नाम बुढासुब्बा, काम जवानको डेटिङ !
२ फागुन, धरान । हरेक फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ । तर, प्रेमको मिथकसँग नजोडिएको धरानको बुढासुब्बा मन्दिर पुग्न फेब्रुअरी १४ कुर्नुपर्दैन । हरेर दिन यहाँ प्रेमका पुजारीहरु आउँछन् । टुप्पोबिनाका बाँसका फेदमा आफ्नो नाम खोप्छन् । धागो बाँध्छन् । अनि सफल प्रेमको कामना गर्छन् ।
र, यही बुढासुब्बा मन्दिरभित्रको प्रेमिल प्रचलनलाई सम्बोधन गर्दै चर्चित धराने पप गायक सविन राईले ‘गुराँसको फेदमुनि’ बोलको गीतमै भनेका छन्-
आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा !
कत्ति बस्नु म तिमी आउने आशैमा…
बुढासुब्बा मन्दिर परिसरको बाँस झ्याङ प्रेमीहरुका लागि निकै लोकपि्रय छ । बुढासुब्बा मन्दिरमा आएपछि बाँसमा नाम लेख्ने र धागो बाँध्ने प्रचलन छ । हुनत पछिल्लो समयमा नाम लेख्दा बाँसको मौलिकता नै हराउने भयले मन्दिर व्यवस्थापनले नाम खोप्न निशेध गरेको छ । तर, नाम खोप्न नपाए पनि प्रेमिल जोडीलाई धागो बाँध्न भने कुनै निषेध छैन ।
आजकल हरेक दिन बुढासुब्बामा आएर जोडी धागो बाँध्नेहरुको भिड हेर्दा लाग्छ, बुढासुब्बा साँच्चै नै प्रेमका देउता हुन् । यस्तो लाग्छ, विदेशी सेन्ट भ्यालेन्टाइन भन्दा कम छैन नेपाली बुढासुब्बा । र, भारतीय ताजमहल भन्दा पनि सानो महत्वको प्रेमिल मन्दिर हैन, बुढासुब्बा ।
तर, बुढा सुब्बा मन्दिर आफैं भने प्रेममा जोडिएर उत्पत्ति नभएको कला संस्कृतिका जानकारहरु बताउँछन् । बुढासुब्बाको मिथक प्रेमसँग नभएर राजनीतिसँग सम्बन्धित छ । र, यो जवान नभएर ‘बूढो’ धरोहर हो ।
यस्तो छ बुढासुब्बाको मिथक
कतिपयले बुढा सुब्बालाई पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गर्दा मारिएका किराती राजा बुद्धिकर्ण रायको चिहानस्थलका रुपमा मान्छन् ।
किराती राजधानी बिजयपुर क्षेत्रमा आएका पृथ्वीनारायणका फौजले हत्या गरेका राजा रायको सम्झनामा स्थानीयहरुले पूजा र सम्मान गर्ने स्थलको रुपमा बुढासुब्बालाई लिएर क्रमशः मन्दिर बनेको एकथरिको भनाइ छ ।
अर्कोथरि पनि छन, जो भन्छन्, बुढासुब्बा एक सिद्ध किराती पुरुषको समाधिस्थल हो ।
बुढा सुब्बा नामक सिद्धपुरुष किराती र उनकी बहिनी सुब्बिनी आएर धनुषले काग मार्न खोज्दा काग भागेपछि काँडले बाँसको टुप्पो मात्रै काटिएर उनी तपस्यामा बसेको लोकोक्ति छ । धरानको बुढासुब्बा मन्दिर परिसरमा रहेका बाँसका टुप्पा नहुनुमा त्यही किम्बदन्ती अनुसार बुढा सुब्बाको धनुषले टुप्पो छिनाएर भएको भनिन्छ ।
केहीले भने बुढासुब्बा क्षेत्रलाई महाभारतको युद्धमा कौरव पक्षबाट सहभागी एकलब्यको समाधिस्थलको रुपमा पनि व्याख्या गर्छन् । पर्यटनकर्मी बासुदेव बराल धरानको बुढासुब्बामा महाभारतको युद्धमा हारे पनि दाजुभाइले नै हार्ने र जिते पनि दाजुभाइले नै जित्ने बुझेर हिमालय पर्वतमा तपस्या गर्न आएका एकलब्यले धरानको बुढासुब्बामा तपस्या गरेको कहावत रहेको बताउँछन् ।
तराई क्षेत्रका एकलब्य हिमालयको चिसो झेल्न नसकेर बुढासुब्बा क्षेत्रमै समाधि लिएको पौराणिक मिथक रहेको बरालको तर्क छ ।
पौराणिक, ऐतिहासिक र आधुनिक सबै कोणमै बुढासुब्बा मन्दिर उत्पत्तिको कथा जोडिएकाले यसमा सबै आस्थाका मान्छेहरु आउने गर्छन् । किरातीहरुका साथै वैदिक सनानत र बौद्ध आस्थाका मान्छेहरु पनि बुढासुब्बा मन्दिर आउँछन् ।
कसरी आयो बाँसमा नाम खोप्ने र धागो बाँध्ने प्रचलन ?
खासमा बुढासुब्बा मन्दिर महाभारतको पौराणिक कथा, सिद्ध किराती वा बुद्धिकर्ण रायसँग जोडिएको भए पनि यसमा पे्रेम कहानी कतै जोडिँदैन । तर, बुढासुब्बा मन्दिर प्रेमको मन्दिर बन्नुमा केही कारणहरु जानकारहरु बताउँछन् ।
बुढासुब्बाको इतिहासका जानकार पत्रकार भैरव आङ्ला बुढासुब्बा क्षेत्रको शान्त, एकान्त अनि नौलो स्थान भएकाले यहाँका बासमा प्रेमीहरुले नाम लेख्न थालेको हुनुपर्ने बताउँछन् ।
‘यो एकान्तमा क्रमशः युवायुवतीहरु आउन थाले र बाँसमा नाम लेख्न थाले’, आङ्ला भन्छन, ‘पछि त्यही नै प्रचलन बन्न पुग्यो ।’
आङ्लाको जस्तै तर्क छ धरानका पर्यटनकर्मी बासुदेव बरालको पनि । बुढासुब्बा मन्दिर परिसर बाँसले आँगालो हालेर गुटुमुटु पारेको आकर्षक क्षेत्र भएकाले पनि मान्छेमा बुढासुब्बा पुग्नासाथ ‘रोमान्टिक’ अनुभूति हुने र बिस्तारै प्रेमको मन्दिर बनेको उनको अनुमान छ ।
‘समाजमा कति प्रचलनहरु आफैं बनेर आउँछन्, कति कुरा बन्दै आँउछन्’, बराल भन्छन, ‘बुढा सुब्बा पनि एक धार्मिक र आध्यात्मिक क्षेत्रको रुपमा त बनेकै हो । अब प्रेम जोडीहरुले यसलाई प्रेम मन्दिर पनि बनाएर थप सुन्दर बनाए ।’
No comments