• Trending News

    प्रधानमन्त्री दाबी गर्दै केपी ओली भोलि नै शीतलनिवास जाने !

    १ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चुनावी नतिजालाई निर्वाचन आयोगले औपचारिकता दिन बाँकी छँदै वाम गठबन्धनका नेताहरुले शीतलनिवास जाने गृहकार्य थालेका छन् ।
    आयोगले बुधबार नै राष्ट्रपतिलाई नतिजा बुझाउने सम्भावना देखेपछि एमाले र माओवादीका नेताहरु प्रधानमन्त्रीको दाबीका लागि तम्तयार भएका हुन् । आयोगका पदाधिकारीहरु शीतलनिवासबाट बाहिरिनासाथ वाम नेताहरुले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने छन् ।

    बुधबार पार्टी एकता संयोजन समितिको बैठक राखिएको छ । तर, यसवीचमै आयोगले नतिजा बुझाएमा नेताहरु बैठककै वीचमा शीतलनिवास जानेछन् ।
    प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नेबारे मंगलबार ओली र प्रचण्डवीचको ‘वान टु वान’ वार्तामा छलफल भएको एमालेका एक नेताले अनलाइनखबरलाई बताए ।
    निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरुलाई भोलिसम्मको समय दिएका छन् । नाम सच्याउन भनिएका तीन दलमध्ये माओवादी र राजपाले मंगलबार नै बुझाइसकेका छन् । अब कांग्रेसले मात्रै नामावली बुझाउन बाँकी छ ।
    दलहरुले अन्तिम नामावली बुझाएको लगत्तै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुनेछ ।
    अन्तिम परिणाम घोषणा गरेको ७ दिनभित्र राष्ट्रपतिलाई बुझाउने पर्ने संवैधानिक व्यवस्था छ । तर, आयोगले भोलि नै शीतलनिवास जाने गृहकार्य गरेको छ । एक आयुक्तले अनलाइनखबरसँग भने- ‘दलहरुले बुझाएको नाममा गडबडी रहेनछ भने भोलि नै राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउँछौं ।’
    आयोगले भोलि नै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाएको खण्डमा भोलि नै एमाले र माओवादीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने एक नेताले बताए ।
    एमालेका एक नेताले अनलाइनखबरसँग भने- ‘निर्वाचन आयोगले भोलि निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएमा भोलि नै प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने दुई दलवीच सहमति भएको छ ।’
    संविधानतः कुनै एक दलको बहुमत भए उक्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिलेे प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनेलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
    २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको बहुमत छ । साथै दुबै दल एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमत छन् ।
    केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेलगत्तै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बहिर्गमनले औपचारिकता पाउने छ ।
    निर्वाचन सकिएपछि पनि सरकार नछाडेको भन्दै प्रधानमन्त्री देउवामाथि आलोचना हुँदै आएको छ । मंसिर २१ गते नै प्रतिनिधिसभाको चुनाव सकिए पनि राष्ट्रियसभाको निर्वाचन नसकिई सत्ता हस्तान्तरण नगर्ने अडानमा देउवा रहँदै आएका छन् । र, यसवीचमा राष्ट्रियसभाको पनि निर्वाचन सकिएको छ ।
    Online Khabar

    No comments

    Like Us