• Trending News

    एक महिनामै नयाँ राष्ट्रपति, माओवादी सांसद् भारतीय मतदाता !

    काठमाडौं । आज शनिबार, काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाले फरक–फरक विषयलाई स्थान दिएर छापेका छन् । यद्यपि, पत्रपत्रिकाहरुको पहिलो प्राथमिकतामा राजनीति नै परेको छ ।
    सबै प्रदेश सरकारले मुख्यमन्त्री पाए पनि प्रदेश सरकार अलमलमा परेको छ । मन्त्रालय मातहतका संयन्त्र, कर्मचारी, बजेट, योजना, ऐन, कानून र भौतिक पूर्वाधारको स्पष्ट व्यवस्था नहुँदा प्रदेश सरकार अलमलिएको विषय आजका केही पत्रपत्रिकाहरुले उठाएका छन् । प्रदेश पदाधिकारीको तलब सुविधाबारेको समाचार पनि आजको पत्रपत्रिकामा पढ्न सकिन्छ ।
    नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको आकांक्षी र निर्वाचन प्रक्रियाबारे नयाँ पत्रिका दैनिकले एक सामग्री छापेको छ । समाचार अनुसार राष्ट्रपतिमा झलनाथ खनाल र अमिक शेरचनले दाबी गरेका छन् भने अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिले पनि दोहोरिने इच्छा देखाएका छन् । यद्यपि, वाम गठबन्धनले यो विषयमा ठोस छलफल गरेको छैन ।

    यसका अलावा माओवादी सांसद् भारतीय मतदाता रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका अनुचित निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीलाई निर्देशन दिएकोलगायत समाचारले पनि आज उत्तिकै महत्त्व पाएका छन् ।
     प्रधानमन्त्रीको निर्देशन– देउवा सरकारका अनुचित निर्णय कार्यान्वयन नगर्नू
    प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा नेृतत्वको सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
    समाचार अनुसार, ओलीले विगतका निर्णय कति कानूनसम्म छन्, प्रक्रिया पुगेको छ–छैन ? त्यसको अध्यनपछि मात्र आवश्यक निर्णय लिने बताएका छन् ।
    घोषणापत्रका आधारमा सरकारले गर्नुपर्ने कार्यक्रमको सूची बनाउन वाम गठबन्धनद्वारा गठित कार्यदलले पनि चुनावको मिति घोषणापछिका कतिपय निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।
    मोदीले ओलीलाई लेखेको चिठ्ठीमा के छ ?
    नयाँ पत्रिकामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेको समाचार छ ।
    नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठ्ठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
    नयाँ पत्रिकाका अनुसार मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठ्ठीमा उल्लेख गरेका छन् । जवाफमा ओलीले बर्धाइ तथा शुभकामना दिएको मोदीलाई धन्यवाद दिँदै उपयक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् ।
    प्रदेश पदाधिकारी तलबः कसको कति ?
    सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा–सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ ।
    अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।
    प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन् । त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन् । प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् ।
    यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको समाचारमा उल्लेख छ । विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
    यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ । प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।
    अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ । प्रदेश सरकारले यही तलबमानअनुसार प्रदेशका सबै पदाधिकारीको तलब सुविधा तोक्ने बताइएको छ । केन्द्र सरकारले तलब तोक्दा एकरूपता कायम गर्नसमेत प्रदेश सरकारलाई आग्रह गरेको समाचारमा उल्लेख छ ।
    को–को छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका दाबेदार
    नयाँ पत्रिका दैनिकले आज राष्ट्रपति र उपराष्ट्रपतिका आकांक्षीबारे मुख्य समाचार बनाएको छ ।
    निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।
    समाचार अनुसार भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन अकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटकपटकको भेट र डिनर मिटिङमार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना व्यक्त गरेकी छन् । उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् ।
    तर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल दोहारिने इच्छा राखेको समाचारमा उल्लेख छ ।
    समाचार अनुसार वाम गठबन्धन बनेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालले राष्ट्रपति बन्ने चाहना अस्वीकार गर्दै आएका छन् ।
    एक महिनामै नयाँ राष्ट्रपति, प्रदेश र संघीय सासद् मतदाता
    निर्वाचन आयोगले ३ फागुनमा निर्वाचनको अन्तिम प्रतिबेदन बुझाइसकेकाले संसद् गठन भएको एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक र कानूनी प्रावधानअनुसार बढीमा ३ चैतभित्र नयाँ राष्ट्रपति–उपराष्ट्रपति चयन भइसक्नेछन् ।
    नयाँ पत्रिका दैनिक खबरको अगाडि लेख्छ– राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ र ५ मा ऐन प्रारम्भ भएपछि पहिलोपटक हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा गठन भएको एक महिनाभित्र निर्वाचन हुनेगरी आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।
    संविधानको धारण ६२ अनुसार संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिनेछन् । दुवै संसदका सदस्यको मतभार फरक छ । कुनै उम्मेदवारले बहुमत नल्याएको अवस्थामा भने संविधानअनुसार कुल मतको बढी मत प्राप्त गर्ने दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने संवैधानिक व्यवस्था छ ।
    माओवादी सांसद् भारतीय मतदाता
    नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा भेटिएको खबर नागरिक दैनिकले छापेको छ ।
    भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।
    समाचार अनुसार भारत, बिहार राज्यको दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एअनाइसी डट आईएनमा भेटन सकिन्छ ।
    दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आईडी) आईएजी ०३७३१८३ छ । उनको मतदाता क्रमांक १७५ छ ।
    Online khabar

    No comments

    Like Us