाई १/१ लाख रुपैयाँ र पासपोर्ट दिएका थियौं । पछि भारत जाने बेलामा ६ लाख ५० हजार रुपैयाँका दरले नगद दियौं । हाम्रो सबै पैसा फसिसकेको थियो । त्यस कारणले पनि हामीसँग उनीहरुले भनेको ठाउँमा जानुपर्ने बाध्यता आइलाग्यो ।
    त्यतिवेला हामीलाई टर्की पुगेर होटलको काम गर्नुपर्छ भनिएको थियो । ८ घण्टा काम गर्दा मासिक ७० देखि ८० हजार नेपाली रुपैयाँ हुन्छ भनिएको थियो ।
    हामी सेप्टेक्बर २८ मा टर्की उड्यौं । तर, जब त्यहाँ पुगियो, तब थाहा भयो कि हामीले पाउने तलब त साह्रै थोरै रहेछ । हामीले तत्काल एजेन्टलाई फर्किन्छौं भन्यौं । तर, उनीहरुले वास्ता गरेनन् ।
    एउटा सामान्य होटलमा जागिर लगाइयो । त्यहाँको ११/१२ सय हामीलाई महिनामा आउँथ्यो, त्यही पनि १२/१३ घण्टा काम गर्नुपर्ने । टर्कीमा हामीलाई एकजना भारतीय नागरिकले पाकिस्तानीलाई बुझाएको थियो । र, उसैले होटलमा जागिर लगाइदिएको हो ।
    केही दिनपछि हामीलाई एक हप्तासम्म इदको छुट्टी भनेर बेतलवी राख्यो । काम भनेजस्तो नभएको भन्दै हामी नेपाल फर्कादिन अनुरोध गरिरहेकै थियौं । यहीबीचमा हाम्रो जागिर परिवर्तन गराइदिने आवाश्वसन आयो ।
    यही वीचमा पाकिस्तानी एजेन्टले हामीलाई १२/१३ सय तलब हुने गरी एक होटलमा जागिर खुलेको बताए । तर, उनले भनेजस्तो होटलमा जागिर होइन रहेछ । बरु झन् डरलाग्दो काम पो रहेछ । हामीलाई इदमा गोरुहरु काट्ने ठाउँमा पो पुर्‍याइयो ।
    गोरुहरु काटेको फेाहोर भएको ठाउँ हामीले सफा गर्नुपर्ने भयो । एक दिन त जसोतसो कटाइयो । तर त्यसपछि हामीले काम गर्न नसक्ने जानकारी गरायौं । त्यसपछि हामीलाई उसले कुनै काम नै लगाइदिएन ।
    पटकपटक काम लगाइदिन आग्रह गर्दा पनि न काम खोजिदिए, न त नेपाल फर्किने वातावरण नै बनाइदिए ।
    अनि, हामी आफैंले एक दिन जागिर भेट्टायौं र काम गर्न थाल्यौं । त्यहाँ ८ सय तलब दिन्थ्यो ।
    बिहान साढे ९ बजेदेखि बेलुकी ८ बजेसम्म काम गर्नुपर्ने ।
    त्यहीँ काम गर्दागर्दै पाकिस्तानी एजेन्टको फोन आयो । उसले होटलमा एउटा राम्रो काम छ, जाऔं भन्यो । उसले १४/१५ सय त्यहाँको पैसा तलब हुने र खान बस्न पनि सुविधा भएको बताए । तिमीहरुलाई लिन आउँदैछौं, कामसाम छोडेर बस भनेर ती एजेन्टले हामीलाई भने ।
    हामीले नेपाल जान सहयोग गरिदिनु भनिरहेको थियौं । तर, उनीहरुले टर्की आइसकेपछि एकपटक काम गरी हेर्न आग्रह गरे । उनीहरुले आफ्नै पुरानो एजेन्टसँग कुरा गर्न पनि भने । र, नेपालमा फोन लगाइदिए । एजेन्टसँग टिकट पठाउनुस, हामी फर्किन्छौं भनेर त्यसवेला पनि भन्यौं , तर एजेन्टले कुनै वास्ता गरेन । हामी अल्झेको अल्झै भयौं ।
