• Trending News

    गुणस्तरहीन सामग्रीले भोटेकोशीको बेलीब्रिज भाँचिएको अनुमान

    सिन्धुपाल्चोक । नेपाल-चीन सीमा जोड्ने लार्चाको बेलीब्रिज गुणस्तरहीन सामग्री प्रयोग भएका कारण भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । सडक विभागले पुल भाँचिनुमा ठेकेदारलाई दोषी देखाएको छ भने ठेकेदारले कमसल सामग्रीका कारण पुल भाँचिएको दावी गरेको छ ।
    बेलीब्रिज निर्माणका लागिआवश्यक सामग्री सडक विभागले खरिद गरेको थियो । पुलको लागि जिप निर्माण र फिटिङको जिम्मा सडक विभागले बन्धन भगवती निर्माण सेवालाई ३४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । बन्धन भगवतीले पनि फिटिङको काम अर्को ठेकेदारलाई दिएको थियो । तर, निर्माण अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो ।
    कमिसन लिएर सडक विभागका कर्मचारीहरुले गुणस्तरहीन सामग्री खरिद गरेकाले भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । ‘सामग्री कमसल भयो कि भन्ने हाम्रो बुझाइ छ, गुणस्तर परीक्षणका लागि चीनबाट मान्छे झिकाएका छौं,’ बन्धन भगवती निर्माण सेवाका इन्जिनियर विनोद पन्तले भने । पुलको सामग्रीसमेत अब टेष्ट गर्ने उनले बताए ।
    भाँचिएको पुल बन्न भने अझै एकसाता लाग्ने भएको छ । भाँचिएको पुललाई ठेकेदार कम्पनीले क्रेनले उठाउन खोजेपनि कम क्षमताको क्रेनका कारण समस्या भएको थियो । अब हेभिवेटको क्रेन लगेर उठाइने छ ।
    अबको एक सातामा पुलमा सवारी साधन सञ्चालन गर्न सकिने निर्माण कम्पनी बन्धन भगवती निर्माण सेवाका इन्जिनियर पन्त बताउँछन् ।
    ‘मंगलबार बेलुकीसम्म साइडमा हेबी क्रेन पुग्ने उनले बताए । क्रेन एकदमै हेबी भयो, बाटो समस्या छ, स्काभेटरले ठेलेर क्रेन लगिरेहका छौं,’ पन्तले भने, ‘क्रेन पुग्नासाथ काम सुरु गर्ने छौं ।’
    अहिले लगिएको क्रेनले पनि भाँचिएको पुल उठाउन सकिएन भने अर्काे क्रेन तयारी हालतमा राखिएको पन्तले बताए । ‘अर्काे क्रेन पनि तयारी हालतमा छ, दुवै क्रेन लगाएर भाँचिएको पुल उठाउँछौं,’ पन्तले भने ।

    निर्माणाधीन पुल भाँचिएपछि भोटेकोशी नदीमाथि बनाइएको अस्थायी बाटोमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । भोटेकोशी पावर कम्पनीले नदीमाथि ह्युम पाइप राखेर अस्थायी रुपमा बाटो बनाएको थियो । पुल भाँचिएर त्यो अस्थायी बाटो पनि अवरुद्ध भएपछि पैदल यात्रुलाई समस्या भएको स्थानीय भैरवकुण्ड युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
    गत साउनमा आएको पहिरोले भोटेकोशी नदीमाथि बनाइएको पक्की मोटरेबल पुल भाँचिएको थियो । यसअघिको ९० मिटर मोटरेबल पुल भाँचिएपछि त्यसको नजिकै ५० मिटरको बेलीब्रिज निर्माण कार्य भइरहेको थियो ।
    यसैबीच भाँचिएको पुलको प्रतिनिधि सभा सदस्य अग्नी सापकोटा र प्रदेश सांसद अरुण नेपालसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । उनीहरुले पुल छिटो सक्न निर्देशन दिएका थिए ।
    सासंदद्वयले पुल भाँचिनको कारण पत्ता लगाउनका लागि छानबिन गर्न सडक विभागलाई अनुरोधसमेत गरेका थिए । तर, सडक विभागले पुल भाँचिएको विषयमा अहिलेसम्म अनुसन्धान नै सुरु गरेको छैन ।
    Onlinekhabar

    No comments

    Like Us