साथीहरु बदमाशी गर्थे, पिटाई म खान्थेँ: सुष्मा
सानोमा सार्है सोझी र लजालु थिएँ । साथी पनि निकै थोरै थिए । स्कुल पढ्दा त मेरा तीनजना मात्रै साथी थिए । म स्कुलमा औसत विद्यार्थी थिएँ । फस्ट , सेकेण्ड कहिल्यै भइनँ । बाबाले परिक्षाको बेला स्कुलबाट आउनेबित्तिकै पेपर मागेर कस्तो लेख्यौ भनेर सोधिहाल्नु हुन्थ्यो, मलाई दिक्क लाग्थ्यो ।
स्मृती भन्ने निकै मिल्ने साथी थिई । तर, पाँच कक्षामा पढ्दा मज्जैको झगडा पर्यो । पाँच दिनसम्म बोलिनँ । म बस्ने बेञ्चमा चुइगम टाँसिदिइछ । मेरो स्कटमा चुइगम लागेपछि म नराम्रोसँग रिसाएको थिएँ । अहिले चाँही उ मेरो निकै मिल्ने साथी हो ।
मलाई बाबाले एकपटक मात्रै पिट्नु भएको छ । त्यो पनि स्कुल बंक गरेको कारण । मेरो साथीको बाबा-ममी हुनुहुन्थेन । साथीले आज नयाँ फिल्म लाग्छ, हेर्न जाउँ भनी । हामी दुई पिरियड छोडेर फिल्म हेर्न गयौं । हामीले स्कुल छाडेर फिल्म हेर्न गएको पछि थाहा भएछ ।
स्कुलमा चेतराज भन्ने सर हुनुहुन्थ्यो । उहाँको सारै डर लाग्थ्यो । उहाँको नाम सुन्नेबित्तिकै हाम्रो सातो जान्थ्यो । मेरा केही साथीहरु निकै चकचके थिए । उनीहरुले चकचक गरेवापत मैले थुप्रैपटक पिटाई खाएकी छु ।
स्कुल जान घरबाट १५ मिनेट जति लाग्थ्यो । कहिले बाबासँग जान्थेँ त कहिले दादासँग । ५/६ कक्षापछि चाहीँ म आफैं साइकल लिएर जान थालेँ ।
कति साथीहरुले घरमा खाना बनाएको कुरा गर्थे । एकपटक मैले पनि सरप्राइज दिन पर्यो भनेर आफ्नै सुरले खाना बसाएँ । तर, सबै डढेछ । पछि ममीको गाली खाएँ ।
म स्कुलमा पेन्सिल खुब हराउथेँ । तर, घरमा आएर भन्दिनथेँ । एउटा बट्टामा पेन्सिल राख्दिनुहुन्थ्यो, खुसुक्क झिकेर झोलामा राख्थेँ ।
स्कुल जाँदा चिटिक्क परेर जाने बानी थियो । सानोमा ममीले आइरन गर्दिनुहुन्थ्यो । पछि आफैंले गर्न थालेँ ।
मलाई सानोमा पाइन्ट मन पथ्र्यो । पिंक कलर मलाई मन पर्ने रंग थियो । नयाँ लुगा चाँहि प्राय दसैमा किन्दिनुहुन्थ्यो ।
हाम्रो परिवार शाकाहारी भएकाले घरमा माछा मासु पाक्दैन थियो । म फुपुको घरमा गएर मासु खान्थेँ । मलाई थुक्पा खुब मन पथ्र्यो । हामी साथी-साथी मिलेर थुक्पा खाना जान्थ्यौं ।
स्कुल पढ्दाका आठ-नौ जना जति साथी अहिले सम्पर्कमा छन् । हप्तामा एकपटक जसो फेसबुकमा कुरा हुन्छ ।
सानोमा एकपटक दुर्घटना भएको छ । मलाई साइकल चढ्न खुब रहर लाग्ने, तर घरमा दिनुहुन्नथ्यो । एक दिन घरमै थिएँ । सरु दिदी भन्ने हुनुहुन्थ्यो । उहाँ आउनुभो र घुम्न जाउँ भन्नु भो । साइकलको पछाडि बसेँ । सरु दिदीले साइकल चलाइरहँदा मेरो खुट्टा त पांग्राभित्र छिरेछ । घाइते नै भएँ । १५ दिन जति रेस्ट गर्नु पर्यो । त्यो वेलामा लागेको चोटको निशाना खुट्टामा अझै बाँकी छ ।
म सानैदेखि स्कुलमा हुने कार्यक्रममा डान्स गर्थेँ । ठुलो भएपछि के हुने मैले केही सोचेको थिइनँ तर, साथीहरुले हिरोइन हुन्छेस भन्थे । म जन्मेको धनगढी । हाम्रो गाउँमा थुप्रै कार्यक्रम हुन्थ्यो तर, त्यति धेरै त्यस्ता कार्यक्रममा जान्नथेँ ।
मैले स्कुल पढ्दा राजेश हमाल र दिलिप रायमाझीको नाम सुनेको थिएँ तर, भेट भएको थिएन ।
Online khabar
No comments