    फोनमा हामीलाई होटलमा काम छ भनिएको थियो, तर, गाडीमा चढेपछि चाहिँ होटलमा होइन, गाडीको पार्टपूर्जा बनाउने कम्पनीमा काम पाइएको हो भनियो र एकजना बंगालीकहाँ पुर्‍याइयो ।
    त्यहाँ एक सिजनसम्म मात्रै काम चल्दोरहेछ । र, सिजन अफ भएपछि काम बन्द हुँदोरहेछ । हाम्रो काम बन्द भयो ।
    काम नभए पनि हामी त्यहँ त्यतिकै बस्दै थियौं । उनीहरुले टीआरसी नआउञ्जेलसम्म नफर्किनु भनेका थिए । त्यसपछि अर्को ठाउँ पठाइदिन्छौं भनेका थिए । चार महिना बसेपछि त्यहाँको कार्ड आयो । कार्ड आएपछि थाहा भयो, त्यो कार्डको काम केही रहेनछ । स्ट्याड बाइ भन्ने रहेछ, त्यो र त्यसको केही अर्थ रहेनछ । त्यस्तो कार्ड हुने नेपाली धेरै छन् । त्यहाँको रेसिडेन्स कार्ड रहेछ, त्यो । त्यसबाट हामीले जागिर पाउने कुरै भएन । हामीलाई त काम चाहिएको थियो ।
    यतिकैमा अर्को एजेन्टले हामीलाई आकर्षक तलबसहितको नयाँ जागिर अफर गर्‍यो । उसले ५ सय डलरको काम छ भनेको थियो । होटलमा नै भनेको थियो । त्यत्रो रकम हाम्रा लागि धेरै थियो । हामी उसले भनेको ठाउँमा गयौं ।
    उसले हामीलाई रुम छुट्टै लिनुपर्छ भनेको थियो । र, एउटा रुम पनि देखायो । सायद फेब्रुअरी ४ तारिखको दिनमा होला ।
    त्यहाँ पुगेपछि हामीलाई बस्दै गर्नु, भोलि होटलमा काम गर्न जानुपर्छ भनिएको थियो । तर, हामीलाई जागिरका लागि होइन, अपहरण गर्नका लागि त्यो कोठामा पुर्‍याइएको रहेछ । जुन कुरा हामीले कोठामा बसेको केहीबेरमै चाल पायौं ।
    सुरुमा हामी दुईजना (टीकाराम विश्वकर्मा र टीका लिम्बु) मात्रै थियौं । किरण भोलिपल्ट लुगाफाटो लिएर आउने सल्लाह भएको थियो ।
    उनीहरु चारजना व्यक्ति थिए । उनीहरु बाहिर गएर केही कुरा गरिरहेका थिए । एकैछिनमा भित्र आए । म (टीकाराम) मोबाइल चलाइरहेको थिएँ । एउटाले मोबाइल थुत्यो । त्यसपछि किन यसो गरेको भनेर सोध्दा बोल्नै दिइएन । निहुरिन पनि पाइएन ।
    मुखमा पट्टी बाँधियो । र, ट्वाइलेटमा लगेर ७ दिनसम्म थुनिदिए ।
    त्यो दिन आइतबार थियो । भोलिपल्ट किरणलाई लिएर आउँछु भनेर अर्को एजेन्ट निस्कियो । बिहान किरण पनि आइपुगे । हामी अपहरणमा परेको किरण थाहै थिएन । तर, आइपुग्नेवित्तिकै किरणलाई पनि धकेलेर शौचालयमा थुनियो । अनि, पो उसले अपहरणमा परेको चाल पाए ।
    Onlinekhabar

    No comments

    Like Us